फिफा विश्वकप २०१८, आयोजना हुने रंगशाला



मस्को, (एजेन्सी)
संसारभरका फुटबल प्रेमीहरू आगामी जुनमा हुने फिफा विश्वकप फुटबललाई व्यग्रताका साथ प्रतीक्षारत छन्। ३२ राष्ट्रका उत्कृष्ट टोलीबीच हुने यस प्रतियोगिताले एक महिनासम्म विश्व खेल जगतलाई आफूतिर आकर्षित गर्नेछ।

रसियाले पहिलोपटक फिफा विश्वकपको आयोजना गर्दै छ। जुन १४ देखि जुलाई १५ सम्म रसियाका ११ शहरका १२ वटा रंगशालामा यो प्रतियोगिता खेलाइनेछ। ती १२ वटा रंगशाला निर्माणका लागि करिब १० बिलियन अमेरिकी डलर बराबरको रकम खर्च भएको छ।

१. कजान एरिना
कजान आफैमा रसियाको खेलकुद राजधानीबाट परिचित छ। पछिल्ला केही समययता कजान एरिनाले आधुनिक, कलात्मक र महँगो खेल सुविधा सम्पन्नस्थलका रूपमा छलाङ मारेको छ। यस रंगशालालाई इंग्ल्यान्डको बेम्ब्ले र एमिरेट्स रंगशालाको ढाँचामा निर्माण गरिएको छ। सन् २०१३ मा सम्पन्न ग्रीष्मकालीन युनिभर्सियाद खेलकुदका लागि नै यसको निर्माणले पूर्णता पाएको थियो। उक्त प्रतियोगितामा यस रंगशालामा फुटबल र एथ्लेटिक्सका खेलहरू सम्पन्न भएका थिए।

आधुनिकीकरण गरिएको यो रंगशाला सम्भवतः आसन्न विश्वकप आयोजना गर्ने पुरानोमध्ये एक रंगशाला हुनेछ। गतवर्ष कन्फेडरेसन कपका साथै अक्टोबरमा रसिया र इरानबीचको मैत्रीपूर्ण खेल पनि यसै रंगशाला भएको थियो। रसियन प्रिमियर लिगअन्तर्गतको क्लब रुबिन कजानको यो घरेलु रंगशाला हो, जसलाई कम्युनिस्ट एरा सेन्ट्रल स्टेडियमबाट समेत सम्बोधन गरिन्छ।

कजान्का नदीको छेउमा अवस्थित ४५ हजार ३ सय ७९ सिट क्षमता रहेको कजान एरिना स्टेडियमलाई वाटर लिलीको आकारमा अमेरिकी कम्पनी पोपुलोसले निर्माण गरेका हुन्। ४ सय ३९ दशमलव ७ मिलियन अमेरिकी डलर निर्माण लागत रहेको यो रंगशालामा सन् २०१३ मा सम्पन्न विश्व ग्रीष्मकालीन युनिभर्सियाद खेलकुदको उद्घाटन र समापन समारोह पनि भएको थियो। सन् २०१५ मा सम्पन्न १६औं फिना विश्व च्याम्पियनसिप पनि यसै रंगशालामा आयोजना गरिएको थियो। कजान १ सय १५ जाति बसोबास गर्ने रसियाको ठूलो शहर हो।

यस रंगशालमा फ्रान्स र अस्ट्रेलियाले जुन १६ मा, इरान र स्पेनले जुन २० मा, पोल्यान्ड र कोलम्बियाले २४ जुनमा, दक्षिण कोरिया र जर्मनीले जुन २७ मा, राउन्ड अफ १६ को जुन ३० मा हुने खेल र ६ जुलाईमा हुने क्वार्टरफाइनल हुनेछ।

२. निज्नी नोभोगोरोड स्टेडियम
आँखा लाग्ने गोलो आकारको निज्नी नोभोगोरोड स्टेडियम स्टर्लकामा अवस्थित छ। यो निज्नी नभोगरोडोको पश्चिमी क्षेत्रमा पर्दछ। प्राकृतिक सुन्दरताले सजिएको यस रंगशाला दुईवटा नदीको छेउमा रहेकाले मनमोहक देखिन्छ। यस स्टेडियमको निर्माण लागत २ सय ९० मिलियन अमेरिकी डलर बराबर छ। ४४ हजार ८ सय ९९ दर्शक क्षमता रहेको यस रंगशालामा स्विडेन र दक्षिण कोरियाले १८ जुनमा, अर्जेन्टिना र क्रोएसियाले २१ जुनमा, इंग्ल्यान्ड र पानामाले २४ जुनमा, स्विजरल्यान्ड र कोस्टारिकाले २७ जुनमा तथा राउन्ड अफ १६ र क्वार्टरफाइनलका एक–एक खेल हुनेछ।

३. फिस्ट ओलम्पिक स्टेडियम
फिस्ट ओलम्पिक स्टेडियम अण्डाको आकारमा बनेको छ। रंगशालानजिकै रहेको फिस्ट माउन्टेनको नामबाट यो रंगशालाको नाम राखिएको हो। यो काउकासियन रेन्जको पश्चिमी क्षेत्रमा अवस्थित रहेको छ। ५ सय १९ मिलियन अमेरिकी डलर निर्माण लागत रहेको यस रंगशालाको निर्माण थालनी रसियाले विश्वकप आयोजनाको जिम्मेवारी पाउन अघि नै गरिएको हो। सन् २०१४ मा सोची हिउँदे ओलम्पिकका लागि यसको निर्माण गरिएको थियो।

हिउँदे ओलम्पिक र फिफा विश्वकप फुटबल दुवै आयोजना गर्ने इटालीको टुरिन रंगशालापछि फिस्ट दोस्रो रंगशाला बन्ने भएको छ। ४७ हजार ६ सय ५९ दर्शक क्षमता रहेको यस रंगशालामा पोर्चुगल र स्पेनले जुन १५ मा, बेल्जियम र पानामाले जुन १८ मा, जर्मनी र स्विडेनले २३ जुनमा, अस्ट्रेलियामा र पेरुले जुन २६ मा तथा राउन्ड अफ १६ र क्वार्टरफाइनलको एक खेल खेलिनेछ। ८ महिनाअघि रसिया र बेल्जियमले ३–३ गोलको बराबरी म्याच यसै रंगशालामा खेलेका थिए।

४. सेन्ट पिटर्सबर्ग स्टेडियम

रसियाको सुन्दरमध्येका एक शहर सेन्ट पिटर्सबर्गमा अवस्थित यस रंगशालालाई क्रेस्टभेस्की स्टेडियमबाट समेत सम्बोधन गरिन्छ। रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको गृहनगरमा रहेको ६४ हजार २ सय ८७ दर्शक क्षमता रहेको यो रंगशालाको निर्माणलागत १ बिलियन अमेरिकी डलर बराबरको छ। यो विश्वकै सर्वाधिक महँगो रंगशालामध्येको एकमा दरिएको छ। यस रंगशालाबाट फिनल्यान्डको खाडी सजिलै अवलोकन गर्न सकिन्छ। यस रंगशालामा मोरोक्को र इरानले जुन १५ मा, रसिया र इजिप्टले १९ जुनमा, ब्राजिल र कोस्टारिकाले २२ जुनमा, नाइजेरिया र अर्जेन्टिनाले २६ जुनमा खेल्नेछन्। राउन्ड अफ १६ र सेमिफाइनलको म्याच आयोजना हुनेछ।

५. लुज्निकी स्टेडियम
फिफा विश्वकपमा सर्वाधिक महŒव बोकेको लुज्निकी स्टेडियम रसियाको राजधानीमा छ। यो युरोपकै सबैभन्दा ठूलोमध्येको एउटा रंगशाला हो। यो मोस्कभा नदीको छेउमा अवस्थित रहेको छ। दर्शकहरूले रंगशाला जाने मार्गमा विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्तिसमेत देख्नेछन्। सन् १९८० को ओलम्पिक, १९९९ को यूएफा कप फाइनल, २००८ मा म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको च्याम्पियन्स लिगको फाइनल र २०१३ मा सम्पन्न वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिप यसै रंगशालामा भएको थियो।

पुनर्निर्माण गरिएपछि डाटा बेस वेभसाइटले यस रंगशालालाई ‘स्टेडियम अफ दि इयर २०१७’ अवार्ड प्रदान गरेको थियो। ४ सय मिलियन अमेरिकी डलर निर्माण खर्च रहेको यस रंगशालामा ८० हजार दर्शक क्षमता रहेको छ। यस स्टेडियममा फिफा विश्वकपको ७ खेल हुनेछ। यस रंगशालामा रसिया र साउदी अरेबियाले जुन १४ मा, जर्मनी र मेक्सिकोले जुन १७ मा, पोर्चुगल र मोरक्कोले जुन २० मा, डेनमार्क र फ्रान्सले २६ जुनमा, राउन्ड अफ १६ को १ जुलाईमा हुने खेल, ११ जुलाईमा हुने सेमिफाइनल र १५ जुलाईमा हुने फाइनल खेल हुनेछ।

६. इकाटेरिनबर्ग एरिना
लुज्निकी स्टेडियमभन्दा करिब १ हजार माइल टाढा रहेको छ इकाटेरिनबर्ग एरिना। यो इकाटेरिनबर्ग शहरमा अवस्थित पुरानो तथा केन्द्रीय रंगशाला हो। सन् १९५७ मा बनेको यो सोभियत युनियनकालीन रंगशालाको पुनर्निर्माण खर्च २ सय १५ मिलियन अमेरिकी डलर रहेको छ। सन् १९५९ मा भएको वल्र्ड अलअराउन्ड स्पिड स्केटिङ च्याम्पियनसिपको आयोजना यसै रंगशालामा गरिएको थियो। पुनर्निर्माणअघि करिब २३ हजार दर्शक क्षमता रहेको यस रंगशालालाई अहिले ३५ हजार ६ सय ९६ सिट क्षमताको बनाइएको छ। यस रंगशालामा इजिप्ट र उरुग्वेले जुन १५ मा, फ्रान्स र पेरुले जुन २१ मा, जापान र सेनेगलले जुन २४ मा र मेक्सिको र स्विडेनले जुन २७ मा खेल्नेछन्।

७. कालिनिन्गराड स्टेडियम
आलियान्ज एरिनाको ढाँचामा निर्माण गरिएको यस स्टेडियम ओक्त्याब्रिस्कीमा अवस्थित छ। पश्चिममा पोल्यान्ड र पूर्वमा लिथुआनियाको भू–भागले घेरिएको यो क्षेत्र समुद्रतिर बग्ने दुई नदीको मध्य भागमा पर्दछ। जसको पूर्वतिर मुख्य शहर अवस्थित छ। पुनर्निर्माणपछि २५ हजारबाट ३५ हजार २ सय १२ सिट क्षमता बढाइएको यस रंगशालाको लागत खर्च ३ सय मिलियन अमेरिकी डलर बराबर छ। यस रंगशालामा क्रोएसिया र नाइजेरियाले जुन १६ मा, सर्बिया र स्विजरल्यान्डले जुन २२ मा, स्पेन र मोरोक्कोले जुन २५ मा तथा इंग्ल्यान्ड र बेल्जियमले २८ जुनमा खेल्नेछन्।

८. स्पार्टक स्टेडियम
ओटक्रिएटिए एरिनाले समेत चर्चित छ स्पार्टक मस्कोको रंगशाला। यो रंगशाला सन् २००० अघिसम्म जर्जर अवस्थामा पुगिसकेको थियो। पुनर्निर्माणका लागि विभिन्न समयमा थुप्रैपटक योजनाहरू बने पनि त्यसले सन् २००७ पछि मात्र गति पाएको थियो। ४ सय ३० मिलियन अमेरिकी डलर बराबरको लागतमा सन् २०१४ सम्म यो आधुनिकीकरण भएको थियो। थ्रेसियन तलवारबाज स्पार्टकसको ठूलो कदको मूर्ति यस रंगशालाको अघिल्तिर रहेको छ। दर्शकलाई विश्वकपका साथसाथै उक्त मूर्तिको अवलोकनले पनि भिन्न अनुभव दिनेछ। यस रंगशालामा अर्जेन्टिना र आइसल्यान्डले जुन १६ मा, पोल्यान्ड र सेनेगलले जुन १९ मा, बेल्जियम र ट्युनिसियाले जुन २३ मा, ब्राजिल र सर्बियाले जुन २७ तथा जुलाई ३ मा राउन्ड अफ १६ को एक खेल हुनेछ।

९. रोस्टोभ एरिना
डोन नदीको किनारमा अवस्थित यस रंगशाला पूर्णरूपमा नयाँ हो। यसको निर्माण सन् २०१४ मा नै पूरा भएको हो। यस रंगशालाको छतले सबैको ध्यान तान्ने अनुमान गरिएको छ। छतलाई बगिरहेको नदीको आकृतिमा निर्माण गरिएको छ। यहाँबाट दक्षिण पश्चिममा रहेको रसियाको ठूलो शहर सजिलै देख्न सकिन्छ। ४५ हजार १ सय ४५ दर्शक अट्ने यस रंगशालाको निर्माण लागत ३ सय ३० मिलियन अमेरिकी डलर रहेको छ। यस रंगशालामा ब्राजिल र स्विजरल्यान्डले जुन १७ मा, उरुग्वे र साउदी अरेबियाले जुन २० मा, दक्षिण कोरिया र मेक्सिकोले २३ जुनमा, आइसल्यान्ड र क्रोएसियाले २६ जुनमा तथा जुलाई २ मा राउन्ड अफ १६ को एक खेल हुनेछ।

१०. समारा एरिना
भोल्गा नदीको किनारमा अवस्थित यस रंगशालालाई कसमस एरिनाको नामबाट समेत सम्बोधन गरिन्छ। समारा तत्कालीन सोभियत संघको अन्तरिक्ष अभियानको उद्गमस्थलसमेत हो। शुरूमा यस ठाउँमा रंगशाला निर्माण गर्ने विषयमा स्थानीय र सरकरी पक्षबीच विवाद भएर योजना नै बन्द गर्नुपरेको थियो। तर दुवै पक्षबीच सहमति भएपछि रंगशाला निर्माणले पूर्णता पाएको हो। तुलानात्मकरूपमा अन्य स्थानमा भन्दा यहाँ रंगशाला निर्माण असहज बनेको थियो। रसिया विश्वकपका लागि यो रंगशाला सबैभन्दा ढिलो तयार भएको मध्येको एक हो। यो यसै वर्ष मात्र निर्माण सम्पन्न भएको हो। ४४ हजार ८ सय ७ दर्शक सिट क्षमता रहेको यस रंगशालाको कुल निर्माण लागत ३ सय २० मिलियन अमेरिकी डलर बराबर रहेको छ। यस रंगशालामा कोस्टारिका र सर्बियाले जुन १७ मा, डेनमार्क र अस्ट्रेलियाले जुन २१ मा, उरुग्वे र रसियाले जुन २५ मा, सेनेगल र कोलम्बियाले जुन २८ मा तथा जुलाई २ मा राउन्ड अफ १६ र ७ जुलाईमा क्वार्टरफाइनलका एक÷एक खेलहरू हुनेछन्।

११. मोर्डोभिया एरिना
सारनस्कमा अवस्थित यस रंगशाला रसिया विश्वकप आयोजना हुने शहरमध्येकै सानो शहर हो। सन् २०१० मा निर्माण थालिएको यस रंगशाला पनि समारा रंगशालाजस्तै यसै वर्ष मात्र निर्माण सम्पन्न भएको हो। इन्सार नदीको छेउमा अवस्थित ओभल आकार रहेको ५ तले यस रंगशालाको दुई तला बेसमेन्ट रहेको छ। ४४ हजार ४ सय ४२ दर्शक सिट क्षमता रहेको यस रंगशालाको निर्माण लागत ३० सय मिलियन अमेरिकी डलर बराबर रहेको छ। यस रंगशालामा पेरु र डेनमार्कले जुन १६ मा, कोलम्बिया र जापानले जुन १९ मा, इरान र पोर्चुगलले जुन २५ मा र पानामा र ट्युनिसियाले जुन २८ मा खेल्नेछन्।

१२. भोल्गोग्राड एरिना
भोल्गा नदीको किनारमा अवस्थित यस रंगशाला रसियाको भोल्गोग्राड शहरमा अवस्थित छ। भोलगोग्राड शहर रसियाको कम विकसित शहरमध्येमा पर्दछ। सन् १९५८ मा नै निर्माण गरिएको यस रंगशालाको पुनर्निर्माण यसै वर्ष मात्र सम्पन्न भएको हो। यो पुनर्निर्माण गर्ने क्रममा स्टालिनग्राडको युद्धताका विस्फोट नभएको बमहरू फेला परेको थियो। यसै वर्ष मात्र पुनर्निर्माण सम्पन्न भएको ४५ हजार ५ सय ६८ दर्शक सिट क्षमता भएको यस रंगशालाको कुल लागत २ सय ८० मिलियन अमेरिकी डलर बराबर रहेको छ। यस रंगशालामा ट्युनिसिया र इंग्ल्याण्डले जुन १८ मा, नाइजेरिया र आइसल्यान्डले जुन २२ मा, साउदी अरेबिया र इजिप्टले जुन २५ मा र जापान र पोल्यान्डले जुन २८ मा खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्