नेपालको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा टोकियोमा माइ लभ



नेपालमा विनाशकारी भूकम्प गएको ३ वर्षको दिन भूकम्पमा ज्यान गुमाएकालाई सम्झँदै जापानको टाकियोमा फिल्म माइ लभको विशेष शो गरिएको छ। त्यसको सम्झनामा टोकियोमा रहेका नेपाली तथा उपस्थित जापानिजले ५ मिनेट मौन धारण गरेको पत्रकार तथा फिल्म निर्देशक विजयरत्न तुलाधरले जानकारी गराए।

भूकम्पकै आधारमा निर्माण भएको फिल्म माइ लभको विशेष शोमा अवैतनिक महावाणिज्य दूत कुनियो इमानिसीसमेत सहभागी भएका थिए। उनीसँगै जापानका विशेष व्यक्तित्वहरू, नेपालप्रति चासो तथा सद्भाव राख्ने दर्शक तथा नेपालीसमेत सहभागी थिए। सोही दिन टोकियोमा फिल्मको दुई शोसमेत गरिएको छ।

व्यावसायिकभन्दा पनि नेपाल र जापानबीचको सम्बन्ध र भूकम्प वरिपरिको कथामा निर्माण भएको माइ लभ वैशाख १२ देखि जापानका विभिन्न शहरमा प्रदर्शन हुनेभएको छ। फिल्मका निर्देशक डा. तोशिआकी इतोह फिल्म प्रमोसनका लागि जापानका विभिन्न शहरमा घुमिरहेका छन्। आज शनिबार जापानका लागि नेपाली राजदूतसहित जापानमा रहेका अधिकांश नेपाली, जापानिज र नेपालीको संयुक्त संस्था हातेमालोका सदस्यले पनि फिल्म हेर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा फिल्मका कलाकारहरू गणेश लामा, रिवोन मिजुथानी, थासाका र हायातालगायत सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्