बैतडीमा ११ जना लेखापाल अभाव



विनोद सिंह विष्ट, बैतडी ।
बैतडी जिल्लाभर ११ जना लेखापालको अभाव रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । स्थानीय सरकारको निर्माण भएपश्चात पहिलोपटक यति ठूलो संख्यामा लेखापाल अभाव देखिएको हो । जिल्लाका सरकारी कार्यालय तथा स्थानिय तहमा गरी हाल दरबन्दीभन्दा कम लेखापाल कार्यरत रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयका सह लेखापाल पुर्णानन्द जोशीले जानकारी दिनुभयो ।

जिल्ला भू संरक्षण कार्यालय ,जिल्ला प्राविधिक कार्यालय, सुख्खा फलफुल बिकास केन्द्र, बैतडी जिल्ला अदालत, जिल्ला बन कार्यालय र जिल्ला पशु सेवा कार्यालय लेखापालबिहीन रहेका छन् । यस्तै पाटन नगरपालिका, मेलौली नगरपालिका , पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका ,दोगडाकेदार गाउँपालिकामा पनि लेखापालको अभाव रहेको छ । लेखापाल अभाव रहेका स्थानिय तहहरुमा हाल जिल्लास्थित सरकारी कार्यालयका लेखापालले हेर्दै आएका छन् ।

यसअघि सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका लेखापाल भौगोलिक विकटताले गाउँमा आएर काम गर्न नचाहने कारणले गर्दा दरबन्दीअनुुसारको लेखापाल अभाव रहेको हो । लेखापाल नहुँदा विभिन्न योजनाको निकासा रकम अवरुद्ध हुँदा योजनाका कामहरु प्रभावित हुने गरेका छन् । लेखामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या हुने गरेको छ । बैतडीमा एउटै लेखापालले तीनतीनओटा कार्यालयको लेखा फाँट हेर्नुपर्ने बाध्यता रही आएको छ । एकैजना लेखापालले दुईभन्दा बढी कार्यालयको लेखाफाँट सम्हाल्दा समस्या भएको लेखापालहरुले बताएका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका लेखापाल भाष्करप्रसाद पन्त, कोष, भुसंरक्षण, र जिल्ला प्राविधिक कार्यालय गरी तीन कार्यालयको लेखा फाँट हेर्दे आएका छन् । यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालयकै सह लेखापाल पुर्णानन्द जोशीले कोष,जिल्ला अदालत र सुख्खा फलफुल कार्यालयको लेखा फाँट सम्हाल्नुभएको छ ।

एकै लेखापालले ३÷३ वटा कार्यालयको लेखा फाँट हेर्नुपर्दा कार्यालय समयभन्दा बाहिर पनि काम गर्नुपर्ने बाध्यता रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सह लेखापाल जोशीले बताउनुभयो । बैतडीमा ३५ वटा जिल्लास्थित सरकारी कार्यालय रहेका छन् भने १० वटा स्थानिय तह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्