स्टेशनरीमा मदिराको व्यापार



हिक्मत नेपाली, दैलेख ।

मुलुक संघिय संरचनामा गएपश्चात जिल्लाका २ नगरपालिका र ४९ गाउँविकास समितिहरु ४ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजित भए । सिंहदरवारको अधिकार गाउँ केन्द्रित भए । जिल्ला सदरमुकाममा रहेका अधिकारहरु वडा तहमा पुग्यो ।

जिल्लामा हुने कामहरु स्थानीय तहबाटै हुनेभएपछि सदरमुकामको व्यापार व्यवसाय पनि ओरालो लागेको छ । स्थानीय तहहरुमा चहलपहल बढेसँगै सदरमुकाम भने सुनसान जस्तै बनेको छ । स्थानीय तहबाटै धेरै जसो काम हुने भएकाले मानिसहरु सदरमुकाम धाउन छाडेका छन् ।

नागरिकहरु स्थानीय तहमा सबैजसो कामहरु हुने भएपछि किनमेलकै लागि सदरमुकाम सम्म आउन छोडेका छन् । स्थानीय तहहरुमा भएका बजारहरुमा अखाद्य बस्तुको विगविगी र एउटै पसलबाट ‘नुन देखि सुन सम्म’ विक्री गर्ने परिपाटी भने ह्वात्तै बढेको छ । ‘यस्तै हो भने जिल्लाका ग्रामिण भेगमा त्यसको प्रभाव प्रत्यक्ष रुपमा नागरिकहरुको जनजिवनमा पर्न बेर छैन् ।’

जिल्ला सदरमुकाम दैलेख बजार संगै अन्य व्यापारिक केन्द्रहरुमा पसलहरुमा अखाद्य बस्तुको विगविगी र एउटै पसलबाट ‘नुन देखि सुन सम्म’ विक्री गर्ने परिपाटी बढ्न थालेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमन लाई निरन्तरता दिएको छ ।

अनुगमनका लागि बिहिवार दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोली दुल्लु नगरपालिकाको वडा नं. १ मा रहेको तल्लो डुङ्गेश्वर बजारमा पुगेको छ । टोलीले कर्णाली राजमार्गमा रहेको तल्लो डुङ्गेश्वर बजार, डुङ्गेश्वर गाउँपलिका वडा नं. ६ मा रहेको माथिल्लो डुङ्गेश्वर बजार र वडा नं. १ मा रहेको चुप्रा बजारमा रहेका खाद्य खुद्रा पसल, होटल, स्टेशनरी पसलहरु टोलीले अनुगमन गरेको छ ।

स्थानीय व्यापारि भन्छन् ‘यति नगरे हाम्रो व्यापार नै चल्दैन् ।’

 

स्थानीय तहहरुले बजार अनुगमनमा चासो नदिएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजारमा अनुगमन गरेका गरिएको हो । अनुगमनको टोली तल्लो डुङ्गेश्वर बजारको छेउमै रहेको एक स्टेशनरी पसल लेखिएको पसलमा पुग्दा मदिरा विक्री गरेको भेटिएको छ । पसलको बोर्डमा “जनसेवा स्टेशनरी एण्ड सप्लायर्स” दुल्लु नगरपालिका वडा नं. १ दैलेख लेखिएको थियो तर पसल भित्र मदिरा बिक्री भएको पाइएको हो ।

स्टेशनरी पसलमा मदिराको व्यापार भएको पाइएपछि अनुगमन टोलीले मदिरा तत्काल हटाउन निर्देशन दिएको छ ।

पसलहरुमा मसला, बेसार, चाउचाऊ, पाउरोटी, तेलको बट्टा, बिस्कुटलगायत खाद्यवस्तुमा लेबल नराखी बिक्री गरेको बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए ।

देवकोटाका अनुसार भ्याट वा प्यानको प्रमाणपत्र लिन, साइनबोर्ड राख्न, खाद्य अनुज्ञापत्र पेस गर्न र सरसफाइमा सुधार गर्न समेत निर्देशन दिइएको छ ।

बजार अनुगमनको क्रममा एउटा शीर्षकमा व्यवशाय दर्ता गरि एकै पसलबाट मदिरा, खाद्य, अखाद्य, किराना औषधी, विषाधी आदी बिक्री गरिरहेको पाईएकोले अलग अलग राखी बिक्री गर्न निर्देशन दिईएको देवकोटाले जानकारी दिएका छन् । स्थानीय बजारहरुमा रेष्टुरेन्ट, पसल, साना व्यपारी तथा होल व्यवशायीले ईजाजत नलिई मदिरा बिक्री वितरण गरेको पाइएको बताउदै दैलेख उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कविराज खत्रीले पसल दर्ता गर्न र म्याद नाघेका खाद्य बस्तु विक्री नगर्न आग्रह गरेका छन् ।

स्थानीय तहहरुमा जनप्रतिनीधि आएको एक बर्ष बित्न लाग्दा समेत स्थानीय तहहरुले बजार अनुगमनको स्पष्ट खाका नबनाउदा बजारमा लेबल नभएका खाद्य बस्तुको विक्री बढेको हो । सरकारले बनाएको ऐन कार्यान्वयनम नल्याउँदा समस्या उत्पन्न भएको उभोक्ताहरु बताउछन् ।

‘भन्सारबाट खुलेआम अखाद्य तथा लेवल नभएका साम्री भित्रिएका छन्, तर सरकार तथा त्यसका सरोकारवाला निकाय मुकदर्शक बनेको उपभोक्ता अधिकारकर्मीहरुको ओरोप छ । धेरै नाफा कमाउने लोभमा व्यापारीले विष बेचिरहेका र सरकार चाहिँ मूलतः तमासा हेरेर बसिरहेको स्थानीय उपभोक्ताको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्