सीधा र रमाइलो स्वभावका किम कठोर शासक बन्नपुगे



बेइजिङ, (एजेन्सी)
अमेरिका र उनका सहयोगी देशहरूका लागि सबैभन्दा टाउको दुखाइ बनेका देशहरूको सूचीमा सम्भवतः प्रथम स्थानमा उत्तर कोरिया नै होला । तर, समयले कोल्टे फेरिसकेको छ । शुक्रबार उत्तर कोरियाका सर्वोच्च नेताले दक्षिण कोरियाको ऐतिहासिक भ्रमण गरी विश्वमाझ आफू शान्तिका पक्षमा रहेको अद्भूत छवी प्रदर्शित गरे ।

विगत केही वर्षमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदाय विशेष गरी अमेरिकाको चिन्ता तथा मागलाई बेवास्ता गरी क्षेप्यास्त्र तथा परमाणु परीक्षण गर्दै रहे । अमेरिकी पहलमा उमाथि कडा भन्दा कडा प्रतिबन्ध लगाउने क्रम पनि जारी र≈यो । तर, प्योंगयांगले अमेरिकाको भूमिसम्म प्रहार क्षमता राख्ने अन्तरमहाद्वीपीय क्षेप्यास्त्रसँगै शक्तिशाली हाइड्रोजन बमको सफल परीक्षण गर्दै आफ्नो सुरक्षा मजबुत बनाउने लक्ष्य हासिल गरी छाडे ।
एउटै परिवार भएपनि टुक्रिएको दक्षिण कोरियाको सुरक्षाका नाममा अमेरिका उत्तर कोरियाको आगनमै आएर लगातार सैन्य अभ्यास गरिरहन्छ । अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यासको माध्यमबाट विश्व र विशेषगरी उत्तर कोरियालाई आफ्ना शक्तिशाली हतियार क्षमता प्रदर्शन गरिरहेका हुन्छन् । उनीहरू सम्भावित कोरियाली युद्ध आफ्नो पक्षमा पार्ने कसरत गर्दै आइरहेका छन् ।

यसको विरोधमा उत्तर कोरियाले उठाएका आवाजलाई सोल र वासिंगटनले कहिल्यै महङ्खव दिएन । उनीहरू आफ्नो सैन्य अभ्यासलाई आक्रामक नभएर सुरक्षात्मकमात्र भएको बताउँछन् । जसको फलस्वरुप कुनै बेला परित्याग गर्ने मनसायसमेत राखेकोे परमाणु हतियार विकास कार्यक्रमलाई सन् १९९० दशकको उत्तराद्र्धमा उत्तर कोरियाले निरन्तरता दिए । हालैका वर्षमा उसले आफ्नो लक्ष्य हात पार्दै दक्षिण कोरिया र अमेरिकालाई दबाबमा राख्न सफल भए ।

उत्तर कोरियाले हासिल गरेको पछिल्लो सैन्य शक्ति उपलब्धिका लागि देशका युवा नेता किम जोंगकै नेतृत्व जिम्मेवार हो । सन् २०११ मा पिता किम जोंग इलको निधनपछि सत्तामा पुगेका किम छोटो अवधिमा आफ्नो कठोर शासन शैलीको छाप छाड्दै देश सुरक्षाका लागि आफू कटिबद्ध र सक्षम भएको प्रमाणित गर्न सफल बने ।

आफूले सत्ता सम्हालेको ७ वर्षपछिमात्र किम पहिलो विदेश भ्रमणका क्रममा केहीदिन अगाडि गोप्यरुपमा चीन पुगेको समाचार विश्वमा सबैभन्दा चर्चाको विषय बन्यो । उनको यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता कार्यक्रम घोषणा पछिको हो । यसअघि प्रत्यक्ष वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारेर विश्वलाई चकित पारेको थियो । कोरियाली प्रायद्वीपको विभाजनपछि कुनै पनि अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग गर्न लागेको यो पहिलो भेटवार्ता हो । यद्यपी वार्ता मेमा हुने भनिए पनि कहाँ र कुन तिथिमा हुने भन्ने तय भएको छैन ।

किमको सिधा र ठट्यौलो स्वभाव

किम जोंग उनको गणना विश्वका खतरनाक तानाशाहमा हुने गरेको छ । यद्यपी स्विजरल्यान्डमा उनीसँगै पढेका साथीहरू किम बच्चामा अत्यन्त सिधा र सोझो विद्यार्थी भएको बताउँछन् ।

सञ्चार माध्यमका अनुसार किम जोंग उनको जन्म १९८२ मा भएको थियो । तर, अमेरिको टे«जरी डिपार्टमेन्टले उनको औपचारिक जन्मदिन सन् १९८४ जनवरी ८ को मिति दर्ता गरेको छ ।

किमले स्विजरल्यान्डमा कोरियाली दूतावासका कर्मचारीका छोराका रुपमा ‘पाक उन’को नामले शिक्षा हासिल गरेका थिए । अंग्रेजी माध्यमको उक्त अन्तराष्ट्रिय स्कुल बर्न नजिकै गम्लिगेनमा अवस्थित छ ।

किमका पूर्व सहपाठीहरू किम अत्यन्तै सीधा केटा भएको र ऊसँग हँसाउन सक्ने अद्भूत क्षमता भएको बताउँछन् । एकजना पूर्वसहपाठी माइक्रो इम्होफका अनुसार किम अत्यन्तै ठट्टा गर्न रुचाउने रमाइलो स्वभावका थिए । सबैसँग उसको व्यवहार समान हुन्थ्यो, चाहे त्यो बच्चा शत्रु देशकै किन नहोस् ।
अर्का एक सहपाठीले जर्मन अखबार वेल्स एम सन्टाय्गलाई किमको राजनितिक चेतनाका विषयमा कुनै विशेष चासो नभएको बताएका थिए ।

त्यतिबेला स्कुलमा राजनीतिशास्त्र भनेको पढ्नै नहुने विषय जस्तो बनेको उनले बताएका थिए । त्यतिबेला उनीहरूले राजनीति नभएर फुटबलको विषयमा मात्र बहस गर्न पाउँथ्यो ।

किम बच्चै बेलादेखि मोटो थिए र उचाइ ५ फिट ६ इन्चको थियो । तर पनि उनी बास्केटबलका राम्रो खेलाडीमा पर्थे । माइकल जोर्डन उनको आइडियल थिए ।
स्विजरल्यान्डमा स्कुल शिक्षा पूरा गरेपछि किम उत्तर कोरिया फर्के र त्यहाँ आफ्नो दाइसँग किम जोंग नामसँग किम इल सुंग मिल्ट्री युनिभर्सिटीमा भर्ना भएका थिए । केही समाचारले किमले सन् २००७ देखिनै आफ्ना पिताको सैन्य क्षेत्रको निरीक्षण थालिसकेको उल्लेख गरिएको छ ।

किमका विषयमा मात्र होइन, उत्तर कोरियामा उनका पुर्खा पिता तथा बाजेका विषयमा पनि धेरै हल्लाहरू बाहिर आउने गरेका छन् । किम जोंग उनको अनुहारलाई लिएरपनि त्यस्तै हल्ला चल्ने गरेको छ । उनको अनुहार, कपाल र हाउभाउ दुरुस्त उनको हजुरबुबा किम इल सुंगको जस्तो छ । उनले यो स्वरुप पाउन प्लास्टिक सर्जरीसमेत गरेको हल्ला चलेको थियो । तर यसको पुष्टि भने हुन सकेन ।

सन् २०११ डिसेम्बर १७मा किम जोंग इलको हृदयघातबाट मृत्यु भएपछि किमले पुख्र्यौली बागडोर सम्हालेका हुन्। आफ्ना दाजु किम जोंग चोल भएपनि उनलाई देशको जिम्मेवारी प्राप्त भयो । त्यतिबेला किमको उमेर मात्र ३० वर्ष थियो । उनी विश्वकै सबैभन्दा कम उमेरका शासक बनेका थिए ।

तानाशाह किमको क्रुरता
किम जोंग उनकी फुपू किम क्योंग हुइ र फुफाजु जांग संग तायक उसको सबैभन्दा विश्वासिला सल्लाहकार मध्येका एक थिए । धेरैजसो कार्यक्रममा उनीहरू किमसँगै बसेको देखिन्थ्यो । तर किमले उनलाई पनि छोडेनन् । सन् २०१३ मा किमले फुफाजु जांगलाई सत्ता विद्रोहको तयारी गरेको आरोपमा मृत्युदण्ड दिइयो । पछि उनको परिवारकै हत्या गरेको समाचार बाहिर आएको थियो । यद्यपी यसको पुष्टि भने हुन सकेका छैन । किममाथि आफ्ना कैयौं वरिष्ठ कर्मचारीको हत्या गरेको आरोप छ ।


चियरलिडर एवं गायिकासँगको विवाह
किम जोंग उन प्राय कार्यक्रममा पत्नी री सोल जुसँगै देखिने गरेको पाइन्छ । उत्तर कोरियाकै समाचार माध्यमका अनुसार किमले पूर्व चियरलिडर तथा गायिकासँग विवाह गरको हो । यद्यपी यो विवाह कहिले भयो भन्ने प्रष्ट छैन ।
दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार उनीहरूको विवाह सन् २००९ मा भएको हो र उनीहरूको १ छोरी पनि छ । सन् २०१२ मा दास्रो सन्तान जन्मेको हल्ला फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्