व्यवसायीको घरघरमा प्रहरी



नेपाल समाचारपत्र
बाँके
सवारी साधन थन्क्याएर बसेका ६ जना यातायात व्यवसायीले बाँके प्रहरीले पक्राउ गरेको छ। सरकारी निर्णयविरुद्ध हड्तालमा उत्रिएका उनीहरूलाई प्रहरीले दिउँसो समातेको हो।
गृहमन्त्रालयले गाडी नचलाउने यातायात समितिका पदाधिकारीलाई समात्न सर्कुलर गरेसँगै बाँके प्रहरी पदाधिकारीहरूको कार्यालयदेखि घरघरसम्म पुगेको थियो। छुट्टाछुट्टै टोली बनाएर खटिएको प्रहरीले बाँकेमा ६ जनालाई पक्राउ गरेको छ। सार्वजनिक भेरी यातायात समिति र सनराइन समितिका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

सनराइज समितिका उपाध्यक्ष प्रवीण विसी र महासचिव रमेश शाह तथा कर्मचारीद्वय नवराज शर्मा र होमबहादुर खड्का पक्राउ परेका छन्। सार्वजनिक भेरी यातायात समितिका सचिव रेशम खत्री र कर्मचारी दीपक बस्नेतलाई प्रहरीले समातेको छ।

यातायात व्यवसायीले सिन्डीकेट लादेको भन्दै सरकारले सबै सार्वजनिक यातायातका साधनलाई प्राइभेट कम्पनीमा दर्ता गरी यातायात सञ्चालन गर्न यातायात व्यवस्था कार्यविधि निर्देशिका जारी गरेको छ। त्यसैको विरोधमा यातायात व्यवसायीहरूले आन्दोलन थालेका हुन्।

नेपालगन्ज बसपार्कका आफ्ना काउन्टर बन्द गरेर बसेका यातायात समितिका पदाधिकारीहरू प्रहरीले घरघरमै आएर खोज्न थालेपछि मोबाइल बन्द गरेर लुकेका छन्। केन्द्रीय तहमा रहेकाहरू काठमाडौंतिर लागेका छन्।

बिहान सबैको मोबाइल अन थियो, प्रहरीले समात्न शुरु गरेपछि सबैले मोबाइल अफ गरेर बसेका छन्, समिति स्रोतले भन्यो।

प्रालिले भने सेवा सुचारु राखेको छ। भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले आफ्ना गाडीहरू निर्वाध रूपमा चलिरहेको बताउनुभयो। भेरी यातायात प्रालिको बर्दियामा प्रधानकार्यालय रहेको छ। सरकारले प्रालिसम्बद्धलाई साथमा लिएर अघि बढेको छ।

नेपालगन्ज बसपार्कमा रहेको नागरिक, जनमुखी, माउन्टेन अन्नपूर्ण, पब्लिक मेट्रो प्रालिका काउन्टर खुल्ला रहेका छन्। नेपालगन्जबाट साँझ ६ बजे प्रालिका १० वटा बस काठमाडौंतिर हिँडेका छन्। प्रहरीले कडा सुरक्षा घेरामा बसहरूलाई गन्तव्यतिर लगेको छ।

बाँकेमा सार्वजनिक भेरी, बागेश्वरी, नमस्ते समितिका धेरै गाडी छन्। यी समितिहरूले गाडी थन्क्याएपछि बजार सुनसान भएको छ। लामो मात्रै होइन, छोटो दुरीका गाडीसमेत चलेका छैनन्। गाडी नचल्दा यात्रुहरू अलमलमा परेका छन्।

ठूला समितिका पदाधिकारीहरूलाई पक्राउ गर्न कोहलपुर, नेपालगन्जमा प्रहरीको छुट्टाछुट्टै टोली परिचालन भएको छ। ‘पदाधिकारीहरूको घरघरमा पुगिसक्यांै। खोइ कोही भेटिन्नन्, सबै मोबाइल अफ गरेर लुकेका छन्।, इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्