औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
१४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा १४ करोड ७५ लाख रुपियाँको कारोबार भएको छ। मेलामा एक लाख ९० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा चलेको मेलाको समापन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताउनुभयो।

अहिले सबैभन्दा शक्तिशाली सरकारका रूपमा रहेको स्थानीय निकायमार्फत् लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।

मेलाको ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने नारा रहेको थियो।

स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्यकार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रदर्शनीमार्फत् प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो।

समापन समारोहमा उत्कृष्ट बाजुराको हिमालयन अल्लो, झापाको रानीदेमा अर्गानिक प्लेट उद्योग, भक्तपुरको हेल्पिङ हेन्ड फेल्ट क्राफ्ट, बुटवलको लाङ्घाली अचार प्रोडक्सन एण्ड सप्लायर्स, ललितपुरको सविता कपडा उद्योग र लाहानको महिला हस्तकला उद्योगलाई उत्कृष्ट उद्यमी तथा उद्योगी सम्मानद्वारा सम्मानित गरिएको थियो।

तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिएको प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि–आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रूपमा रहेको मेला संयोजक मोहन कटवालले बताउनुभयो।

मुलुकको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई पनि समावेश गरिएको महासंघले जनाएको छ।
नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजित मेलाको सह–आयोजकको रूपमा उद्योग मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ रहेका थिए।

प्रतिक्रिया दिनुहोस्