अर्जेन्टिनामा ब्याजदर चालीस प्रतिशत !



ब्युनसआयर्स, (ऐजेन्सी)
अर्जेन्टिनाको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा पेसोको तीव्र गतिमा अवमूल्यन हुन थालेपछि शुक्रबार ब्याजदर ४० प्रतिशत पुर्याएको छ। बैंकले ८ दिनभित्र तेस्रोचोटि ब्याजदरमा परिवर्तन गरेको हो।
हिजो ब्याजदरलाई ३३ दशमलव २५ बाट ४० प्रतिशतमा वृद्धि गरिएको हो। यसअघि सो दर क्रमशः ३० दशमलव २५ र २७ दशमलव २५ प्रतिशत रहेको थियो।

पेसोलाई टेवा दिने उद्देश्यले ब्याजदर बढाइएको बैंकले जनाएको छ। विगत एक वर्षभित्र पेसोको २५ प्रतिशतले अवमूल्यन भएको छ। अर्थ विश्लेषकहरूले यो आर्थिक समस्या निरन्तर बढिरहने अनुमान गरेका छन्। राष्ट्रपति माउरिसियो म्याक्रीले बजारमुखी आर्थिक सुधार कार्यक्रम लागू गरेको थियो। उनले पूर्वराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डि किर्चनरको उच्च सरकारी खर्चदरलाई नियन्त्रण गर्ने नयाँ नीति अपनाएका छन्।

अर्जेन्टिनाको मुद्रा अवमूल्यनलाई भेनेजुयलाबाहेक ल्याटिन अमेरिकाकै सबैभन्दा उच्चदर मानिएको छ। यस वर्ष केन्द्रीय बैंकले मुद्रा अवमूल्यनलाई १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्