फाइनलमा थ्री स्टारको भेट मनाङसँग



गणेश घिमिरे÷इलाम

विमल घर्तीमगर र अजय मार्टिनको गोलको मदतमा थ्री स्टार क्लब इलाममा जारी माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

शनिबार सम्पन्न सेमिफाइनल खेलमा थ्री स्टारले विभागीय टोली सशस्त्रको एपीएफ क्लबलाई २–० गोल अन्तरले पाखा लगाउँदै उपाधि होडमा पुगेको हो। सोमबार हुने फाइनलमा थ्री स्टारको भेट मनाङमस्र्याङ्दीसँग निश्चित भएको छ।

यसअघिको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीलाई १–० ले हराएर मनाङमस्याङ्दी फाइनलमा पुगेको थियो। माई भ्याली फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख रुपियाँ प्राप्त गर्नेछ। अति नै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारका लागि पहिलो हाफको इन्ज्युरी समयमा विमल घर्तीमगरले गोल गर्दै अग्रता दिलाए। रजिन धिमालले पेनाल्टी एरियामा गरेको थ्रोलाई निराजन खड्काको क्रसमा विमलले जाली चुमाएका हुन्। पहिलो हाफमा १–० ले पछि परेको एपीएफ दोस्रो
हाफबाट आक्रमकरूपमा प्रस्तुत भएको थियो।

५६औं मिनेटमा नवीन लामाको पासमा रञ्जन बिष्टले डिबक्स भित्रबाट प्रहार गरेको बललाई थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले मुस्किलले बचाएका थिए। खेलमा फर्कन पटकपटक प्रयास गरेको एपीएफलाई दबाबमा राखेको थ्र्री स्टारले ९०औं मिनेटमा एपीएफका गोलरक्षक राजु नगरकोटी बिट भइसकेको अवस्थामा विमलको पासमा अफ्रिकी मुलका नाइजेरियन खेलाडी अजय मार्टिनले गोल गर्दै जितलाई सुनिश्चित बनाए। विमलले म्यान अफ दि म्याच घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्