भारी बोकेरै मासिक एक लाख कमाउने बृद्धलाई सम्मान



रामधन राई, खोटाङ ।

भारी बोकेको ज्याला बापत दैनिक ३५ सयदेखि पाँच हजार रुपैंयाँसम्म कमाउने खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–६ का ७२ बर्षिय नरबहादुर गुरुङलाई सम्मान गरिएको छ । जिल्ला सदरमुकाम दिक्तेलबजार तथा आसपासमा सामानका भारी ओसारपसार गरेका ज्यालाबापत अपत्यारिलो कमाई गर्ने गुरुङलाई १ सय २९ औं मजदुर दिवसको अवसरमा मंगलबार सम्मान गरिएको हो ।

बृद्घ गुरुङलाई नेपाल ट्रेड युनियन महासंघ(जीफण्ट) पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपाल जिल्ला कमिटिले संयुक्त कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य उषाकला राई, बिशेष अतिथि पूर्ब माननीय दुर्गाजयन्ती राई र जिल्ला समन्वय समितिको प्रमुख बबी चाम्लिङले नगद एक हजार सहित नेपाली टोपी ओढाएर सम्मान गरेका हुन् ।

लामो समयदेखि जिल्लाबासीको सामान तथा भारी ओसारपसार गरि सेवा दिने गुरुङको श्रमलाई बिशेष अवसर पारी सम्मान गरिएको जिफण्ट जिल्ला सचिब प्रकाश पोखरेलले बताउनुभयो ।

एक पटकमा डेढ सय केजीसम्म भारी बोकेर जिल्लामा ‘बलवान’को पहिचान बनाउनुभएको बृद्घ गुरुङले मासिक डेढ लाख रुपैंयाँ समेत कमाई गरी बचत गर्ने गर्नुभएको छ । हरेक समय सामान ओसारपसारमै देखिने गुरुङ आफ्नो बच्चाहरुको साथमा दिक्तेलबजारमै बसोबास गर्दै आउनुभएको छ ।

साथै दिक्तेलबजारमै भारी बोकेर घरपरिवार चलाउँदै आउनुभएको राजन श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

मे दिवसको अवसरमा मजदुर लगायतको र्यालीले सदरमुकाम परिक्रमा गरी स्थानीय समीक्षालय हलमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्