१५ दिनभित्र वैकल्पिक विमानस्थलको काम शुरू



दीपेन्द्र थापा, काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप कम गर्न काभ्रेको ठूलीचौर, नागीडाँडालगायतका वैकल्पिक विमानस्थलको सम्भाव्यता अध्ययन शुरू गरिने भएको छ। मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा गएको मन्त्रालयको टोलीले सम्भावित विमानस्थलको स्थलगत अध्ययन गरेको हो।

संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय विमानस्थल अध्ययन गर्न औपचारिक समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने सो आधारमा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने छ। तत्कालीन समयमा भकुन्डेबेंसी चोभार डाँडाको समेत प्रारम्भिक अध्ययन भएको थियो। तर, उच्च भागमा रहेको तथा कुहिरो पनि नलाग्ने भएर पछि सोे क्षेत्रलाई छनोट गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

सन् २०१० मा तयार पारिएको अध्ययन प्रतिवेदनले ठूलीचौरमा रन वे बढाउन जंगल भएकाले वातावरण मन्त्रालयको स्वीकृति लिनुपर्ने, निर्माणस्थलमा बस्ती भएकाले स्थानीयको समर्थन हुनुपर्ने, जियो टेक्नोलोजीको थप अध्ययन गर्नुपर्ने, चट्टान ठूलो मात्रामा रहेकाले उक्त चट्टानमा विस्फोट गर्नुपर्ने तथा चट्टानमाथि र तल बस्ती समेत भएकाले स्थानान्तरण नगरी विस्फोट गर्न नमिल्ने र ठूला विमान उडाउन नसकिने जस्ता समस्या पनि औंल्याइएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारीले सय दिनमा आन्तरिक उडानका लागि साना विमानको व्यवस्थापन गर्नेको लागि उपयुक्त स्थान तोकेर निर्माण कार्यमा जुट्ने बताउनुभयो।

पहिले प्राधिकरणले १२ सय मिटरको रनवे र ३० मिटरको चौडाईमा निर्माण गर्नका लागि ठूलो लगानीको आवश्यकतापर्ने हुँदा काम अगाडि बढ्न सकेको थिएन। विगतमा ८ सय मिटरको रनवे र २० मिटरको चौडाइ भएको विमानस्थल निर्माणका लागि तयारी थालेको भए पनि विमानस्थललको निर्माणको कामले भने गति लिएको थिएन। अहिले भीएफआर लाइटमात्रै राख्ने गरी विमानस्थलको निर्माण हुनेछ। यसका लागि पूर्वसम्भाव्यता अध्ययन (प्रि फिजिबिलिटी स्टडी) गरिसकेको थियो।

प्राधिकरणले निर्माणको लागि अध्ययन गरिरहेको बनेपा नगरपालिका वडा नम्वर ११ र १२ को सिमानामा पर्ने नागीडाँडा विमानस्थल भने ५ सय रोपनी जग्गामा ८ सय मिटरको लम्बाईसहित २० मिटर चौडाईको साना जहाजको उडान अवतरणको लागि विमानस्थल तयार हुनेछ। प्राधिकरणका महानिर्देशन सञ्जीव गौतमका अनुसार ठूलीचौरमा विमानस्थल निर्माण गर्ने हो भने ६० प्रतिशत जग्गा अधिग्रहण गर्नुपर्छ। तर, नागीडाँडामा गर्ने हो भने २० प्रतिशतमात्रै निजी जग्गा अधिग्रहण गरे पुग्ने बताउनुभयो।

दुवै स्थानमा १२ सय मिटरको विमानस्थल निर्माण गर्नका लागि प्रारम्भिक कुल ५ अर्ब रुपियाँ बराबरको खर्च लाग्ने गौतमको भनाइ छ। ८ सय मिटरको विमानस्थल निर्माण गर्ने हो भने साढे ३ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ।

प्राधिकरणले प्रारम्भिक सम्भाव्यता अध्ययनको रिपोर्टअनुसार नागीडाँडामा विमानस्थल निर्माणका लागि २१ मिटरसम्म जमीन कटान गर्नुपर्छ भने ठूलीचौरमा विमानस्थल निर्माण गर्ने हो भने ५० मिटरसम्म जमिन कटान गरी ४ सय ५७ हजार क्यूविक मिटर मोटो भर्नुपर्ने छ। यसअघि पाँचखालमा विमानस्थल बनाउने भनिए पनि प्राविधिक रूपमा अप्ठरो पर्ने निश्कर्ष निकालिएको थियो। दैनिक ४ सय वटासम्म उडान भर्ने त्रिभुवन विमानस्थलको ३५ प्रतिशत साना विमानले पहाडी क्षेत्रमा केन्द्रित भएर उडान भर्दै आएका छन्। नयाँ विमानस्थल काठमाडौं आसपासमा निर्माण गर्न सकेमा हालको त्रिभुवन विमानस्थलको चाप कम भएर जाने प्राधिकरणको अनुमान रहेको छ।

प्रतिक्रिया दिनुहोस्