वाणिज्य बैंकहरूको नाफा ९ महिनामा ३६ अर्ब



नेपाल समाचारपत्र
काठमाडौं
बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका बाबजुत पनि वाणिज्य बैंकहरूको नाफा बढेको देखिएको छ। तरलता अभावका कारण वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा नियन्त्रण गरे पनि चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ३६ अर्बभन्दा बढी खुद मुनाफा देखिएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा वाणिज्य बैंकको मुनाफा १६ दशमलव २६ प्रतिशतले बढी हो। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैत महिना सम्मको वित्तीय विवरणअनुसार अधिकांश बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा नाफा बढेको देखिएको छ। सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाण्ज्यि बैंक रहेको छ। उक्त बैंकको नाफा ३ अर्ब ८ करोड ५० लाख रुपियाँ पुगेको छ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको २ अर्ब ८३ करोड ५४ लाख र नविल बैंकको २ अर्ब ७९ करोड ९३ लाख रुपियाँ खुद मुनाफा देखिन्छ। गत वर्षको सोही अवधिसम्मको तुलनामा सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक (एनसीसी) ले २ सय २४ दशमलव ५४ प्रतिशतले नाफामा वृद्धि गरेको छ। तर, अन्य बैंकसँगको नाफाको तुलनामा भने एनसीसी बैंक पुछारमा देखिएको छ। ४ वटा कम्पनीको मुनाफा २ अर्ब रुपियाँभन्दा बढी देखिन्छ। २ अर्ब बढी नाफा कमाउनेमा नेपाल बैक लिमिटेड पनि रहेको छ। १५ वटा बैंकको मुनाफा एक अर्ब रुपियाँ भन्दा बढी रहेको छ।

चुक्ता पूँजी
चुक्ता पूँजीका आधारमा कृषि विकास बैंक १३ अर्ब ९३ करोड ७९ लाख रुपियाँसहित अग्रस्थानमा देखिएको छ। त्यसैगरी १० अर्ब ६४ करोड ५५ लाख रुपियाँ चुक्ता पुँजीसहित नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो र ८ अर्ब ८८ करोड रुपियाँ चुक्ता पुँजीसहित ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा रहेको देखिन्छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्धारित चुक्ता पुँजी पुर्याउने समयसीमा गत साउनबाट बढाएर चालू आर्थिक वर्षको चैत मसान्तसम्म पुर्याए पनि यस अवधिसम्म पनि केही बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छैनन्। ६ वटा वाणिज्य बैंकहरूले अझै चुक्ता पुँजी ८ अर्ब रुपियाँ पुर्याउन सकेका छैनन्।

चालू आवको तेस्रो त्रैमासमा चुक्ता पुँजीको हिसाबले सबैभन्दा कमजोर नेपाल क्रेडिट एन्ड कमर्सियल देखिएको छ। यस बैंकको हालसम्म ४ अर्ब ६७ करोड रुपियाँ मात्र चुक्ता पुँजी रहेको छ। एनसीसीसहित कुमारी बैंक, एनएमबि बैंक, सिभिल बैंक, बैंक अफ काठमाडौं र मेगा बैंकले समेत ८ अर्ब चुक्ता पुँजी पुर्याउन सकेका छैनन्। अन्य २२ वटा वाणिज्य बैंकले भने ८ अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन सफल भएका छन्।

खराब कर्जा
तेस्रो त्रैमासिक विवरण अनुसार वाणिज्य बैंकहरूको खराब कर्जा घटाउँदै लगेको देखिएको छ। सामान्यतया बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा उक्त संस्थाको वित्तीय अवस्थालाई जोखिमयुक्त रहेको मानिन्छ। तर, नौ महिनाको अवधिमा कुनै पनि वाणिज्य बैंकका जोखिमयुक्त कर्जा ४ प्रतिशतभन्दा बढी रहेको देखिँदैन। सबैभन्दा बढी खराब कर्जा एनसीसी बैंकको रहेको देखिन्छ। एनसीसी बैंकको खराब कर्जा ३ दशमलव ३ दशमलव ९७ प्रतिशत रहेको छ। त्यसैगरी खराब कर्जा उच्च देखिएका बैंकहरूमा सिभिल बैंकको ३ दशमलव ७४ प्रतिशत, कृषि विकास बैंकको ३ दशमलव ४९ प्रतिशत, र प्रभु बैंकको ३ दशमलव ९ प्रतिशत रहेको देखिन्छ।

जगेडा कोष
वाणिज्य बैंकहरूमध्ये जगेडा कोषमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको रहेको छ। यस बैंकले जगेडा कोषमा १० अर्ब ९१ करोड ९८ लाख रुपियाँ राखेको छ। त्यस्तै कृषि विकास बैंकको ८ अर्ब ९६ करोड रुपियाँ र नबिल बैंकको ८ अर्ब ८१ करोड रुपियाँ रहेको छ। जगेडा कोषमा सबैभन्दा कम सेञ्चुरी बैंकको १ अर्ब २१ करोड रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्