पर्यटन क्षेत्रको विकास गर्न पूर्वाधारको खाँचो, पर्यटक लोभ्याउने गुप्तेश्वर गुफा



सुरेश तामाङ

घना वन अनि ठाडो उकालो सिँढी बिछ्याइएको बाटो, दायाँ–बायाँ फुलेका लालिगुराँस, जमानेमान्द्रो बुटी, सुनगाभा, जाहीजुही। यस्ता अत्यन्तै मनमोहक दृश्यले उकालो लागेका जो–कोहीले ८ किलोमिटरको ठाडो बाटो डेढ घण्टामा उक्लिएको भेउसमेत पाउँदैनन्।

घना जंगल पार गर्दै समतल डेढ⁄दुई सय जना अट्ने चौर भेटिन्छ। चौरमै झुप्रो पाटी देख्न सकिन्छ भने खानेपानीको ट्यांकी पनि त्यसैमा जोडिएको छ।
त्यही चौरमै एउटा बूढो रुख छ। बूढो रुखकै फेदमा मान्छे छिर्न मिल्ने खाले प्वाल प्रस्टै देख्न पाइन्छ। हो, उही बूढो रुखको फेदमा रहेको प्वाल नै गुप्तेश्वर महादेवको मन्दिर रहेको गुफाको प्रवेशद्वार हो।

‘यही गुफाभित्र बसेर महादेवले ध्यान गर्नुभएको थियो’, मन्दिरका पुजारी कृष्ण नगरकोटीले भन्नुभयो– ‘हिमालमा ध्यान गर्ने क्रममा राक्षसले लखेट्दा लखेट्दै भागेर यही गुफामा लुकी बसेर ध्यान गर्नुभएको कथा छ।’

हिन्दू धर्मअन्तर्गत परापूर्वकालमा भस्मेश्वर राक्षसले महादेवलाई लखेट्ने क्रममा भाग्दाभाग्दै यही ओडारमा आई गुप्तबास बसेका थिए। यसरी ईश्वर गुप्त भएको ठाउँलाई गुप्तेश्वर भनिएको किम्वदन्ती छ।

गुफाभित्र प्रवेश गरेलगत्तै गणेशको शीर, गाईको थुनलगायत अनौठा आकृतिहरू देख्न सकिन्छ। करिब ५० मिटरमुनि गुफाभित्र गुप्तेश्वर महादेवको मन्दिर छ। गुफाभित्र धर्मढोका रहेको र पापी त्यस ढोकाबाट भित्र जान सक्दैनन् भन्ने विश्वास गरिन्छ। केही मानिस अपत्यारिलो ढंगले त्यो ढोकामा अड्किएको स्थानीय बताउँछन्।

यस गुफाको फेदीमा बगेको नौखण्डे खोलामा स्नान गरी गुप्तेश्वर महादेवलाई दूध चढाए जस्तोसुकै संकटसामु पनि जोगिन सकिने विश्वास छ।

‘बालबच्चा, महिला, पुरुष वृद्धवृद्धाहरू मनोआकांक्षा पूरा गर्न विभिन्न ठाउँबाट आउने गर्छन्’, मन्दिरका पुजारीले भन्नुभयो– ‘गुफामा छिरेर भगवान्को पूजा गरी निस्केपछि मन आनन्द भयो भन्ने सुन्छु।’

यहाँ एकपटक पाइला टेकेमा मात्रै चिताएको पूरा हुने भन्दै उहाँले भन्नुभयो– ‘प्रायःजसो एकपटक आएर भगवान्सँग केही मागेर जानुहुन्छ। आफूले चिताएको पुगेपछि फेरि भगवान्लाई धन्यवाद दिन आउनुहुन्छ भक्तजन।’
यस्तो किम्वदन्ती बोकेको ठाउँ ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–५ भारदेउमा रहेको गुप्तेश्वर महादेव मन्दिरको गुफाको हो।

गुप्तेश्वर गुफा पुग्न गुफाको फेदीमा रहेको भारदेउको पौवाचौर हुँदै पूर्वी दिशातर्फ जंगलको बाटो लाग्नुपर्ने हुन्छ। लगनखेलबाट डेढ घण्टाको सवारी यात्रापछि भारदेउको पौवाचौर पुग्न सकिन्छ।

समुन्द्र सतहदेखि २ हजार ५ सय १८ मिटरको उचाइमा अवस्थित यस गुफाभित्र प्रवेश गरिसकेपछि अक्सिजन नपुग्ला कि भन्ने पिरालो हुन्न। सजिलोसँगै श्वास–प्रश्वास गर्न सकिन्छ। महाभारत शृंखलाको घना जंगलको बीचमा चट्टानी पहरोले बनेको यस गुफा आसपास करिब २० देखि ९ डिग्री सेन्टीग्रेडसम्मको तापक्रम पाइन्छ।

विविध आकर्षण र धार्मिक महत्त्वका कारण टाढादेखिका भक्तजनको यहाँ भीड लाग्ने गर्दछ। प्रायः यहाँ वर्षको १ पटक वैशाख पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ।

माघे संक्रान्तिमा पनि उत्तिकै मेला लाग्ने गर्दछ। यहाँ मेला हेर्न दक्षिण ललितपुरका भक्तजनका साथै काठमाडौं उपत्यकालगायत विदेशी पर्यटकसमेत आउने गर्दछन्।

ललितपुर टाहाखेलकी ५६ वर्षीय गोमा चौरेललाई पनि भक्तका रूपमा गुप्तेश्वर पुगेर फर्किंदै गरेको अवस्थामा बाटोमा भेटियो। उहाँले आफू जिन्दगीमा पहिलोपल्ट गुप्तेश्वर महादेवको दर्शन गर्न पाएको भन्दै भन्नुभयो– ‘जीवनमै पहिलोपल्ट भगवान्को दर्शन गर्न पाइयो। मनै हलुका भएको छ।’

आफूले इच्छाएको पूरा हुनेमा उहाँ पूर्ण विश्वस्त हुनुहुन्छ। उहाँले भन्नुभयो– ‘योभन्दा धेरै वर्ष पहिला आउनेहरूले पनि आफूले इच्छा गरेको पाएको सुन्छु। मैले पनि पाउने विश्वास छ।’

यहाँ हिन्दु र बौद्ध धर्मभिक्षुहरू, लामा र झाँक्रीहरू अन्तरध्यान र दैवीशक्ति प्राप्तिको आकांक्षासहित गुप्तेश्वर महादेवको दर्शन गर्न जाने गरेको पाइन्छ।
विष्णुका १० अवतारमध्ये १ अवतार बुद्ध भएकाले बौद्ध धर्मावलम्बीले पनि महादेवलाई बुद्धकै रूप मानेको हुनाले यो मन्दिरप्रति हिन्दु र बुद्ध धर्मवलम्बीको समान आस्था पाइन्छ।

परापूर्वकालदेखि नै यस मन्दिरमा वर्षको २ पटक विशेषखाले मेला लाग्ने गरे पनि यसलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नु आवश्यक रहेको जानकारहरू बताउँछन्।

भारदेउको समग्र विकासका लागि यस मन्दिरलाई विभिन्न कोणबाट विकास र विस्तार गर्नुपर्ने वडा अध्यक्ष सुवीन्द्र बलले बताउनुभयो। उहाँले भन्नुभयो– ‘यस भेगको समग्र विकासका लागि गुप्तेश्वर मन्दिरलाई संरक्षण गरेर प्रचार–प्रसार गर्नुको विकल्प छैन।’

उहाँले वडाको समग्र विकास गर्न विभिन्न योजना बनेकाले सिलसिलाबद्धरूपमा विकास हुने बताउनुभयो। ‘हामीले योजनाहरू बनाइसकेका छौं। अब योजनाबद्ध भएर विकास गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘हामीले पर्यटनलाई प्रमुखताका साथ राखेका छौं।’

यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने गुप्तेश्वर मन्दिर जस्तै धेरै कुरा रहेको छ। सुन्दर रमणीय ठाउँ भारदेउ पर्यटकको आकर्षक गन्तव्य हो। अर्गानिक तरकारी, धार्मिक, पौराणिक मन्दिर, पौवा, गुम्बा, पुरातात्त्विक वस्तु, हाइकिङ गर्ने स्थल यहाँ रहेको छ।
प्राङ्गारिक तरकारीहरू प्रसस्तै उब्जाउ हुने यस भेगमा उत्पादित तरकारीको त्यहाँ खुलेका होमस्टेमा बसेर तपार्इं स्वाद लिन सक्नुहुन्छ। स्वाद लिने क्रममा तपाईंले लोकल गुन्द्रुक, लोकल भाले, लोकल सुकुटी, ट्राउट माछा, ढिडोको समेत स्वाद लिन सक्नुहुन्छ।

यसरी पुग्न सकिन्छ भारदेउ लगनखेलदेखि चापागाउँ दोबाटो–सुनाकोठी–ठेचो–चापागाउँ–टीकाभैरव–लेले–नल्लु भएर २४ किलोमिटरको दूरी पार गर्दै भारदेउ पुग्न सकिन्छ। भारदेउसम्म कालोपत्रे सडकको सुविधा पनि ६ वर्षअघि नै पुगिसकेको छ। लगनखेलबाट डेढ घण्टाको सवारी यात्रापछि भारदेउ पुग्न सकिन्छ।

गुप्तेश्वर गुफाका आकर्षणहरू
कोलाहल, धूलो–धूवाँ छल्न शान्ता र स्वच्छ वातावरण विकल्प हुन सक्छ।
पौवाचौरदेखि गुप्तेश्वर मन्दिरसम्म छोटो हाइकिङ गर्न सकिन्छ।
विभिन्न चराको आवाज सुन्न पाइन्छ।
वरपर फुलेको फूलले अनुपम आनन्द दिन्छ।
गुप्तेश्वर क्षेत्रबाट वरपरको स्थानका साथै तराई क्षेत्रसमेत प्रस्टै देख्न सकिन्छ।
गुफाभित्र गएर ध्यान गर्न सक्नुहुन्छ।

गुप्तेश्वर गुफा क्षेत्रमा सुधार्नुपर्ने
पदमार्गमा रहेको सिँढी बाटो मर्मत गर्नुपर्ने
सिँढी बाटो र मन्दिर क्षेत्रमा क्षति नपुग्ने गरी मोटरबाटो लैजाने व्यवस्था गर्नुपर्ने
पिकनिक स्पट र खानेपानीको व्यवस्था गर्नुपर्ने
बिजुलीको व्यवस्थापन गर्नुपर्ने
मेलाका बेलामा मन्दिरमा सुरक्षा गार्डको व्यवस्था गर्नुपर्ने
लोकेसन म्यापको व्यवस्था गर्नुपर्ने

प्रतिक्रिया दिनुहोस्