बंगलादेशसम्म सडक सञ्जाल जोडिने



नेपाल समाचारपत्र
काठमाडौं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म शुरूङमार्ग बनाएर अन्तर्देशीय सडक सञ्जाललाई सबल बनाउने बताउनुभएको छ।

दक्षिण एसियाली मुलुकका साना तथा मझौला व्यावसायी मञ्चको तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो–‘नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दूरीमा टनेल बनाउने विषयलाई आगाडि बढाएका छौं, यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउँछ।’

नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाई भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने सहमति भएको बताउनुभयो। छिमेकी मुलुक चीनसँग पनि नेपालको राम्रो सम्बन्ध रही आएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिका बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले दक्षिण एसियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वानसतमेत गर्नुभयो।

‘निर्धक्क भएर लगानी गर्नुहोस्, हामी नेपालमा लगानीको वातावरण बनाउन तयार छौं र सबै किसिमको सुरक्षा दिन तयार छौं।’ मन्त्री यादवले भन्नुभयो। उहाँले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान आग्रहसमेत गर्नुभयो।
मन्त्री यादवले मुलुक सबै किसिमका समस्याबाट मुुक्त हुँदै राजनीतिक स्थिरता र दिगो विकासका लक्ष्यतर्फ लक्षित भएकाले साना तथा मझौला व्यवसायीलाई उत्पादन बढाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो–‘हाम्रो देश सबैको बजार भएको छ तर अन्य देशमा हामीले बजार खोज्न सकेका छैनौं, हामीले बजार प्रवद्र्धन गरेर चुलिएको व्यापारघाटा कम गर्नुपर्छ।’

कार्यक्रममा दक्षिण एसियाली मुलुकका १ सय ५० जना साना तथा मझौला व्यवसायीको सहभागिता छ। मञ्चले दक्षिण एसियामा व्यापार सहजीकरण तथा विस्तार, पारवाहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ। एक दिने सम्मेलनमा नेपाल, भारत, बंगलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने उद्देश्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस्