‘प्रहरी भित्रका अपराधिक किराहरु फाल्नुपर्छ’



कृष्ण आचार्य, चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी भित्रका अपराधिक तत्वहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रहरी मातहतका प्रमुखहरुलाई निर्देशन दिन चितवन आएका खनालले पत्रकारसंग कुराकानी गर्दै प्रहरी भित्रका केही नालायक सदस्यहरुले गरेको कामले समग्र प्रहरी संगठन बदनाम हुन नहुने बताए । “प्रहरी संगठनभित्र केही त्यस्ता किराहरु छन्, महानिरीक्षक खनालले भने,त्यस्ता किराहरुलाई फाल्नुपर्छ ।” उनले प्रहरी संगठन सुधारका लागि नै कारवाही र पुरस्कारको प्राबधान राखिएको स्पष्ट पारे ।

खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । “अपराध नियन्त्रण र अनुसन्धानका लागी छुट्टै रणनिती तयार भएको छ,त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ उनले भने ।” देशभरका सबै प्रहरी युनिटलाई कुनै कसर बाँकी नराखी जनताको काम गर्न निर्देशन दिएको खनालले बताए । “अब नागरिक मैत्री प्रहरी हुन्छ, अपराध नियन्त्रण पहिलो प्राथमिकता छ, खनालले भने, समाजमा राम्रो सन्देश जाने किसिमले काम भैरहेको छ र नितरन्तर हुनेछ ।”

प्रहरी संगठनलाई प्राप्त स्रोतसाधन र जनशक्तिको अभाव भएको भन्दै उनले स्रोत साधनलाई अधिकतम प्रयोग गरेर काम गरिने बताए । प्रविधिले अझै जनशक्तिको ठाँउ लिन नसकेले प्रदेश संरचना अनुसार जनशक्ति बढाउँदै जाने खनालले प्रतिबद्धता जनाए । ‘जुन अपेक्षा राखेर सरकारले मलाई यो जिम्मेवारी दिएको छ, त्यसलाई पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन,’ उनको भनाइ थियो ।’

खनालले संघिय प्रहरी ऐन आइसकेपछि त्यसले निदृष्ट गरे अनुसार काम हुने दावी गरे । संघियतामा प्रहरीको संरचना कस्तो बन्ने बिषयमा गृह मन्त्रालयमा कमिटी बनिसकेको भन्दै छिट्टै अन्तिम रुप दिने तयारी भैरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्