तेक्वान्दो टोली हङकङ जाने



काठमाडौं । टप माउन्टेन तेक्वान्दो संघ, हङकङले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा आयोजना गर्ने तेक्वान्दो ग्योरोगी च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली बिहीबार हङकङको जोर्डन प्रस्थान गर्ने भएको छ ।

अप्रिल २९ तारिखमा हुने प्रतियोगिताको महिला ४५ केजीमुनि मेलिशा खड्गीले प्रतिस्पर्धा गर्नेछिन् । गत संस्करणमा मेलिशाले स्वर्ण जितेकी थिइन् । टिम प्रशिक्षकमा मनोज खड्गी छन् ।

टोलीको बसोवास टप माउन्टेन तेक्वान्दो संघका अध्यक्ष गणेश गुरुङले प्रायोजन गरेका छन् । टोलीलाई नेपाल भारात्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठले ट्रयाकसुट प्रायोजन गरेका छन् । टप माउन्टेन तेक्वान्दो संघको हङकङमा ८ वटा शाखा रहेको छ । सबै शाखामा मिलाएर २ सय खेलाडी छन् ।

टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, प्रदेश नम्बर ३ तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्