कुन पहिला ?



बढ्दो हवाइ चापसँगै काठमाडौंको गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँधुरो बन्न थालेको छ। आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान एउटै थलोबाट हुने भएपछि साँघुरो हुनु स्वभाविक हो। तर यो बहस नौलो होइन, डेढ दशक अघिदेखि यो विषय चर्चामा छ।

हरेक पटक नयाँ सरकार गठन भएपछिका पर्यटन मन्त्री गौचरको हवाई चाप घटाउने विकल्प खोजीमा जुट्छन्। काभ्रेका विभिन्न ठाउँ आन्तरिक विमानस्थलको विकल्पका रूपमा चर्चामा थिए, अहिले फेरि दोहोरिएका छन्। पर्यटनमन्त्री अधिकारी नागिडाँडा, ठूलीचौर, चिसापानी ठूली चौरको स्थलगत अवलोकन गरेका छन्। विमानस्थल कहाँ बन्ने भन्ने टुङ्गो अब चाहिँ १५ दिनभित्रैमा लाग्ने रे।

छिटै टुङ्गो लागोस् धरहरा यही चाहन्छ। सरकारले विमानस्थल क्षेत्रको टुङ्गो लगाउने भएपछि अर्को पक्ष झनै दौडधुपमा जुट्या छ। भू–माफियालाई त्यस क्षेत्र आसपासमा रोपनी र आनाको हिसाबकिताब टुङ्गो नलगाई भा छैन। जे होस् मंगलबार मन्त्री अधिकारीको भ्रमणले यो खडेरीमा भू–माफियालाई उर्जा थप्या छ।

अनि अब ठूलीचौर हो कि सानीचौरमा विमानस्थल बन्ने भएसी काठमाडौंबाटै सोझै सुरुङ मार्ग पनि त बन्ने होला नि ? अहिलेकै अरनीको हाईवे र जाम छिचोल्दै विमान चढ्न जाँदा त दिन हैन रात पनि हाईवे मै बिताउनुपर्छ। त्यसैले विमानस्थल पहिले बनाउने कि, सुरुङमार्ग? जवाफ चाहियो।

प्रतिक्रिया दिनुहोस्