“जनताको भरोसा, अपनत्व र सहभागिता बढ्दैछ”



निर्मलरत्न शाक्य
वडाअध्यक्ष
ललितपुर महानगरपालिका –१६

करिब १२ हजार जनसंख्या रहेको ललितपुर महानगरपालिक –१६ साविकको १८ वडालाई गाभिएर ठूलो क्षेत्र बनाइएको छ। ललितपुरको चिनारी दिने विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रको कलात्मक कृष्णमन्दिर, भिमसेन मन्दिर, प्रसिद्ध हिरण्यवर्ण महाविहार( गोल्डेन टेम्पल) ,यशोधरवर्ण महाविहार र रत्नाकर महाविहार जस्ता लिच्छिविकालीन वैभवको झझल्को दिन मुख्य बौद्ध विहारहरू पनि सोही वडामा छन्।

यो वडा कला, संस्कृति, सम्पदाको उचित संरक्षण, सम्र्वद्धन गरी पर्यटन विकास गर्न सकिने प्रचुर सम्भावना छ। यसै सन्र्दभमा वडाको प्राथमिकता, वडाको मुख्य समस्या र स्थानीय तहमा जनप्रतिनिधि आएपछि त्यसको समाधान लागि भए गरेका कार्य बारेमा केन्द्रीत रहेर नेपाल समाचारपत्रका लागि सुनील महर्जनले ललितपुर महानगरपालिका –१६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यसंग गरेको अन्र्तवार्ताको सम्पादित अशंः–

वडाध्यक्ष भएर काम गरेको वर्षदिनको अनुभव कस्तो रह्यो त?

एक वर्षमा उल्लेखनीय कार्य खासै गर्न सकेको छैन। भए गरेका कामहरूलाई सन्तोषजनक रूपमा लिएको छु।वडाध्यक्ष भएको चार महिनापछि वडा भित्र रहेको सस्तो बजारलाई प्रवद्र्धन गर्न सातदिन सम्म दशै मेला महोत्सवको आयोजना गरे।विपद् व्यवस्थापनमा समुदायको भूमिकालाई प्रभावकारी बनाउने हेतुले पँँच दिने विपद् व्यवस्थापन तालिम, विपद् व्यवस्थापनमा युवावर्गको भूमिका बारे गोष्ठी, अन्र्तक्रिया जस्ता कार्यक्रमहरू सञ्चालन गरियो। यसबीचमा महापाल, नागबहाल, लगायत टोलहरूमा ढल निकास सफा गर्ने, मर्मत गर्ने र बाटो ढलान गर्ने काम पनि भएको छ।

यो वर्षमा नियमित कार्यका अतिरिक्त अन्य कामहरू गर्नका लागि वडाका २५ जना सल्लाहकार र सरोकारवालाहरू राखेर भर्खरै दीर्घकालीन रणनीतिक कार्यशाला गोष्ठीको आयोजना गरियो।वडाको विकासमा अघि बढ्न सो गोष्ठी निकै महत्वपूर्ण र उपलब्धीमूलक रहेको सबैैको ठम्याई रहयो।

गोष्ठी खाली औपचारिकतामा मात्र सीमित भएन र ?

त्यसो भन्न मिल्दैन। वडाको आवश्यकता र अवसरलाई पहिचान गर्न गोष्ठी निकै महत्वपूर्ण कार्य साबित भएको छ। वडाको विकासको लागि सामूहिक बुझाई बनाउन गोष्ठीले सघाएको छ। यसले गर्दा स्थानीय आवश्यकता, जनताको चाहनालाई पहिचान गरेर योजना बनाउन, अघि बढ्न सहज भएको छ।

काम गर्न के कस्ता चुनौतीको सामना गर्नुपरिहेको छ ?

वडाको बजेट ५० लाख रहेको छ। यो रकम अपुग रहेको छ। थोरै बजेट धेरै आवश्यकता, ऐन, कानूनको अस्पष्टता, अन्य सरकारी निकायहरूबीच समन्वय गर्न गा¥हो हुने जस्ता समस्याहरू रहेका छन्।

यस्तो कार्य त कर्मचारीले स्थानीय तह सञ्चालन गर्दा पनि भएकै थियो। एक वर्षमा गरेको यति कामलाई सन्तोषजनक रूपमा लिनु उचित होला र ?

हिजोे स्थानीय निकाय कर्मचारीले सञ्चालन गरिरहँदा पनि यस्ता गतिविधि भइरहेको थियो।यति कामलाई सन्तोषजनक मान्नुहुन्न र यो भन्दा बढी काम गर्नुपर्दछ भन्ने हिसाबले तपाईले भन्नुभएको एक हिसाबले ठिकै हो।यी कार्यहरू गर्दा वडावासीप्रति हिजोको कर्मचारीको जवाफदेही र आजको जनप्रतिनिधिको जवाफदेही निकै फरक रहेको छ।वडाले गर्ने कार्य सञ्चालनमा आज बढी सहभागितामूलक रहेको छ। वडाले गर्ने कार्यमा जनतामा अपनत्वको महसुश हुने गरेको छ। जनप्रतिनिहरूप्रति भरोसा बढेको छ। जुन सहभागिता, अपनत्व र भरोसा हिजो कर्मचारीले स्थानीय निकाय सञ्चालन गर्दा जनतामा देखिएको थिएन।

वडाले कस्ता कार्यलाई प्राथमिकतामा राखेको छ ?

वडा नं १६ ललितपुरको मुटुमा रहेको छ।विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्र, लिच्छिकविकालीन थुप्रै बौद्ध विहारहरू, अष्टमातृका नाच, नरसिंह जात्रा, कार्तिक नाच जस्ता अमूर्त र जीवन्त संस्कृति पनि यही वडामा नै सञ्चालन हुँदै आएको छ।यहाँको संस्कृति, सम्पदाको संरक्षण, सम्र्बद्धन र त्यसलाई पर्यटन उद्योगसंग जोडेर आर्थिक विकासको माध्यम बनाउन सकिने प्रशस्त सम्भावना रहेको छ। यही सम्भावनालाई साकार बनाउने कार्यलाई वडाले सबैभन्दा बढी प्राथमिकतामा राखेको छ।यसका लागि वडामा सम्पदा संरक्षण शाखा बनाउने छु।

भूकम्पबाट भत्किएका सम्पदाहरू पुनःनिर्माण गर्ने कार्य नि ?

भूकम्पबाट भत्किएका सम्पदा पुनःनिर्माणका लागि करौडौं र अरबौ बजेट चाहिन्छ। जुन वडाबाट त के ,महानगरपालिकाले पनि नसक्ने भन्दै आइरहेको छ। यद्यपि विभिन्न देशहरूको सहयोगमा काठमाडौं उपत्यका संरक्षण प्रालिले दरबार क्षेत्रमा पुनःनिर्माण कार्य गरिरहेको छ। यस कार्यमा सघाउन वडाबाट कुनै कसर बाँकी राख्ने छैनौं।

त्यस्तै भूकम्प पीडितहरूले दोस्रो र तेस्रो किस्सा पाउन सकेको छैन। पुरानो बस्तीमा घर बनाउन कसैको लालपुर्जा नहुने, स्वबासी हुने, गुठीको घर, क्षेत्र साँघुरो हुने जस्ता कारणले नक्सा पास गर्न कठिनाई हुने, नक्सा र घर बनाउने क्रममा केही न केही त्रुटी हुने जस्ताले गर्दा अनुदानका लागि कागजात पु¥याउन गा¥हो भएको गुनासो निकै आएको छ। यसबारे पनि नीतिगत निर्णय गरेर पीडितलाई अनुदान दिलाउन बोर्ड बैठकमा पहल गर्ने छु।

‘वडाले गर्ने कार्य सञ्चालनमा आज बढी सहभागितामूलक रहेको छ। वडाले गर्ने कार्यमा जनतामा अपनत्वको महसुश हुने गरेको छ। जनप्रतिनिहरूप्रति भरोसा बढेको छ। जुन सहभागिता, अपनत्व र भरोसा हिजो कर्मचारीले स्थानीय निकाय सञ्चालन गर्दा जनतामा देखिएको थिएन।’

संस्कृति संरक्षणलाई प्रँथमिकतामा राखेको त भन्नुभयो, तर व्यवहारमा अधिकाशं अमूर्त संस्कृतिहरू लोप हुने क्रममा छन्। यस्तो अवस्था किन ?

संस्कृति संरक्षणमा हालसम्म महानगरपालिका र वडाले छुट्टयाउँदै आएको रकम निकै नगन्य रहेको पाइएको छ। भन्ने बेला सांस्कृतिक र पर्यटकीय नगरी बनाउने भन्ने व्यवहारमा खासै काम नगर्ने अवस्था बारे म पनि परिचित छु।किनकी वडाध्यक्ष हुनुभन्दा अघि म पनि थुप्रै सामाजिक, सांस्कृतिक क्षेत्रमा नै काम गरेर आएको हुँ।

पर्याप्त बजेट नहुँदा संस्कृति चलाउन सम्बन्धित गुठीयार, सरोकारवालाहरूलाई निकै धौ धौ हुने गरेको छ। यसको अन्त्यका लागि महानगरपालिकाले वर्षेनी दिँदै आएको रकमको पुनरवलोक गर्नुपर्ने कार्यलाई मैले जोडडार रूपमा उठाउँदै आएको छु। वडाध्यक्ष भएपछि वडाबाट दिने आर्थिक सहयोगलाई पनि केही बढाएको छु।तर यतिले पनि पुग्दैन भन्ने कुरा म स्पष्ट छु।आगामी आर्थिक वर्षको योजनामा संस्कृति संरक्षणतर्फको बजेट बढाउन म भरमग्दुर प्रत्यत्न गर्ने छु।

वडावासीहरूबाट के –कस्ता गुनासो आउने गरेको छ ?

विशेषत सरसफाई, धाराबाट पानी नआउने, ट्राफिक जाम, पाकिङ्ग व्यवस्थापन, वर्षामा ढल जाम हुँदा ठाउँठाउँ पानी जम्ने, फोहोेरमैला व्यवस्थापनको विषयमा बढी गुनासोहरू आइरहेको छ।ती गुनासाहरूको सुनवाई गरी समाधानको प्रयास गर्दै आएको छु।

आगामी दिनहरूमा योजना के के हुन् ?

रणनीतिक कार्यशाला गोष्ठीले पनि योजना बनाउन निकै सघाएको छ। त्यसबाट आएका निचोडका आधारमा मूर्त र अमूर्त संस्कृति र सम्पदाहरू संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउने, हस्तकला प्रर्वद्धन गरी रोजगारीको अवसर सिर्जना गर्न योजनाहरू रहेको छ।

त्यसैगरी सस्तो बजारमा रहेको भवनलाई आधुनिक व्यापारिक भवन बनाउने, वर्षायाममा महापाल मंगलबजार क्षेत्रमा हुने ढल निकासको समस्या समाधान,ट्राफिक जाम व्यवस्थापन कार्यलाई प्राथमिकता दिने छु। त्यसैगरी नेपाल भाषाको विकास, साहित्य, संगीत र परम्परागत बाजागाजाका गुरुको सम्मान र कलाकारहरूको सम्मान र संरक्षणको क्षेत्रमा विविध कामहरू गर्ने योजना रहेको छ।

त्यस्तै वडाको विकास र निर्माण प्रक्रियामा युवा र महिलाको सहभागिताको लागि विभिन्न भेलाहरू आयोजना गर्ने, पाटन दरबार क्षेत्रमा सवारी साधन निषेध गर्ने, वडा प्रोफाईल तयार गर्ने सोच रहेको छ।आर्थिक वर्षभित्र पूर्वाधारतर्फ दौबहाल, नकबहीलमा ढुंङ्गा छाप्ने, संकटा मन्दिर वरिपरि ईटा छाप्ने, नागबहालदेखि नायलखुसम्म ईटा छाप्ने, नागबहालमा पार्कलाई व्यवस्थित गर्ने, बाल उद्यान बनाउने, मंगलबजारमा ढल निर्माण गर्ने र सम्पूर्ण चोक,बहाल गल्लीमा सडक बत्ती जडान गर्ने छु।

प्रतिक्रिया दिनुहोस्