जलविद्युत् केन्द्रमा सोलार जडान गरी २५ मेगावाट विद्यत् उत्पादन हुँदै



नेपाल समाचारपत्र, काठमाडौं ।
बढ्दो विद्युत् मागलाई व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणले मुलुकै सबैभन्दा ठूलो सोलार प्लान्ट जडान गर्न शुरू गरेको छ । नुवाकोटको देवीघाट जलविद्युत् केन्द्र परिसरमा २५ मेगावाट क्षमताको सोलार प्लान्ट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शुक्रबार शिलान्यास गरेसँगै उक्त प्लान्ट जडानको कार्य शुरु भएको हो ।

विश्व बैंकको सहुलीयत ऋणमा जडान गर्न लागिएको उक्त प्लान्टसँगै ऊर्जा मिश्रणको पनि शुरुआत भएको छ । सोलार प्लान्टको काम एक वर्षभित्र पूरा गरी त्यसबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ । सोलार प्यालन राखी त्यसमार्फत् दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्नेछ । काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्नेछ । प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउँसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युत्को माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्नेछ । जसले पिक समयको विद्युत् माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीस“ग ३ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको छ । जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको छ ।

प्राधिकरणको स्वामित्वमा रहेका त्रिशूली र देवीघाट विद्युत् केन्द्रको नाममा रहेको खाली जग्गामा राखिने सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्नेछ । कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा ३ करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेन्टेड इनर्जी) आपूर्ति गर्नुपर्नेछ ।

हाल राष्ट्रिय प्रणालीमा अधिकांश विद्युत् जलविद्युत् आयोजनाबाट प्रवाह भइरहेको अवस्थामा सोलार प्लान्ट स्थापनासँगै सरकारले अगाडि बढाएको ऊर्जा मिश्रण कार्यान्वयनतर्फ अघि बढेको छ । प्राधिकरणले आगामी पाँच वर्षभित्रमा पाँच सय मेगावाटसम्म सोलार प्लान्ट राख्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्