अनिल श्रेष्ठको कवितामा मूल्याङ्कन



शरद श्रेष्ठ

आँबु खैरेनी, तनहुँमा बसोवास गरी साहित्यिक गतिविधिमा लागेर आफूलाई चिनाइरहेका अनिल श्रेष्ठ कवितामा आफ्नो विचार सम्प्रेषण गर्न सिपालु प्रगतिवादी कवि हुन्। समालोचक खगेश्वर सापकोटाले यिनै कविको समग्र मूल्याङ्कन गरेर ‘प्रगतिवादी नेपाली कविताका अभियन्ता ः अनिल श्रेष्ठ’ पुस्तक प्रकाशित गरेका छन्। २०७४ असोजमा प्रकाशित अनुसन्धानमूलक यस समालोचनासङ्ग्रहमा ‘कविता सिद्धान्त र आधुनिक नेपाली कविताको परिचय’, ‘अनिल श्रेष्ठको जीवनीको अध्ययन’, ‘अनिल श्रेष्ठको व्यक्तित्वको अध्ययन’, अनिल श्रेष्ठका कविताहरूको अध्ययन र ‘मूल्याङ्कन’ अध्याय छुट्टाछुट्टै शीर्षकमा परिचय प्रस्तुत भएको छ।

साहित्यको अन्य विधाभन्दा समृद्ध र धेरैले लेख्दै आएको विधा कविता भए तापनि कविका रूपमा स्थापित कविहरू धैरै न्यून छन्। यिनै बग्रेल्ती कविहरूको हूलमा अनिल श्रेष्ठको छुट्टै पहिचान देखिँदो छ। यिनका कविताहरूमा प्रगतिवादी विचार–चिन्तन मात्र छैनन् शील्प, कला र सुन्दर भाषा–शैली प्रभावित छन्। विषयवस्तुअनुसार कविताको शीर्षक रहनु, कविताको बनोट ढाँचा सान्दर्भिक हुनु, विषयवस्तुमा समसामयिकताको भावभूमि सम्प्रेषण हुनुले यिनका कविताहरू सबल र प्रभावकारी छन्। कवितामा भावविधान सम्प्रेषण हुनु, लयविधानमा रम्नु, भाषाशैली सरल र सटिक रहनुकै कारणले अनिल श्रेष्ठका कविताहरू बलियो रहेको समालोचकको भनाइ छ। अनिलका कविताहरू अध्ययन गर्दै समालोचक खगेश्वर लेख्दछन्– ‘उनी कविका रूपमा स्थापित व्यक्तित्व हुन्।’

कवि अनिल श्रेष्ठलाई धेरै कोणबाट हेरिएको यस पुस्तकमार्फत कविका रूपमा स्थापित गर्न समालोचक खगेश्वर सफल छन्। यस पुस्तकमा अनिल श्रेष्ठका समग्र जीवनका प्रसङ्गहरू समेटिएका छन्। सामाजिक र राजनीतिक क्षेत्रमा पनि जनताका पक्षमा उभेर आफूलाई समर्पित तुल्याउन सफल अनिल श्रेष्ठ स्वास्थ्यसेवाको पेसासँगै लेखनकार्य र सामाजिक क्षेत्रका कार्यहरूमा क्रियाशील रहँदै आएको सन्दर्भ यस पुस्तकमा उल्लेख गरिएको छ। यस पुस्तकमा कविको चर्चा गर्दै समीक्षकले कवि, कथाकार, सम्पादक, गीतकार, निबन्धकार, साहित्येतर, राजनीतिक, सामाजिक, सांस्कृतिक, साङ्गठनिक, पेसागत, शैक्षिक व्यक्तित्वका रूपमा कविलाई चिनाइदिएका छन्। तर अनिल श्रेष्ठ कविता विधामा निकै सशक्त प्रगतिवादी कविका रूपमा पछिल्लो कालखण्डमा देखा पर्दै आएका हुन्।

कविता साहित्यको एक सशक्त र पुरानो विधाका रूपमा परिचित विधा मानिन्छ। यिनै विधाअन्तर्गत कवि अनिल श्रेष्ठको यस पुस्तकमा चर्चा भएको छ। समालोचक खगेश्वरले अनिलको चर्चा गर्दै लेखका छन्– ‘अनिलले नेपाली समाजभित्र विद्यमान विकृति, विसङ्गति, अन्याय, अत्याचार, घातप्रतिघात, शोषण, दमन, उत्पीडन आदिको मियो समातेर यथार्थलाई उद्घाटन गरेका छन्। उनले जीवन जगत्का वास्तविकतालाई नजिकैबाट नियालेर यी सङ्ग्रहहरूको अन्तर्वस्तु छनोट गरेका छन्।’ यसै गरी यिनले अगाडि चर्चा गर्दै कविबारे लेखेका छन्– ‘अनिलका कवितासङ्ग्रहहरूको अध्ययन गर्दा स्वच्छन्दतावादी, प्रगतिवादी, यथार्थवादी, राष्ट्रवादी, प्रकृतिप्रेम, व्यङ्ग्यात्मकता एवम् परिवर्तनका स्वर स्पष्ट देखिन्छ।’ यस पुस्तकको अध्ययनबाट कवि अनिल श्रेष्ठ कवितामा कति बलशाली देखिन्छन्, त्यसको परिचय भएको छ।

प्रतिक्रिया दिनुहोस्