लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा



लन्डन, (एजेन्सी)
इटालियन सिरी ए क्लब एएस रोमालाई समग्रमा ७–६ गोल अन्तरले पराजित गर्दै लिभरपुल यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रोमासँग पराजित भए पनि समग्रमा दुई लेगको खेलबाट ७–६ ले विजयी हुँदै लिभरपुल फाइनलमा प्रवेश गरेको हो। रोमाको घरेलु मैदानमा भएको दोस्रो लेग रोमाले ४–२ ले जितेको थियो। तर, पहिलो लेगमा ५–२ ले जित हात पारेको लिभरपुल दोस्रो लेगमा पराजित भए पनि फाइनल पुग्न सफल भयो।

लिभरपुलले नवौं मिनेटमा साडियो मानेको गोलमार्फत शुरूआती अग्रता लिएको थियो। तर, घरेलु टोलीले १५औं मिनेटमा लिभरपुलका जेम्स मिल्नरको आत्मघाती गोलबाट खेललाई बराबरीमा ल्याएका थिए। लिभरपुलका डिफेन्डर डेजान लोभ्रेनले क्लियर गर्ने क्रममा मिल्नरको टाउकोमा बल लाग्दै गोलपोस्टको जाली चुमेको थियो। खेलको २६औं मिनेटमा लिभरपुललाई जोर्जिनियो वाइनाल्डमले हेडमार्फत गोल गर्दै पुनः अग्रता दिलाएका थिए।

रोमाले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्दै अधिकांश समय बलमा आफ्नो नियन्त्रणमा राखेको थियो। फलस्वरूप दोस्रो हाफमा रोमा ३ गोल गर्नसमेत सफल भएको थियो। खेलको ५२औं मिनेटमा इडेन जेकोले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए।

त्यस्तै ८७औं मिनेटमा नाइन्गोलानले प्रहार गरेको बल लिभरपुलको गोलपोस्टको दायाँ बारमा ठोक्किँदै जाली चुमेपछि रोमाले खेलमा अग्रता लिएको थियो। यसै गरी गरी खेलको अतिरिक्त समयमा लिभरपुलका राग्नर क्लाभानले डी–बक्समा ≈यान्ड गरेपछि रोमाले पेनाल्टी प्रहार गर्ने अवसर प्राप्त गरेको थियो। जसलाई नाइन्गोलानले नै गोलमा परिणत गर्दै रोमालाई ४–२ को अग्रता दिलाएका थिए। तर, उक्त गोललगत्तै रेफ्रीले खेल सकिएको सिठ्ठी फुकेपछि रोमाको पुनरागमनको आशा अधुरै टुंगियो।

अब फाइनलमा लिभरपुलले रियल मेड्रिडको सामना गर्नेछ। रियलले मंगलबार राति भएको खेलमा बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल युक्रेनको राजधानी किभमा २६ मेमा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्