अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको आज अन्तिम दिन



नेपाल समाचारपत्र
काठमाडौं
राजधानीमा जारी १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा सोमबारसम्म प्रत्यक्ष अप्रत्यक्ष झण्डै १० करोड रुपियाँबराबरको कारोबार भएको छ। सोमबारसम्म मेलामा एक लाख ४० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन्। मेलामा सोमबार मात्रै तीन करोड रुपियाँको कारोबार भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा शुरू भएको थियो। सोमबार मेलामा पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरीप्रभा खड्गलगायतले अवलोकन गर्न पुगेका थिए।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ मंगलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ। स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरूलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो।

तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि–आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रूपमा रहने मेला संयोजक मोहन कटवालले बताउनुभयो।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ। २५० वटा स्टलको व्यवस्था रहेको सो प्रदर्शनीमा दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र सात करोडभन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले गरेको छ।

प्रतिक्रिया दिनुहोस्