लमजुङ डान्स च्याम्पमा सात स्पर्धी



लमजुङ, (नेस)। लमजुङमा आयोजना गरिएको डान्स च्याम्प सिजन टुमा ७ जनाबीच स्पर्धा हुनेभएको छ।

लमजुङ टेलिभिजनले आयोजना गरेको प्रतियोगिताको सेमिफाइनलमा ७ स्पर्धी भिड्ने भएका हुन्। विभिन्न चरण पार गर्दै सेमिफाइनलको यात्रा तय गरेका ७ जनामध्येबाट २ जना बाहिरिने आयोजकले जानकारी गराए।

प्रतियोगिताको फाइनलका लागि ५ जना प्रतिस्पर्धीलाई मौका दिइने लमजुङ टेलिभिजनका कार्यकारी निर्देशक सिजन श्रेष्ठले बताए। उनका अनुसार जिल्लामा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने र प्लेटफर्म प्रदान गर्ने उद्देश्यले लमजुङ डान्स च्याम्प सिजन टुको आयोजना गरिएको हो। सेमिफाइनलमा सुजीना लामा, भूमिका गुरुङ, आयुशा गुरुङ, रोशनी गुरुङ, किरण दियाली, रीमा गुरुङ र अनुष्का गुरुङ छनोट भएका छन्।

सो अवसरमा एकल नृत्य प्रतियोगिता आयोजना गरिएको टेलिभिजनले जनाएको छ। लमजुङ डान्स च्याम्प सिजन वान सकिएको एक वर्षपछाडि सिजन टु शुरू गरिएको हो। गत कात्तिक महिनाको २५ गतेबाट शुरू गरिएको सिजन टुका लागि जिल्लाका ३ ठाउँबाट गरिएको अडिसनमा पहिलो चरणबाट १ सय जना छनोट भएको लमजुङ टेलिभिजनका समाचार प्रमुख अनुज अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्