सँधै खोक्रो आश्वासन



गोरखाको बारपाक केन्द्रविन्दू भएर महाभूकम्प गएको बुधवार ठिक तीन वर्ष वितेको छ । समय पनि कत्ति छिटो वित्ने, थाहै नपाई तीन वर्ष वितेछ । तर काठमाडौं खाल्डो सहित भूकम्प प्रभावित धेरै जिल्लामा पुन निर्माणको अवस्था नियाल्दा भूूकम्प ३ वर्ष होइन, ३ महिना अघि गएझैं देखिन्छ ।

भूकम्प प्रभावित जिल्लाहरुमा मुस्किलले २० प्रतिशतका हाराहारी मात्रै पुन निर्माण भएको छ । सरकारले दिने भन्या अनुदान पाउनेले धमाधम पाइराख्या छन्, कतै अहिलेसम्म अत्तोपत्तो छैन । अनुदान कलप्पै पार्ने, पचाउने र डकार्नेहरुको संख्या पनि कम छैन । टहरामा बसोबास गर्नेहरुको नयाँ छानो कहिले तयार हुने हो, अत्तोपत्तो छैन ।

यस्तै अवस्थाका वीच बुधवार बारपाक भूकम्पको स्मृतिसभा धेरै ठाउँमा भएको देखियो, सुनियो । त्यो पनि राम्रै खर्च र तामझामका साथ । स्मृतिसभा र खाजा खानाका नाममा गरिएको खर्च कुनै विपन्न परिवारको नयाँ टहरो निर्माणमा खर्च ग¥या भएपनि त स्मृति हुन्थ्यो होला नि ? कि सुकिला मुकिला मनुवाहरु भेला भएर लञ्च र डिनर गर्दैमा मात्र सभा सफल सभा मानिने हो, धरहराले बुझ्न सक्या छैन ।

‘आफै त महादेव उत्तानु पर कसले देला बर’ भन्या झैं भन्ने अवस्था छ मेरो आफ्नै त । कहिले यो शैलीमा मलाई नयाँ जिवन दिने भन्या छन्, कहिले ऊ शैलीमा । धेरैको खोक्रो आश्वासनले म दिक्क बन्या छु ।

प्रतिक्रिया दिनुहोस्