भिडियोमा बालगीत



पत्रकार तथा गीतकार बलराम प्यासीद्वारा रचित बालगीत बाबा मलाई खेलौना होइन राम्रो शिक्षा दिनुस्, ममी मलाई पैसा होइन असल संस्कार दिनुस्को म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ।

प्रतिबिम्ब कला केन्द्र नेपालटार बालाजुको प्रस्तुतिमा तयार भएको म्युजिक भिडियोको निर्देशन सो कला केन्द्रका निर्देशक केसाङ लामा र रोमा लामाले गरेका छन्। सो बालगीत २०७२ सालको राष्ट्रिय बाल दिवसको अवसरमा रेडियो नेपाल र नेपाल बाल संगठनद्वारा संयुक्त आयोजित राष्ट्रव्यापी बालगीत प्रतियोगितामा गायनतर्फ उत्कृष्ट भएको थियो भने शब्दतर्फ प्रशंसा पाएको थियो।

संगीतकार गोपाल अधिकारीद्वारा संगितबद्ध तथा बालगायिका समृद्धि परियारद्वारा स्वरबद्व गीतको म्युजिक भिडियोमा कलाकार बस्नेत, गीतकार प्यासी, संगीतकार अधिकारी, गायिका परियारका साथै काजल केबी तथा बाल कलाकारहरू जोनिश अधिकारी, प्रियंका र करिना पौडेलले मौन भूमिका निर्वाह गरेका छन्।

८ वर्षकी गायिका समृद्धि परियारले गाएको बालगीत मुलुकभरका ३६ प्रतियोगीलाई उछिनेर पहिलो भएको थियो भने नगद १५ हजार, ट्रफी र प्रमाणपत्र जितेको थियो।

प्रतिक्रिया दिनुहोस्