जन्म नेपालमा कर्म भारतमा



नयाँ दिल्ली, (एजेन्सी)
नेपालका गाउँ गाउँमा खेलाडी हुने सम्भावना बोकेका धेरै व्यक्तिहरू पाउन सकिन्छ। गाउँ गाउँबाट खेलाडी छनोट गर्ने हरेक खेल मन्त्री, खेलसम्बन्धी निकाय, व्यक्तिले भनिरहेका हुन्छन्। तर अवसर दिनु पर्दा आफनो मान्छेलाई दिने चलन अहिले पनि विद्यमान नै छ। नेपालमा खेलाडी चिन्न सक्ने कोही पनि खेल पदाधिकारी भेटिँदैन। यसको उदाहरण हालै अस्टे«लियाको गोल्ड कोस्टमा भइरहेको कमनवेल्थ गेम्सले देखाएको छ।

भारतीय शुटिंग खेलाडी जीतु राईले गोल्डकोस्टमा १० मिटर पिस्टोल इभेन्टमा नयाँ गेम्स रेकर्डका साथ स्वर्ण पदक जितेका छन्। उनले २३५.१ अंकसहित पहिलो स्थान हासिल गरेका थिए। भारतका लागि खेलेका जीतु मूलत नेपालमा जन्मेका हुन्। २०४४ सालमा उनको जन्म संखुवासभाको एक गाउँमा भएको थियो।

१२ वर्षअघि सम्म नेपालको गाउँमा मैक र आलु खेती गर्थे उनी। उनले घरमा भैसी हेर्ने, बाख्रा चराउने पनि गरेका थिए। भेडा बाख्रा चराउने व्यक्ति भारतीय फौजमा भर्ती भएपछि उनी पिस्टोल किंगको उपनामले विश्वभरि चर्चित बनेका छन्। नेपालमा बस्दा सम्म उनको शुटिंगको कुनै संभावना नै थिएन।

त्यसो त जीतुका बुबाले भारतीय फौजमा रहेर चीन र पाकिस्तानविरुद्ध युद्ध लडेका थिए। त्यसैले पनि जीतुलाई भारतीय फौजमा भर्ती हुन सजिलो भएको थियो। यद्दपि यसका लागि उनी दुई पटक असफल पनि भएका थिए। २०६३ सालमा २० वर्षको उमेरमा भारतीय फौजमा जानु अघि उनी ब्रिटिस सेनामा जान चाहन्थे।

भारतीय फौजमा रहँदै जीतुले सन् २०१३ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेका थिए। एक वर्षको अन्तरालमै उनी विश्वभरि छाए। उनले २०१४ को कमनवेल्थ गेम्समा ५० मिटर पिस्टोल इभेन्टमा पनि स्वर्ण पदक जितेका थिए। त्यस्तै यही वर्षको एसियन गेम्समा पनि उनले भारतलाई पहिलो स्वर्ण पदक दिलाएका थिए। उनले यो वर्ष ९ दिन भित्र तीन वटा विश्व कप पदक जितेर रेकर्ड बनाएका थिए।

जितु कहिले काही मात्रै नेपाल आउने गर्छन्। गाउँमा जान दार्जिलिङमा बागडोगरासम्म रेलबाट जानुपर्छ। त्यसपछि गाउँमा पूग्न दुई दिनसम्म लाग्ने गर्छ। तर अहिले उनलाई नेपाल आउन यस्तो कष्ट झेल्नु पर्दैन। अहिले उनी हवाइजहाजबाट नेपाल आउने गर्छन्। तर गाउँमा आउन भने हिँडनु पर्ने उनले बीबीसीलाई बताएका थिए।

प्रतिक्रिया दिनुहोस्