पत्रकार हत्याकाण्ड, छोटे राजनलाई आजीवन कारावास



मुम्बई, (एजेन्सी)
भारतका सबैभन्दा कुख्यात डनहरूमध्ये एक मानिने छोटा राजनलाई सन् २०११ मा मुम्बईमा एकजना क्राइम रिपोर्टरको हत्या गरेको अभियोगमा बुधबार आजीवन कारावास सुनाइएको छ।

अदालतले राजनको निर्देशनमा मोटरसाइकलमा आएका ४ जना पुरुषले ज्योतिर्मोय डे नामक ती पत्रकारमाथि गोली हानेका थिए। त्यस हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका पत्रकार जिग्ना भोरा र अन्य एकलाई प्रमाणको अभाव भएको जनाउँदै सफाइ दिएको छ।

सन् २०१५ मा इन्डोनेसियाली सरकारबाट सुपुर्दगी गरिएयता ५८ वर्षीय राजन भारतको हिरासतमा राखिएका छन्। राजनलगायत उनका अन्य ८ जना सहयोगीलाई बुधबारबिहानै मुम्बईस्थित एक अदालतले दोषी ठहर गरेको हो। अन्य एक जना आशंकित व्यक्तिको प्रहरीले अझै खोजी गरिरहेको छ।

एकजना आक्रमणकारीको भने सन् २०१५ मा नै मृत्यु भइसकेको छ। यस हत्याकाण्डको मुद्दा दौरान अदालतमा १ सय ५५ जनाले बयान दिए पनि हत्याको कोही पनि प्रत्यक्षदर्शी नरहेको बताइएको छ। बाइलाइनमा जे डे लेख्ने गरेका ५६ वर्षीय डे मुम्वर्यका प्रमुख क्राइम रिर्पोटरमध्ये एक थिए।

उनले मुम्बईको अन्डरवल्र्ड र यसका राजनलगायत अपराधीहरूका बारे थुप्रै खबर र लेखहरू प्रकाशित गरेका थिए। उनको हत्यापछि मुम्बईका पत्रकारहरूले व्यापक विरोध प्रदर्शन गर्दै सरकारबाट आफ्नो सुरक्षाका लागि माग गरेका थिए। शुरूमा यस हत्याकाण्डको अनुसन्धान मुम्बई प्रहरीले गरेको थियो।

तर राजनलाई पक्राउ गरिएपछि यो मुद्दा संघीय गुप्तचरलाई सुम्पिएको थियो। वास्तविक नाम राजेन्द्र सदाशिव निकाल्जे रहेका छोटे राजनविरुद्ध थुप्रै हत्या, जबर्जस्ती पैसा असुली र लागूऔषध ओसार पसारको अभियोग लगाइएको छ। मुम्बईमा हुर्कने क्रममा युवावस्थामा सानातिना अपराधमा संलग्न रहेका उनी पछि ठूलै अपराधको दुनियाँमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्