टेनिसमा नेपाल सेमिफाइनलमा



काठमाडौं, (नेस)
नेपालको ब्वाइज र गल्र्स दुवै टोलीले ललितपुरमा जारी आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
राउन्ड रोविन लिगमा नेपालको दुवै टोली लिगमा दोस्रो हुँदै अन्तिम चारमा पुगेका हुन् । ५ राष्ट्र सहभागी ब्वाइजमा नेपालसहित भारत, पाकिस्तान र श्रीलंका अन्तिम चारमा पुगे । अन्तिम स्थानमा रहेपछि भुटानको चुनौती समाप्त भएको छ ।
४ राष्ट्र सम्मिलित गल्र्समा भने नेपालसहित भारत, श्रीलंका र भुटान अन्तिम चारको यात्रा तय गरेका छन् । ब्वाइज सेमिफाइनलमा नेपालले पाकिस्तान तथा भारतले श्रीलंकाको सामना गर्नेछन् । नेपाल र श्रीलंका तथा भारत र भुटानबीच गल्र्सको सेमिफाइनल हुनेछ । सेमिफाइनलका विजेताले आगामी नोभेम्बरमा कजाखस्तानमा हुने आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपमा स्थान पक्का गर्नेछन् ।
राउन्ड रोविन लिगको अन्तिम दिन नेपाली ब्वाइज र गल्र्स टिम दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे । ब्वाइजमा नेपालले पाकिस्तानलाई २–१ ले पराजित गर्ने क्रममा सिंगल्समा अकी जुवेन रावतले पाकिस्तानका विलाल असिमलाई ६–२, ६–२ ले हराए । तर दोस्रो सिंगल्स खेल भने आरभ सम्राट हाडाले हमिद इस्ररविरुद्ध ६–२, ६–३ ले गुमाएर खेल बराबरीमा पुग्यो । निर्णायक डबल्स खेलमा अकी र आरभको जोडीले विलाल र मुहम्मद हुजैफा खानको जोडीलाई ६–०, ६–१ ले सहजै हराएपछि नेपालको अन्तिम चार पक्का भएको थियो ।
सातदोबाटोस्थित टेनिस कोर्टमा नेपाली गल्र्स टिमले भुटानमाथि ३–० ले ह्वाइवास गरेको छ । सिंगल्समा अजा रेग्मीले भुटानकी युडेन कर्मा दोर्जीलाई ६–१, ६–३ ले हराइन् । अर्को खेलमा शुभाङ्गीलक्ष्मी शाहले भुटानकी वाङसेल तेन्जिन ल्हादेनलाई ६–१, ६–० को सोझो सेटमा पाखा लगाएकी थिइन् । डबल्समा शुभाङ्गी र आइशा डोल्कर गुरुङको जोडीले युडेन र कुइङ्गा पाल्मोको जोडीलाई ६–१, ६–० ले पन्छाएको थियो ।

प्रतिक्रिया दिनुहोस्