निर्वाचनको मुखैमा एन्फा अध्यक्षका उम्मेदवार हटे



शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मणि कुँवरले आफू निर्वाचनबाट हटेको घोषणा गर्दै। तस्वीर ः उजोल डंगोल/काठमाडौं

नेपाल समाचारपत्र
काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मिति विधिविधानविपरीत तोकिएको भन्दै निर्वाचनको मुखैमा एन्फाका अध्यक्ष उम्मेदवार मणि कुँवर उम्मेदवारीबाट हटेका छन्।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका वरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवरले आफूले यस्तो निर्वाचनमा लड्न आफूलाई नैतिकताले नदिएको भन्दै निर्वाचन नलड्ने घोषणा गरेका हुन्। उनले बुधबार पनि वैशाख २२ गते निर्वाचनको मिति हचुवाको भरमा राखिएको भन्दै विरोध जनाएका थिए। उनले त्यतिबेला नै निर्वाचनमा भाग नलिने संकेत गरेका थिए।

काठमाडौं जिल्ला अदालतमा निर्वाचन रोक्न राखेको रिट दायरमा अन्तरिम आदेश गर्नु नपर्ने भनेर बिहीबार अदालतको निर्णय आएपछि कुँवरसहित असन्तुष्ट उम्मेदवारहरूले सो निर्णयप्रति असहमत जनाएका थिए। कुँवरले भन–अदालतको निर्णय मान्नुपर्छ। तर यो निर्णयलाई भने हामी मान्न सकिँदैन। रातारात निर्वाचनको मिति तोकिनु विधि विधानअनुरूप पटक्कै भएन।
अदालतले निर्वाचन रोक्न नहुने आदेश दिएपछि अध्यक्षका प्रत्यासी कुँवरले हिजो पत्रकार सम्मेलन गरी निर्वाचनमा सहभागी नहुने घोषणा गरे। उनले भने– ‘यो मेरो मात्रै निर्णय हो। केही साथीले पनि निर्वाचनमा भाग लिने छैनन्।’ केही साथीले भने निर्वाचनमा भाग लिनेछन्। एन्फाको विधान मस्यौदा समितिको संयोजकको नाताले विधान मिचेर गरिने निर्वाचनमा भाग लिने छैन।

प्रतिद्वन्द्वीले हार्ने डर भएर निर्वाचनमा नलडेको भनेको प्रश्नमा कुँवरले बताए—हार जित भन्ने कुरा आफ्नो ठाउँमा छ। हार वा जितबाट डराएर भागेको होइन। मुख्य कुरा विधिविधानअनुरूप हुनुपर्छ भन्ने हाम्रो माग छ। चैत १४ गतेका लागि तय भएको निर्वाचन स्थगित भएपछि नयाँ प्रक्रिया शुरू हुनुपर्ने हाम्रो माग रहेको छ।

विधिविधानविपरीत निर्वाचन भएमा फुटबलको विवादको निकास दिने नसक्ने र यसले झन द्वन्द्व बढ्ने धारणा राखेका छन्। उनले भन– ‘विधि विधान नत्र केका लागि हो? विधिविधानविपरीत निर्वाचन गर्छ भने त्यसले राम्रो निकास दिँदैन। कसैले व्यक्तिगत स्वार्थ पूर्ति गर्न दिवा स्वप्न देख्नुभएको छ भने त्यसलाई हामी पुरा हुन पनि दिने छैनौं।

कुँवरका साथै उपाध्यक्ष पदमा उम्मेदवारी दिएका गणेशबहादुर चन्दले पनि निर्वाचनमा भाग नलिने बताए। उनले भने– ‘चुनाव रोक्नका लागि काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेकोे र मुद्दाको अन्तिम किनारा लागि नसकेकोले नैतिकको आधारमा निर्वाचनमा नजाने निर्णय लिएको हुँ।’

निर्वाचन आज

एन्फाको १६औं एन्फा कंग्रेस (साधारण सभा) आज शनिबार हुँदैछ। सानेपामा हुने साधारण सभामा ७७ मताधिकार प्राप्त प्रतिनिधिले १७ केन्द्रीय सदस्यको लागि मतदान गर्नेछन्। तर आज हुने साधारण सभामा एक महिला सदस्य निर्विरोध निर्वाचित भइसकेकोले १६ केन्द्रीय सदस्यको भविष्य निर्धारण हुनेछन्। जसमा एक अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्य निर्वाचित हुनेछन्। अध्यक्ष पदका लागि हाल एन्फाको केन्द्रीय सदस्यमा वरिष्ठ उपाध्यक्ष रहेका कुँवरले उम्मेदवारी नदिने भएपछि पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा एक्लो उम्मेदवार रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्