नुवाकोटबाट थपिँदै २२८ मेगावाट विद्युत् , समयमा काम पूरा गर्न मन्त्रीको निर्देशन



नेपाल समाचारपत्र, काठमाडौं ।
आगामी एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको अगुवाईमा रसुवा र नुवाकोटमा २२८.३ मेगावाट क्षमताका आयोजनाको निर्माण तीव्र पारिएको छ । नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र चिलिमेको मुख्य प्रवद्र्धकत्वमा १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको निर्माण तीव्र पारिएको हो ।

भूकम्प, बाढीपहिरो र नाकाबन्दीका कारण सबै आयोजनाको निर्माण प्रभावित भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले शुक्रबार, शनिबार र आइतबार स्थलगत निरीक्षण गरी निर्माणाधीन आयोजनाको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले यसका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएको छ भने ठेकेदार कम्पनीहरुले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग आयोजनास्थलमै निर्माणमा देखिएका समस्या र समाधानका उपायका बारेमा छलफल गरेको थियो । मन्त्री पुनले भूकम्पछि तयार गरिएको नयाँ समय तालिकामा आयोजनाको निर्माण जुनसुकै अवस्थामा पनि सक्न निर्देशन दिनुभयो ।

‘सबै आयोजनामा तोकिएकै समयमा निर्माण सकिन्छ तर यसका लागि यस्तो त्यस्तो हुनुपर्छ भन्ने गरेको पाइन्छ’, उहाँले भन्नुभयो–‘अब तर भन्न पाइदैन, आयोजनास्थलका समस्या यही समाधान गर्नु होस्, मन्त्रालय तहबाट समाधान गर्नुपर्ने समस्या भए भन्नुहोस् त्यसलाई तत्काल समाधान गर्न हाम्रो टिम सधैं तयार छ, तालिकका अनुसार नै काम सकी नमुना आयोजनाको रुपमा अगाडि बढाऔं ।’

नेपाल सरकार, प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा बनिरहेको माथिल्लो त्रिशूली ३ ‘ए’को निर्माण वैशाख २०७६ (३० अप्रिल २०१९) भित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाले निर्माण गरिरहेको त्रिशूली ३ ‘ए’ मातातीर्थ २२० केभी प्रसारण लाइनको एक सय ४२ वटा टावरमध्ये स्थानीयको अवरोधका कारण पाँच टावरको काम नै शुरु गर्न नसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताउनुभयो । लागत सय समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी)लाई जिम्मा दिइरहेको छ । समयमा निर्माणस्थल दिन नसक्दा, विद्युत् गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय, भूकम्पलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

अहिले ठेकेदार कम्पनीको काम विगतमाभन्दा सन्तोषजनक रहेको र तोकिएकको समय अगावै सक्ने गरी काम भइरहेको जोशीले बताउनुभयो ।

रसुवागढीको समग्र निर्माण प्रगति ६० प्रतिशत छ । आयोजनाले २०७६ साल पुस १५ देखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । आयोजनाका विद्युत् जोड्नका लागि चिलिमे हब–त्रिशूली ३ ‘बी’ प्रसारणलाइन हबको निर्माण हुनुपर्छ । रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले प्रसारणलाइन अभावमा विद्युत् खेर आउन नदिन सबै सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले परामर्शदाता र ठेकेदार कम्पनीलाई विदेशी मुद्रा भुक्तानीका लागि सटही प्रक्रिया ज्यादै झन्झटिलो रहेकाले यसलाई सहज बनाइदिन आग्रह गर्नुभयो ।

माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमशः ७० र ६० प्रतिशत छ । सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मुख्य सिभिल संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेको बताउनुभयो । प्रसारणलाइनको निर्माण गर्न सरकारी जग्गा र वन क्षेत्रको रुख काट्ने स्वीकृतिका लागि सरकारी प्रक्रिया अत्यन्त झण्झटिलो रहेको उहाँले जानकारी गराउनुभयो । आयोजनाले विद्युत् गृहबाट चिलिमे हबसम्म १३२ केभीको ७ किलोमिटर प्रसारणलाइन बनाउनुपर्छ ।

माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नुपर्ने चिलिमे हब–त्रिशूली ३ ‘बी’ २२० केभी प्रसारण लाइनसँग समन्वय गरी काम अगाडि बढ्नुपर्ने रहेकाले उक्त प्रसारणलाइन निर्माण हुने अवधि जुन—जुलाई २०१९ सम्म यस आयोजनाको पनि निर्माण कार्य सक्ने गरी निर्माण कार्य अगाडि बढाइएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्