नेपाल सुन्दरीको चित्त दुखाइ



हेटौंडा, (नेस)। गएको निर्वाचनपछि काठमाडौं गएकी उनले जाने बेला आमालाई भनेकी थिइन् कि– ‘अब मिस नेपाल बनेपछि हेटौंडा फर्किन्छु।’ भयो पनि त्यस्तै।

उनका अनुसार उनी सानो छँदा देख्नेले ‘कस्ती राम्री छोरी, भोलि पर्सि त मिस नेपाल बन्छिन् कि क्या हो’ भन्थे रे। २३औं संस्करणको उपाधि जितेपछि उनै मिस नेपाल वल्र्ड २०१८ विजेता शृंखला खतिवडाले खुसी बाँड्न गृहनगर हेटौंडा आएका बेला सुनाइन्। उनलाई सिमरा विमानस्थलदेखि नै शुभचिन्तकले स्वागत गरेका थिए।

हेटौंडाको पहिलो पत्रकार सम्मेलनमा उनले मकवानपुर केन्द्रित भएर गर्ने सामाजिक कार्य बताइन्। यसअघिका मिस नेपालहरू फिल्मको रंगीन क्षेत्रमा जम्दै गरेको प्रसंगमा भने उनले आफू फिल्म क्षेत्रमा आउने सोच भने नभएको प्रष्ट्याइन्। मिस नेपाल खतिवडाले देशमा बालयौन दुव्र्यवहार र भूकम्पपछि पुनर्निर्माणमा आफ्नो कार्यअवधिमा केही गर्न चाहेको बताइन्। भूकम्पबाट प्रभावित सर्वसाधारण अझै पनि पालमा बस्नुपरेको भन्दै खतिवडाले पुनर्निर्माणमा आफ्नो हात अघि बढाउने बताइन्। उनले हालसम्मकै मिस नेपालमध्ये फरक ढंगले अघि बढेर जनताको सेवामा समर्पित हुने प्रष्ट पारिन्। आफूले सक्ने सकारात्मक परिवर्तन गरी समाजलाई अघि बढाउने उनको लक्ष्य छ। बालबालिकाका लागि पनि आफूले विभिन्न कार्य गर्ने योजना बनाएको खतिवडाले बताइन्। वर्तमान अवस्थामा राजनीतिलाई फोहोरी खेलका रूपमा लिइएकोमा दुःख व्यक्त गर्दै उनले देशका विविध विषयमा जानकारी लिन राजनीति बुझ्नु जरुरी रहेको तर्क गरिन्। सानैदेखिको मिस नेपाल बन्छु भन्ने सपना देखेकोमा अहिले आएर पूरा भएकोमा उनी खुसी छिन्।

‘मिस नेपाल भनेको आउट लुक्समात्र राम्रो होइन, सबै कुराको ट्यालेन्ट हो’ –उनी भन्छिन्। देशको जुनसुकै क्षेत्रका महिला मिस नेपाल हुन सक्ने उनको भनाइ छ। उनले आफू राम्री नभएर नेपाली नारीको प्रतिनिधि पात्र भएको बताइन्। नेपालमा सरकारले मिस नेपाल प्रतियोगितालाई बुझ्न नसकेको भन्दै उनले विभिन्न खेलमा देशको प्रतिनिधित्व गर्ने खेलाडी र विश्वमा देशको प्रतिनिधित्व गर्ने मिस नेपाललाई गर्ने व्यवहार फरक रहेकोमा भने चित्त दुखाइन्। शृंखला एमाले मकवानपुरबाट प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र प्रदेश ३ सभा सदस्य एवम् नेकपा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलकी छोरी हुन्।

उनले मिस नेपालसहित पपुलर च्वाइस र मिस फ्यासिनोको पनि उपाधि जितेकी थिइन्। शृंखला मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्ने एकमात्र युवती हुन्। सौन्दर्य प्रतियोगितामा होमिएकी उनको पारिवारिक पृष्ठभूमि भने राजनीति हो। बाबु विरोध र आमा मुनुले छोरी रोलमोडल बनोस् भन्ने उद्देश्यले प्रतियोगितामा पठाउन रोकतोक नगरेको बताए।

‘मिस नेपाल भन्नेबित्तिकै नकारात्मक सोच राखिने समाजमा सौन्दर्य प्रतियोगिताका साथै विश्वमाझ नेपालको प्रतिनिधित्व गर्ने अवसर रहेकाले यसतर्फ छोरीको आकर्षण बढेको हो’ –शृंखलाको परिवारको भनाइ छ। पत्रकार सम्मेलनमा शृंखलाले मिस वल्र्ड जितेपछि बुबा विरोधले वास्तविक बधाइ पाउनेभन्दा शृंखलाले बुबाको कुरा आफूले स्वीकार गरेको र सोहीअनुसार नेपाललाई चिनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्