माक्र्सको २ सयौं जन्मजयन्ती: माक्र्सको राजनीतिक सिद्धान्त पूर्ण सही छ ः सी



बेइजिङ, (एजेन्सी)

चिनियाँ राष्ट्रपति सी जिनपिङले कार्ल माक्र्सको राजनीतिक सिद्धान्तप्रति अडिग रहने चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको निर्णय ‘पूर्ण सही’ भएको बताए। शनिबार जर्मन दार्शनिकको २ सयौं जन्मजयन्तीको अवसरमा सीले उक्त धारणा राखेका हुन्।

सन् २०१२ मा सत्तामा पुगेका तथा माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेताका रूपमा हेरिएका सीले देशको महान् परिवर्तन हासिल गर्ने क्रममा पार्टीले उनको समाजवादी जरालाई कहिल्यै बिर्सन नहुने बताए।

बेइजिङस्थित ग्रेट हलमा आयोजित समारोहमा सीले भने– ‘चिनियाँ कम्युनिस्ट पार्टीको झण्डामा माक्र्सवाद लेख्नु पूर्णतया सही छ। माक्र्सवादको महत्व र आधुनिकीकरणलाई निरन्तर प्रवद्र्धन गर्दै लग्नु पूर्ण सही छ।’

सीले पार्टीका सबै सदस्यलाई माक्र्सको योगदानलाई स्वीकार्न तथा माक्र्सवाद सिद्धान्तको ‘जीवन शैली’ तथा ‘आध्यात्मिक सरण’लाई बुझ्न पनि निर्देशन दिए। सीको उक्त सम्बोधन आउनुअगाडि चिनियाँ सञ्चारमाध्यमहरूले सप्ताहव्यापी ‘माक्र्स सही थियो’ भन्ने सन्देश दिने अभियान चलाएका थिए। उनका सिद्धान्त आधुनिक चीन र भावी पुस्ताका लागि पनि सान्दर्भिक भएको चित्रण गर्ने कार्टुनहरू प्रकाशित गरेका थिए।

आज, विश्वको सबैभन्दा ठूलो स्वघोषित समाजवादी देश चीनमा आधुनिक पुँजीवादी समाजका सबै तामझाम देखिएका छन्। यहाँ शहरी प्रबुद्ध र ग्रामीण विपन्न वर्गबीचको विशाल खाडल देख्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्