४ बर्ष पछि बुवा भेट्न पाइन कमलाले, बच्चा पढाउने जिम्मा नेपालले लिए



धनवीर दाहाल, रुकुम ।
रुकुम मुसिकोट नगरपालिका २ की २७ बर्षिया कमला चन्द २०६६ भदौ २४ गते सुत्केरी व्यथा लागेपछि रुकुम जिल्ला अस्पताल सल्लेमा उपचारार्थ भर्ना भएकी थिइन् । उनलाई जिल्लामा उपचार गर्न सक्ने अवस्था नभएपछि समस्या परेको थियो ।

प्रधानमन्त्रीको हैसियतले कामको शिलसिलामा सदुरपश्चिम गएका माधवकुमार नेपाल बिमानस्थल नेपालगंजमा आएको बेला रुकुमबाट एमाले नेता खेममान खडकाले चन्दको अवस्थाका बारेमा बताएपछि नेपाली सेनाको हेलिकप्टर लिएर माधव नेपाल रुकुम आएका थिए । सरकारी कामको सिलसिलामा सुदुरपश्चिम गएका त्यो समयका प्रधानमन्त्री नेपाल रुकुमकी कमला चन्दको अवस्था दयनिय भएको र जहाज पनि नभएको तथा अन्य कुनै साधन नभएको थाहा पाएपछि तत्कालै रुकुम आई कमलालाई आफुसँगै काठमान्डौ लिएका थिए ।

बच्चा बाँच्न सफल नभएपनि कमलाको ज्यान बचेको थियो । उनै कमला चन्दले रुकुममा शोमबार एक छोरी र एक छोराको साथ माधवकुमार नेपालसँग भेटिन । एक कार्यक्रममा रुकुम आएका नेपालले कमलाको अवस्थाको बारेमा चासो लिएका थिए । नेपालसमाचारपत्रकर्मी धनवीर दाहालसँग कमलाको घरको अवस्था बारे जानकारी उनले लिएका थिए । उनलाई भेटाईदिन आग्रह गरेपछि समाचारपत्रकर्मी दाहालले कमलासँग भेटघाटको वातावरण मिलाएका हुन् ।
कमलाले पनि नेता नेपाल रुकुम पुगेको थाहा पाएपछि बुवा लाई (माधव नेपाल)लाई भेटाईदिन आग्रह गरेकी थिइन् । आफुलाई बचाएकोमा उनले माधव नेपाललाई बुवा मान्ने गरेकी छन् । पुर्व प्रधानमन्त्री नेपालले कमलाका एक छोरी र एक छोरालाई पढाउने जिम्मा लिएका छन् ।

बैदेशिक रोजगारमा कतारमा रहेका कमलाका श्रीमान दिनेश चन्द बिरामी भएकोले त्यहाँ पनि उनको उद्धार गर्ने तथा उनलाई स्वास्थ्य उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कमलाले भनिन् “मलाई उहाँले (माधवकुमार नेपाल) नयाँ जिन्दगी दिनुभएको छ ।

मैले पुर्नजन्म लिएकी हुँ ।” उनले भनिन् “माधव नेपालले रुकुम आएर मलाई नलिएको भए म अहिले यसरी काम गरिरहेको हुनेथिइन ।” डक्टरले जिल्ला बाहिर नलिए कमला चन्द नबाँच्ने बताएपछि घरमा रुवाबासी चलेको थियो । चन्द परिवारको घरमा रुवाबासी भएको थाहा पाएपछि एमाले जिल्ला नेता खेममान खडकाले तत्कालै प्रधानमन्त्री नेपाललाई खवर गरेका थिए । उनको अवर सुन्न बितिकै नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री नेपाल रुकुम पुगेका थिए ।

पुर्व प्रधानमन्त्री नेपालले कमलाका चार बर्षका छोरा सकिन चन्द र ११ बर्षिया छोरी निरुता चन्दलाई काखमा राखेर राम्रोसँग पढ्न आग्रह गरेका थिए । कमलाले चार बर्ष अघि काठमान्डौमै पुगेर नेता नेपाललाई भेटेकी थिइन् । स्वकिय सचिव नितेस पौडेल र समाचारपत्रकर्मी दाहाललाई उनीहरुको बारेमा थप सहयोगको लागी उनीहरुलाई आफुसँग नियमित सम्पर्क गराईदिन नेता नेपालले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्