सलाहको उत्कृष्टतामा लिभरपुलको जित



लन्डन, (एजेन्सी)
मोहम्मद सलाहको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रोमालाई ५–२ गोल अन्तरले पराजित गरेको छ । इजिप्टका स्टार सलाह र फरवार्ड रोबर्टो फर्मिनोको दुई–दुई गोलको योगदानमा लिभरपुलले घरेलु भूमि एनफिल्डमा जित दर्ता गरेको हो । सलाहले २ गोल गर्नुका साथै अर्को २ गोलका लागि पास उपलब्ध गराएका थिए ।

खेलको शुरूआतमा पाहुना टोली रोमाले खेलमा पकड जमाए पनि त्यसलाई निरन्तरता दिन सकेन। मुख्यतः डिफेन्स फितलो बनेपछि रोमाले ५ गोलको भारी बोकेको थियो । खेलको पहिलो हाफसम्म २–० ले अघि रहेको लिभरपुलका लागि सलाहले ३६औं मिनेटमा विश्वस्तरीय गोल गरेका थिए । उनले २ डिफेन्डरको बीचबाट गरेको घुमाउरो प्रहार गोलपोस्ट बिममा लाग्दै जाली चुमेको थियो । यो गोलका लागि पूर्वचर्चित खेलाडीहरुले प्रशंसा पनि गरेका थिए ।

त्यसको २ मिनेटपछि नै डेजान लोभ्रेनले कर्नरमा गरेको हेड प्रहार गोलपोस्टको बारमा लाग्दै बाहिरिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सलाहले अर्को उत्कृष्ट गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । काउन्टर एट्याकको क्रममा उनले रोमाका गोलरक्षक एलिसन बेकरले डाइभ गरेको विपरीत दिशामा बल चिप गर्दै गोल गरेका थिए ।

जारी सिजन उत्कृष्ट रहेको सलाहको यो ४३औं गोल हो । च्याम्पियन्स लिगमा व्यक्तिगत २ गोल गर्दै सलाहले २ कीर्तिमानमा समेत नाम लेखाएका छन् । च्याम्पियन्स लिगको एकै सिजनमा १० गोल गर्ने सलाह लिभरपुलका पहिलो खेलाडी बनेका छन् । यस्तै यस प्रतियोगिताको एकै सिजनमा धेरै गोल गर्ने अफ्रिकन खेलाडी पनि बनेका छन् । लिभरपुलका इयान रसले मात्र उनीभन्दा धेरै गोल गरेका छन् । रसको नाममा १९८३÷८४ सिजनमा ४७ गोल छ ।

२ गोल गरेका सलाहले अन्य २ गोलका लागि पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो । सलाहकै पासमा मानेले ५६औं मिनेटमा तथा फर्मिनोले ६१औं मिनेटमा एक–एक गोल गरेका थिए । यसैगरी खेलको ६९औं मिनेटमा मिल्नरको कर्नर प्रहारमार्फत उपलब्ध बलमा फर्मिनोले हेडमार्फत गोल गर्दै लिभरपुलको गोलसंख्या ५ पु¥याए ।

५ गोलको भारी बोकेपछि रोमाले पनि आक्रमणलाई तेज पारेका थिए । खेलको अन्तिम १० मिनेटमा भने रोमाले पनि गोलका लागि सुन्दर अवसरहरु सिर्जना गरेका थिए । जसअनुरूप रोमा २ गोल फर्काउन सफल पनि भयो । खेलको ८१आंै मिनेटमा म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर इडेन जेकोले रोमाका तर्फबाट पहिलो गोल फर्काएका थिए । त्यस्तै खेलको ८५औं मिनेटमा आफ्नो डी एरियाभित्र जेम्स मिल्नरको ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा गोल गर्दै डिएगो पेरोटीले रोमाको तर्फबाट दोस्रो महत्त्वपूर्ण अवे गोल गरेका थिए ।
हारका बावजुद २ अवे गोल गरेपछि रोमाले आगामी मे ३ तारिखमा घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलविरुद्ध कडा चुनौती दिने निश्चित छ । यसअघि क्वाटरफाइनलमा पनि बार्सिलोनाविरुद्ध ४–१ ले पछि परेको अवस्थालाई रोमाले घरेलु मैदानमा आवश्यक गोल गरेपछि सेमिफाइनलको यात्रा सम्भव पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्