भूकम्पका कारण सुनखानीमा चारको मृत्यु



जोहान्नेसवर्ग, (एजेनसी)
दक्षिण अफ्रिकाको एउटा सुन खानीको सुरुङ अचानक आएको भूकम्पका कारण क्षतिग्रस्त हुँदा बिहीबार चार जना मजदुरको ज्यान गएको प्रहरी तथा उद्धारटोलीले जनाएका छन्। राजधानी जोहान्नेसवर्गदेखि पश्चिममा रहेको सिवान्ये स्टिलवाटरको मासाखाने खानीमा भएको दुर्घटनामा उद्धार गरिएका १० मध्ये ४ जनाको मृत्यु भएको हो।

तीन जना मजदुर सुरङभित्र फसिरहेको पनि कम्पनीले पत्रकारहरूलाई जानकारी गराएको छ। दक्षिण अफ्रिका विश्वकै सबैभन्दा ठूलो सुन उत्पादक राष्ट्र मानिन्छ। तर त्यहाँका खानीको सुरक्षा व्यवस्था भने निकै फितलो रहेको भन्दै सबैतिरबाट आलोचना हुँदै आएको छ। केही महिनायता सिवान्ये क्षेत्रको सुनखानीमा भएको यो दोस्रो ठूलो दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

गत फेब्रुअरीमा आँधी तुफानका कारण अचानक विद्युत् आपूर्ति बन्द हुनाको साथै ब्याकअप जेनेरेटरले पनि काम गर्न छाडेकाले ९ सय ५५ जना सुनखानी कामदार २४ घण्टासम्म सुरुङमा थुनिन पुगेका थिए। भूकम्पको केन्द्रविन्दु नजिक परेकाले यस सुनखानीको सुरुङमा पहिरो गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्