लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम सुरु



प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबारदेखि संस्थागत सुदृढीकरणका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । संस्थामा आबद्ध पदाधिकारीहरुलाई संस्थागत सुदृढीकरणका सम्बन्धमा विविध विषयहरुमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

युएसआईडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रममार्फत साझेदार संस्था मिलन म्याग्दीका पदाधिकारीहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

तालिममा लिङ्ग र लैङ्गिकता, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको ढाँचा, आत्मशक्ति क्षमता, लैङ्गिक क्रमबद्धता, विद्यमान लैङ्गिक मान्यता अनुकुल, लैङ्गिक मूल प्रवाहीकरण तथा रुपान्तरणलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको छ ।


तालिमको सुआहारा कार्यक्रमका मातृशिशु तथा बाल स्वास्थ्य एवं लैङ्गिक समानता र सामाजिक समावेशीकरण अधिकृत अनोज गुरुङले सहजीकरण गरिरहेका छन् । दुई दिनसम्म चल्ने तालिममा मिलन म्याग्दीको कार्यसमितिका पदाधिकारी, उपसमिति र विभागका सदस्यसहित १२ जनाको सहभागिता रहेको छ ।

तालिम मिलन म्याग्दीका अध्यक्ष विनय श्रेष्ठको अध्यक्षता र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनको सञ्चालनमा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्