नोबेल साहित्य पुरस्कार स्थगित हुने संकेत



स्टकहोम, (एजेन्सी)
स्विडेनको नोबेल पुरस्कार वितरण गर्ने संस्था नोबेल एकेडेमीले सन २०१८को साहित्यतर्फको नोबेल पुरस्कार स्थगित गर्ने वा नगर्ने विषयमा शुक्रबारसम्ममा निर्णय गर्ने बताइएको छ। उक्त जानकारी एकेडमीका प्रशासकीय निर्देशकले दिएका हुन्।

एकेडेमीका प्रशासकीय निर्देशक लुई हेडबर्गले स्विडिस रेडियोलाई साहित्यतर्फको नोबेल पुरस्कार स्थगित गर्ने विषयमा कुनै पत्रकार सम्मेलन नहुने तर सञ्चार माध्यमलाई स्टेटमेन्ट पठाइने जानकारी दिए। एकेडमीका सदस्यहरूले बैठकपछि यथासिघ्र प्रेस रिलिज जारी गर्ने उनले बताए।
एकेडेमीका एक सदस्यका पतिमाथि बलात्कार तथा यौनशोषणको आरोप लागेपछि एकेडेमी विवादमा फेसेको थियो। यसकै कारण यस वर्षको नोबेल लिट्रेचर प्राइज अनिश्चित बनेको हो। उक्त काण्ड बाहिर आएपछि विगत दुई वर्ष दिएका साहित्यतर्फको नोबेल पुरस्कारको भविष्यलाई सञ्चार माध्यमहरूमा आंशका व्यक्त गरिएको थियो। सन् २०१७ मा बेलायती लेखक काजुओ इसिगुरो र सन् २०१६ मा अमेरिकी गायक तथा गीतकार बब डिलनलाई उक्त पुरस्कार दिइएको थियो।

‘मि टु’ अभियानबाट प्रभावित भएका १८ महिलाले गत नोभेम्बरमा एकेडेमीका सदस्य केटरिना फ्रस्टेसनका फ्रेन्च पति क्लाउड अर्नाल्टले उनीहरूमाथि यौन शोषण गरेको आरोप लगाएका थिए। यद्यपि अर्नाल्टले उनीहरूको आरोपलाई ठाडै अस्वीकार गरेका थिए। महिलाहरू सञ्चार माध्यमअगाडि आएपछि एकेडेमीले उनीहरूसँगको सबै सम्बन्ध अन्त्य गरेका थिए। यद्यपि एकेडेमी पनि २ खेमामा विभाजन भएको थियो। उक्त विवादका क्रममा एकेडमीका कुल १८ सदस्यमा स्थायी सचिव सारा डेनियससहित ७ सदस्यले राजीनामा दिएका थिए। वास्तवमा यसका १८ सदस्यालाई प्राविधिक रूपमा आजीवन नियुक्त गर्ने गरिन्छ र उनीहरू राजीनामा दिन पाउँदैनन्। तर उनी एकेडेमीको बैठक तथा गतिविधिहरूमा सहभागी नहुन स्वतन्त्र हुन्छन्। यसका एक सदस्य सन् १९८९ देखि एकेडमीका गतिविधिहरूमा सहभागी भइरहेका छैनन्। सलमान रुस्दी विरुद्धको जारी फतवाको आलोचना गर्न एकेडेमीले अस्वीकार गरेपछि उनले उक्त संस्थाबाट आफूलाई टाढा राखेकी थिइन्। सलमान रुस्दीको उपन्यास ‘द सटानिक भर्सेज’ प्रकाशित भएपछि उनी विरुद्ध इरानले फतवा जारी गरेको थियो।

एकेडेमीमा कुनै नयाँ सदस्य नियुक्त गर्न कम्तिमा १२ सदस्यले मत दिन आवश्यक हुन्छ। तर अब यसको सक्रिय सदस्यको संख्या मात्र १० मा सीमित भएको छ।

यसबीच स्विडेनका राजा कार्ल १६औं गुस्ताफले एकेडमीको विधानमा परिवर्तन गर्न सहमति दिएका छन्। यसले संस्थाको अस्तित्व बचाउनका लागि त्यहाँका सदस्यलाई राजीनामा दिन अनुमति दिइने र उनको स्थानमा अन्य कसैलाई नियुक्त गर्न सक्ने व्यवस्था गर्नेछ। नोबेल एकेडमीको स्थापना १८८६ मा भएको थियो र सन् १९०१ देखि यसले साहित्यतर्फको नोबेल पुरस्कार दिन थालेको हो। त्यस बेलादेखि ७ पटक सन् १९१४, १९१८, १९३५, १९४०, १९४१, १९४२ र १९४३ मा पुरस्कार स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्