त्रिभुवन विमानस्थलको विकल्प ठूलीचौर र नागीडाँडामा खोजिँदै



दीपेन्द्र थापा,काठमाडौं
नागरिक उड्डयन प्राधिकरणले साना जहाजका लागि त्रिभुवन विमानस्थलको विकल्पका रूपमा लागि काभ्रेका विभिन्न स्थानमा सम्भव्यता अध्ययन गरिरहेको छ। प्राधिकरणले शुरूमा धुलिखेल नगरपालिकको ठूलीचौरमा अध्ययन गरेको थियो। तर, स्थानीयले विरोध गरेपछि अहिले नागीडाँडामा अध्ययन शुरु गरिएको छ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ठूूलीचौरमा स्थानीयको विरोध भएपछि प्राधिकरणले पलान्चोकस्थित नागीडाँडामा सम्भाव्यता अध्ययन भइरहेको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सरकार गठन भएको सय दिनको समीक्षा कार्यक्रममा ठूूलीचौरको विकल्प खोजिएको भए पनि ठूलीचौर पनि अध्ययनकै क्रममा रहेको बताउनुभयो।

त्यसक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको लागि सय दिनभित्रै जग्गा खाजेर काम थाल्न निर्देशन दिनु भएको छ।

प्राधिकरणले काभे्रमा रहेको चिसापानी ठूूलीचौर विमानस्थल बनाउनको लागि प्रक्रिया खुलेको छ। अन्तर्राष्ट्रिय विमानस्थमा रहेको चापलाई न्यूनीकरण गर्न नयाँ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाएको छ।

‘काभे्र जिल्लाको धुलिखेल नगरपालिका ११ र १२ नम्वर वडामा पर्ने चिसापानी ठूूलीचौरमा ७ घर टहरा परेका छन् हामी छलफल गरेर अगाडि बढ्न तयार छौं।’ ११ नम्बर वडा अध्यक्ष विष्णु काभ्रेलीले नेपाल समाचारपत्रलाई बताउनुभयो।

विमानस्थल निर्माणका लागि सन् २०१० मा नै जोशी एसोसिएटले अध्ययन प्रतिवेदन तयार पारे पनि विमानस्थल निर्माणको काम अगाडि बढ्न सकेको थिएन। तत्कालीन समयमा भकुन्डेबेंसी चोभार डाँडाको समेत प्रारम्भिक अध्ययन भएको थियो। उच्च भागमा कुहिरो नलाग्ने भएर सो क्षेत्रलाई छनोट गरिएको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

‘अध्ययन समितिले विमानस्थल निर्माणका लागि गुरुयोजनासमेत बनाएको थियो। हाल भने सैनिक क्याम्प आएर बसेको र भौगोलिक कठिनाइ पनि भएपछि हामीले विकल्पको लागि जग्गा खोजी गरिरहेका छौं,’ प्राधिकरणका इन्जिनियर धु्रवदास भोचिभोइले जानकारी दिनुभयो।

प्राधिकरणले न्यूनतम १ किलोमिटर लम्बाई र आधा किलोमिटर चौडाइको जग्गा खोजी गरिरहेको छ। सन् २०१० मा तयार पारिएको अध्ययन प्रतिवेदनले रन वे बढाउन जंगल भएकाले वातावरण मन्त्रालयको स्वीकृति लिनुपर्ने, निर्माणस्थलमा बस्ती भएकाले स्थानीयको समर्थन हुनुपर्ने, जियो टेक्नोलोजीको थप अध्ययन गर्नुपर्ने, चट्टान ठूलो मात्रामा रहेकाले उक्त चट्टानमा विस्फोट गर्नुपर्ने तथा चट्टान माथि र तल बस्ती समेत भएकाले स्थानान्तरण नगरी विस्फोट गर्न नमिल्ने र ठूला विमान उडाउन नसकिने जस्ता समस्या पनि औंल्याइएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सय दिनमा आन्तरिक उडानका लागि साना विमानको व्यवस्थापन गर्ने कार्यक्रम सार्वजनिक गरेसँगै प्राधिकरण विमानस्थल निमार्णको लागि जुटेको हो।
पहिले प्राधिकरणले १२ सय मिटरको रनवे र ३० मिटरको चौडाईमा निर्माण गर्नका लागि ठूलो लगानीको आवश्यकतापर्ने हुँदा काम अगाडि बढ्न सकेको थिएन।

पछि पहिलेको भन्दा एकदमै भिन्न तरिकाको ८ सय मिटरको रनवे र २० मिटरको चौडाइ भएको विमानस्थल निर्माणका लागि तयारी थालेको भए पनि विमानस्थललको निर्माण भने हुन सकेन।भीएसआर फ्लाइटमात्र राख्ने गरी विमानस्थलको निर्माण हुनेछ। यसका लागि पूर्वसम्भाव्यता अध्ययन (प्रि फिजिबिलिटी स्टडी) गरिसकेको थियो।

यसअघि पाँचखालमा विमानस्थल बनाउने भनिए पनि प्राविधिक रूपमा अप्ठरो पर्ने निश्कर्ष निकालिएको थियो। दैनिक ४ सय वटासम्म उडान भर्ने त्रिभुवन विमानस्थलको ३५ प्रतिशत साना विमानले पहाडी क्षेत्रमा केन्द्रित भई उडान भर्छन्। नयाँ विमानस्थल काठमाडौं आसपासमा निर्माण गर्न सकेमा हालको त्रिभुवन विमानस्थलको चाप कम भएर जाने प्राधिकरणको अनुमान रहेको छ।

प्रतिक्रिया दिनुहोस्