पाकिस्तानी विदेशमन्त्री आसिफ चुनाव लड्न अयोग्य ठहर



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको एक उच्च अदालतले विदेशमन्त्री र मुस्लिम लिग नवाजका वरिष्ठ नेता ख्वाजा आसिफलाई आजन्मका लागि चुनाव लड्न अयोग्य ठहर गरेको छ।राजधानी इस्लामावादस्थित उक्त अदालतको ३ सदस्यीय बेन्चले सर्वसम्मतिबाट उक्त फैसला सुनाएको हो। ख्वाजा आसिफलार्य संयुक्त अरब इमिरेट्सलाई वर्क पर्मिट राखेका कारण अदालतले उक्त सजँय दिएको हो।

इमरान खानको नेतृत्वमा रहेको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का एक नेता उस्मान डारको याचिकामा अदालतले सुनवाइ गरेको थियो। सन् २०१३ मा ख्वाजा आसिफले उस्मान डारलाई संसदीय चुनावमा पराजित गरेका थिए। पाकिस्तानको सर्वोच्च अदालतले हालै मात्र दिएको एक फैसलामा कोही पनि अयोग्य ठहरिएपछि उसले जीवनभर चुनाव लड्न नपाउने उल्लेख गरेको थियो।

उच्च अदालतले आफ्नो फैसलामा ख्वाजा आसिफ चुनावको बेला एक विदेशी कम्पनीमा स्थायी कर्मचारी रहेको र उनी मन्त्री भइसक्दा पनि उक्त कम्पनीका लागि काम गरिरहेको प्रमाणित भएको उल्लेख गरेको छ।
अदालतका अनुसार उनको गतिविधि प्रत्यक्षरूपमा राष्ट्र हितसँग जोडिएको मामिला भएकाले उनको संसदीय सदस्यता रद्द गरिएको हो।अदालतले फैसलामा संसद् सदस्य र मन्त्री बन्ने बेला आसिफले जुन शपथ लिएका हुन् त्यसको पनि उनले उल्लंघन गरेको उल्लेख गरेको छ।

कुनै पनि निर्वाचित व्यक्तिको सदस्यता रद्द हुनु अदालतका लागि खुसीको कुरा नभएको अदालतले जनाएको छ। अदालतले चुनाव आयोगलाई ख्वाजा आसिफको सदस्यता रद्द गर्न तत्काल प्रभावकारी कदम चाल्न पनि आदेश दिएको छ।ख्वाजा आसिफले चुनावको बेला नामांकन पत्रमा उनले यूएईमा आफू कार्यरत रहेको दस्तावेज सुम्पेको बताएका छन्। तर याचिकाकर्ताले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई यसकै आधारमा अयोग्य घोषणा गरिएकाले ख्वाजा आसिफ पनि अयोग्य ठहर हुनुपर्ने तर्क दिएका थिए।

प्रतिक्रिया दिनुहोस्