धितोपत्र बजारमा पुँजी वृद्धिको असर



नरेन्द्रमान श्रेष्ठ

पछिल्लो समयमा धितोपत्र बजारमा पुँजी वृद्धिको असर देखा परिरहेको छ। पछिल्लो समयमा नेपालको शेयरबजारमा उतारचढाव देखिएको छ। साथै धितोपत्र बजार पनि खस्किएको अवस्थामा छ। पछिल्लो समयमा टप भनिने बैंकहरूको पनि शेयर मूल्य घट्दै गएको देखिन्छ। पुँजी बढाएको कारणले धेरैजसो कम्पनीहरूको प्रतिशेयर आम्दानी घट्दो अवस्थामा छ। यसकारणले शेयर बजारमा समेत अन्यौलता छ।

एकातिर पुँजी वृद्धिको कारणले कम्पनीहरूको प्रतिशेयर आम्दानी घट्दो छ भने अर्कोतर्फ लगानीकर्ताहरूले राम्रो प्रतिफल पाउन सकिने अवस्था देखिँदैन। बैंक तथा वित्त कम्पनीहरूले पुँजी बढाएअनुसारको आम्दानी नाफा बढाउन सकेनन् र यसको असर शेयर बजारमा देखा परेको छ। अहिलेको समय भनेको विभिन्न कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने कतिपयले लाभांश घोषणा गरिरहेका पनि छन्। लाभांश घोषणा गरिसकेका कम्पनीहरूले लाभांश गतवर्षभन्दा कम देखिएका छन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरूलाई २०७४ अषाढसम्ममा आ–आफ्नो चुक्ता पुँजी लगभग चार गुणाले बढाउन निर्देशन दिएपछि यसले धितोपत्र बजारमा प्रभाव पारेको देखिन्छ। नेपाल राष्ट्र बैंकले क वर्गका बैंकहरूलाई ८ अर्ब, विकास बैंकहरूलाई २ सय ५० करोड र फाइनान्स कम्पनीहरूलाई ८० करोड पुँजी पुर्याउनुपर्ने निर्देशन दिएको थियो, २०७१÷०७२ को मौद्रिक नीतिमार्फत। अहिले नेपाल राष्ट्र बैंकले दिएको समयावधि सकिइसकेको छ। तर पनि केहि बैंक तथा वित्त कम्पनीहरूले नेपाल राष्ट्र बैंकले तोकिदिएबमोजिमको पुँजी पु¥याउन सकिरहेका छैनन्।

यसको लागि कतिपय कम्पनीहरू कसरत गरिरहेका छन्। बैंक तथा वित्त कम्पनीहरूको पुँजी वृद्धिले शेयर बजारमा समेत प्रभाव पारेको छ। शेयर बजारमा उतारचढावहरू भए। नेप्से उकालो लागेर १८८१ अंकसम्म पुग्यो भने ओरालो लागेर १२९२ अंकसम्म पनि झ¥यो। २ वर्षमा कम समयमा आफ्नो चुक्ता पुँजी लगभग चार गुणाले बढाउन भनेको चुनौती थियो बैंक तथा वित्त कम्पनीहरूका लागि।

यसको लागि बैंक तथा वित्त कम्पनीहरूले गाभ्ने÷गाभिने नीति अवलम्बन गरे भने ३–४ सय प्रतिशतले हकप्रद शेयरहरू जारी गरे। यसले पनि नेप्सेमा प्रभाव पारेको छ। हकप्रद शेयरलाई उचालेर अस्वाभाविकरूपमा शेयरको मूल्य बढाए भने हकप्रद शेयर पाउने आशले कतिपयले महँगोमा शेयर किन्नेहरूले अहिले नोक्सानी व्यहोर्नुपरिरहेको छ। शेयरबजारका कतिपय लगानीकर्ताहरू हल्लाको भरमा वैकुण्ठ मानन्धरजस्तै दौडने गरेका छन् भने कतिपय लगानीकर्ताहरू शेयरबजारप्रति त्यति जानकार नभएको जस्तो पनि देखिन्छ।

बैंक तथा वित्त कम्पनीहरूको पुँजी वृद्धि नीतिनियमले धेरैजसो लगानीकर्ता दोहोरो मारमा परिरहेका छन्। हकप्रद शेयर पाउने आशले महँगोमा शेयरहरू किने भने अर्काेतर्फ हकप्रद शेयर भर्नको लागि पुँजीको समेत जोहो गर्नुप¥यो, ‘दुःख पाइस् मंगले आफ्नै ढंगले’ भनेजस्तै। यसले साना तथा नवप्रवेशी लगानीकर्ताहरू मारमा परे। पछिल्लो समयमा नेप्से घट्ने क्रममा थियो। सबैजसो बैंक तथा वित्त कम्पनीहरूको शेयर घटेको अवस्थामा छ। टपटेनमा रहेका बैंकहरूको शेयर मूल्यमा समेत भारी गिरावट आयो। त्यस्तै हकप्रद शेयरले गर्दा शेयर बजारमा शेयरहरूको बाढी नै आएको छ भन्दा पनि फरक नपर्ला। बैंक तथा वित्त कम्पनीहरूले पुँजी बढाउनुपर्ने भएकाले बोनस शेयर र हकप्रद शेयर जारी गरेको कारणले पनि शेयर बजारमा शेयरको आपूर्ति बढेको हुँदा शेयर बजारमा नेप्से घटेको बताइन्छ। बैंक तथा वित्त कम्पनीहरूको वासलातमा पुँजी वृद्धिकै कारणले त्रैमासिक प्रतिवेदनहरूमा सबैजसो बैंक तथा वित्त कम्पनीहरूको प्रतिशेयर आम्दानी घटेको देखिन्छ। कम्पनीहरूको प्रतिशेयर आम्दानी घटेको कारणले शेयरधनीहरूले लाभांश पनि कम पाउने सम्भावना रहेको छ। पुँजी वृद्धिको अनुपातमा आम्दानी बढाउन नसकेको कारणले कम्पनीहरूको प्रतिशेयर आम्दानी घटेको हो भन्दा पनि फरक नपर्ला। यसबाट पनि लगानीकर्ताहरू नै नोक्सानीमा छन्।

लगानीकर्ताहरू आफ्नो लगानीअनुसारको प्रतिफल पाउन नसक्ने अवस्थामा छन्। त्यसो त कतिपय कम्पनीहरूले गतवर्षभन्दा आफ्नो आम्दानी बढाएका पनि छन्। तर पनि पुँजी बढेको अनुपातमा आम्दानी बढाउन सकेनन् अनि ईपीएस घट्यो भने शेयरधनीहरूले पनि कम लाभांश पाउने भए। गतवर्ष २७ प्रतिशत बोनस दिएको एनआईसी एसिया बैंकले यस वर्ष २० प्रतिशत मात्र बोनस शेयर दियो। यसै गरी गतवर्ष ३२ प्रतिशत बोनस शेयर दिएको एनबी बैंकले यस वर्ष १२ प्रतिशत बोनस शेयर र ३.७९ नगद लाभांश दिने भएको छ। त्यसै गरी गतवर्ष ३३ प्रतिशत बोनस शेयर दिएको सनराइज बैंकले यसपालि १५ प्रतिशत मात्र बोनस शेयर दिने भएको छ। त्यसै गरी गतवर्ष २७ प्रतिशत बोनस शेयर दिएको नेपाल एसबीआईले यस वर्ष १५ प्रतिशत मात्र बोनश शेयर दिने भएको छ। यो पुँजी वृद्धिको कारणले नै भएको हो भन्दा फरक नपर्ला।

नेपाल राष्ट्र बैंकको कम समयमा चार गुणाले बैंक तथा वित्त कम्पनीहरूलले पुँजी बढाउनुपर्ने अदूरदर्शी नीतिले गर्दा साना तथा नवप्रवेशी लगानीकर्ताहरू धेरैजसो मारमा परे। पुँजी बढाउनको लागि बैंक तथा वित्त कम्पनीहरूले धमाधम हकप्रद शेयरहरू जारी गरे भने अर्काेतर्फ कम्पनीहरू मर्जर र एक्विजिसनपट्टि पनि लागे। मर्जर प्रक्रियामा रहेका कम्पनीहरूको शेयर कारोबार धितो बजारमा नहुने भएकाले लगानीकर्ताहरूको लगानीसमेत ब्लक भयो। एकातिर लगानीकर्ताहरूको लगानी ब्लक भयो भने अर्काेतर्फ हकप्रद शेयर भर्नको लागि पुँजीको समेत जोहो गर्नुपर्यो। हकप्रद शेयर नभरेर बुक क्लोज हुनुभन्दा पहिले शेयर बिक्री गर्ने लगानीकर्ताहरू पनि थुप्रै हुन्छन्। मर्जर एक्विजिससनले गर्दा यिनीहरूले आफ्नो शेयर बक्री गर्न पाएनन् भने हकप्रद शेयर भर्न बाध्य भए। अकोतर्फ मर्जर र एक्विजिसनले कम्पनीहरूबीच हुने स्वाप रेसियोले पनि लगानीकर्ताहरूले घाटा व्यहोर्नुपरिरहेको छ। त्यसो त मर्जर प्रक्रिया लम्बिदा पनि लगानीकर्ताहरू घाटामा हुने गरेका छन्। मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको मर्जर प्रक्रिया शुरू भएको १५ महिना बितिसक्दा पनि यसको टुंगो लागेको छैन। त्यसो त प्राथमिक शेयरका लगानीकर्ताहरूले स्वाप रेसियोको कारणले घाटा खानु नपरे पनि दोस्रो बजारका लगानीकर्ताहरूलाई भने स्वाप रेसियोको कारणले समेत घाटा हुने गरेको छ।

आर्थिक वर्ष २०७३÷०७४ सकिइसकेको छ। यसका साथै बैंक तथा वित्त कम्पनीहरूको पुँजी बढाउने समय पनि सकिइसकेको छ। बैंक तथा वित्त कम्पनीहरूले २०७३÷०७४ को वासलात प्रतिवेदनमा पुँजी पुगेको देखाउनुपर्नेछ तर पनि कतिपय कम्पनीहरूले पुँजी पुर्याउन सकिरहेका छैनन्। कतिपय कम्पनीहरूले पुँजी पु¥याउनको लागि अहिले पनि धमाधम हकप्रद शेयर जारी गर्ने गरिरहेका छन् भने अर्काेतर्फ बैंक तथा वित्त कम्पनीहरूले लाभांश घोषणा गर्ने सिजनमा पनि सबैजसो समूहका शेयरहरूको मूल्यमा भारी गिरावट आइसकेको छ। यसको कारण भनेको प्रतिशेयर आम्दानी घटेकाले हो भन्दा फरक नहोला। बैंक तथा वित्त कम्पनीहरूको पुँजी बढाउनु भनेको राम्रो हो, बढाउनु पनि पर्ने हुन्छ। तर क्रमिकरूपमा योजनाबद्ध किसिमले आवश्यकताअनुसार उचित समयमा बैंक तथा वित्त कम्पनीहरू आफैंले पुँजी बढाइहाल्छन्। यत्ति पनि नेपाल राष्ट्र बैंले बुझ्न नसकेको हो वा बुझ पचाएको हो वा बैंक तथा वित्त कम्पनीहरूलाई पेल्ने नीति लिएको हो। बैंक तथा वित्त कम्पनीहरूको पुँजी बढे कम्पनीहरू बलियो हुने र कम्पनीहरूले ठूला–ठूला आयोजनाहरूमा लगानी गर्न सकिन्छ भनेर नेपाल राष्ट्र बैंकका गभर्नरले भन्ने गरका थिए। अहिले देखियो होला बैक तथा वित्त कम्पनीहरूको अवस्था। बैंक तथा वित्त कम्पनीहरू कत्तिको बलियो भए र कम्पनीहरूले कत्तिको प्रगिति गरे ? अनि कत्तिको नाफा कमाए ? धितोपत्र बजारको अवस्था कस्तो भयो ? नेपाल राष्ट्र बैंकलाई यति पनि थाहा भएन कि बैंक तथा वित्त कम्पनीहरू चल्ने भनेको आफ्नो पुँजीले भन्दा पनि निक्षेपकर्ताहरूको निक्षेपले चल्ने हो भनेर।

पुँजी वृद्धिको कारणले लगानीकर्ताहरूसँग शेयरको थुप्रो भएकाले यसको असर शेयरबजारमा देखिएको छ। शेयरको आपूर्ति बढेर बिक्रीको चाप बढेको कारणले शेयरबजारमा नकारात्मक असर परेको छ। यसले गर्दा कतिपय लगानीकर्ताहरू निराश र हतोत्साहित भएका छन्। यसको कारण पनि पुँजी वृद्धि नै हो। हुन त त्रैमासिक विवरणले मात्र लगानीकर्ताहरू त्यति निराश हुनुपर्ने अवस्था छैन। तर पनि लगानीकर्ताहरू भने सचेत हुनुपर्दछ। कम्पनीका शेयर खरिद गर्दा राम्रा कम्पनीको शेयर खरिद गर्नुपर्छ। लगानीकर्ताहरू आत्तिनु र डराउनु भने हुँदैन। शेयरबजारका लगानीकर्ताहरूमा धैर्यता हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्