वैदेशिक रोजगार ठगीबाट युवा झनै पीडित



मीना घोरसाइने, काठमाडौँ । झापाका २७ वर्षीय महेश यादव (नाम परिवर्तन) र इटहरीका ३१ वर्षीय हरि खड्का (परिवर्तित नाम) गत अघिल्लो वैशाख महिनामा कोरिया जान धादिङका रमेश दनुवार (नाम परिवर्तन) लाई रु दुई लाख दिनुभएको थियो ।

गत चैत महिनामा कोरिया जाने मिति तय गरियो । पीडित यादव काठमाडौँ आउनुभयो तर उहाँलाई एकछिन लजमा बस्दै गर्नु म आउँछु भनेर गएका दनुवार २० दिन बितिसक्दा पनि फर्कैर आएनन् ।

पीडित यादव र खड्कासँग न लजमा तिर्ने पैसा नै थियो नत खानका लागि । दुबैजना साउदीमा आठ वर्ष सँगैबसेर काम गरी नेपाल फर्किनुभउको थियो । नेपाल फर्किएको दुई वर्षपछि दनुवारले यादव र खड्कासँग कोरिया पठाउने काम आफूले गरेको भन्दै रकम लिएका थिए ।

एक महिनासम्म अलपत्र परेपछि पीडित दुवै महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरीका लागि आउनुभयो ।

“साथी भनेर विश्वास गर्नु हाम्रो सबैभन्दा ठूलो गल्ती भयो”, पीडित यादवले भन्नुभयो, “रकम फिर्ता दिन्छु भनी उसले फोन त गरेको थियो, तर मोबाइल नै बन्द गरेर बसेपछि हामी प्रहरीसम्म आइपुगेका हौँ ।” कहिलेकाहीँ पीडकको फोन लागे पनि उसले परिवारलाई उठाउन दिने गरेको उहाँले रासससँगको कुराकानीमा भन्नुभयो । दुबैजनाले विद्यार्थी भिसामा कोरिया जानका लागि दनुवारलाई रकम दिएका थिए ।
यादव र खड्का वैदेशिक रोजगारमा ग ठगिनुभएका उदाहरणका पात्रमात्र हुनुहुन्छ । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७४÷७५ चैत मसान्तसम्मको तथ्यांकअनुसार व्यक्तिगततर्फ ८१८ र संस्थागततर्फ ७६९ गरी जम्मा एक हजार ५८७ थान वैदेशिक रोजगारका क्षेत्रमा भएका ठगीका उजुरी परेका छन् ।

ती उजुरीमध्ये व्यक्तिगततर्फ अदालतमा १५७ मुद्दा दायर भएका छन् भने संस्थागततर्फ १७४ मुद्दा दायर भएका हुन् ।

संस्थागत र व्यक्तिगतमात्र नभई अवैधानिक रुपमा वैदेशिक रोजगारमा पठाउन खोजेमा तिनीहरुलाई सिधै विभागले कारवाही गर्ने गरेको छ ।

इजाजत प्राप्त संस्थाबाट भएका गल्तीको उजुरी विभागमा आउने गरेको विभागका सूचना अधिकारी शशिकुमार लम्सालले बताउनुभयो । तीमध्ये कहिलेकाहीँमात्र कामदारको गल्तीका उजुरी भेट्ने गरेको उहाँले जानकारी दिनुभयो ।

“प्राप्त उजुरीमध्ये कामदारको पक्षमा नै धेरैजसो सुनुवाइ हुने गरेको छ ।” उहाँले भन्नुभयो । वैदेशिक रोजगार विभागले ठगीमा परेकालाई उद्धार गर्दै पनि आएकोे उहाँले जानकारी दिनुभयो । विभागले प्रहरीको अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा विभागमा आएका उजुरीमाथि कारवाही गर्ने गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँमा ६० प्रतिशतभन्दा बढी वैदेशिक रोजगारसंग सम्बन्धित ठगीका मुद्दा दर्ता हुने गरेको परिसरका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । “छिट्टै पैसा कमाउने अभिलाषाले नै मानिसहरु ठगीमा पर्ने गरेका छन्”, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनु जरुरी छ । सरकारले ठगी गर्ने व्यक्ति तथा संस्थालाई कडा कारवाही गर्ने कानून बनाए यस्ता ठगीका घटना कम हुने थिए ।
(रासस)

प्रतिक्रिया दिनुहोस्