संगीत उत्पादक समाजमा अविश्वास



संगीत रोयल्टीसम्बन्धी संस्थामध्येको एक संगीत उत्पादक समाज नेपालको नयाँ कार्यसमितिप्रति अविश्वासको प्रस्ताव पेश गरिने भएको छ। यसबारे मंगलबार राजधानीमा भएको भेलाले ६६ सदस्यको हस्ताक्षर गर्दै सो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

भेलामा एकनारायण भण्डारीले प्रस्ताव वाचन गरेका थिए भने सुवास रेग्मीले त्यसमाथि प्रकाश पारेका थिए। भेलाले हाल कार्यसमितिमा निर्वाचित भएका भनिएका अधिकांश पदाधिकारी तथा सदस्य निवर्तमान कार्यसमितिमा पनि रहेको र कार्यसमितिले हालसम्म संस्थाको रोयल्टी संकलन तथा वितरणसम्बन्धी मापदण्ड प्रस्ताव गरी सदस्यबीच छलफलका लागि नल्याएको, निर्वाचनलाई प्रभावित गर्ने र संस्थामा अनाधिकृतरूपमा कब्जा जमाउने गलत मनसायबाट प्रेरित भई संस्थाको विधानबमोजिम संगीत उत्पादक भएको प्रमाण खोज्नुपर्ने प्रावधानलाई बेवास्ता गरी पारिश्रमिक बुझेको कर कट्टीको ईटीडीएस बुझाउने प्रयोजनका लागि लिइएको व्यक्तिगत ईपानका आधारमा सदस्यता प्रदान गरी तिनै मतका आधारमा निर्वाचित भएको, व्यक्तिगत सदस्यको हकमा आफैं उपस्थित भएरमात्र मतदान गर्न पाइनेमा अनाधिकृत र फर्जी मतदाता खडा गरी मतदान गराइएको जस्ता कारणले अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गर्यो।

संस्थाले वितरण गर्दै आएको रोयल्टी अधिकांश सदस्यले यो कार्यसमितिबाट बुझ्न इन्कार गर्दै आएको, आरवीटीको रोयल्टीमध्ये कार्यसमितिमा निर्वाचित पदाधिकारी एवं सदस्यको प्रतिनिधित्व गर्ने कम्पनीले करिब १० प्रतिशत र अविश्वासको प्रस्तावको पक्षमा सहीछाप गर्ने सदस्य कम्पनीले प्राप्त गर्ने रोयल्टी रकम करिब ९० प्रतिशत रहेको अनुपात हेर्दा बहुमतको आर्थिक अधिकारमाथि अल्पमतले गर्ने निर्णयमा बहुमत सदस्यको हक अधिकारको प्रतिनिधित्व अल्पमतले गर्न नसक्ने कार्यक्रमका वक्ताहरूले बताए।

‘एकातिर संस्था स्थापनाका बखत संस्थापक महासचिवको प्रतिनिधित्व गर्ने कम्पनीको करचुक्ता प्रमाणपत्र नभएका आधारमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयबाट सो पद रिक्त राखी संस्था स्थापना भएको हाम्रो संस्थाको इतिहास छ भने अर्कोतिर संस्थाको सदस्यता लिन तथा नवीकरण गर्नका लागि संस्थाबाट प्रकाशित सूचनामा समेत करचुक्ताको प्रमाणपत्रसहित आह्वान गरिएकामा आफूअनुकूल हुनेगरी सदस्यता विस्तार एवं नवीकरण गरी एकलौटी निर्वाचनबाट निर्वाचित कार्यसमितिले सदस्यको हक हितको संरक्षणको कार्य गर्न सक्दैन भन्ने ठहर गरी यो अविश्वासको प्रस्ताव पेश गर्न गइरहेका छौं। कार्यक्रममा सुवास रेग्मीले भने।

गत चैत्र २३ गते भएको निर्वाचनमा गैर सदस्यले मतदान गरेपछि सो संस्थामा विवाद शुरू भएको थियो। असम्बन्धित महिला मतदानमा सहभागी भएको अध्यक्षका उमेद्वार रेग्मीले पत्ता लगाएका थिए। सो विषयमा विवाद भएपछि रेग्मी समूहले चुनाव बहिस्कार गरेको थियो। यस विषयमा छानबिनका लागि प्रतिलिपि रजिस्ट्रारको कार्यालयमा निवेदन दिएपनि निकास नभएपछि रेग्मी पक्षले ६४ जना उत्पादक सदस्यको समर्थनमा उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ भने अदालतले प्रतिलिपि रजिस्ट्रारको कार्यालयलाई छनबिन नगर्नुको कारण माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्