जीडीपीको आकार, प्रतिव्यक्ति आय बढ्यो ५.८९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण



नेपाल समाचारपत्र
काठमाडौं
केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ।

आर्थिक वर्ष २०७४÷७४ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन प्रस्तुत गर्दै विभागले ४ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि हुने एसियाली विकास बैंक र ४ दशमलव ६ प्रतिशत हुने विश्व बैंकको अनुमानभन्दा फरक र बढी देखिने गरी मुलुकको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ।

भूकम्प र नाकाबन्दीका कारण आर्थिक वर्ष २०७२÷७३ मा मुलुकमा शून्य दशमलव २ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल गरेको थियो भने गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर पछिल्लो दुई दशकयताकै बढी अर्थात् ७ दशमलव ५ प्रतिशत पुगेको विश्व बैंकले तथ्यांकले देखाउँछ।

लोडसेडिङमा कमी, कृषिका लागि अनुकुल मौसम र पुनर्निर्माणको कामले गति लिएका कारण गत आथिक वर्ष २०७३/७४ मा आर्थिक वृद्धिदर बढिरहेको विश्व बैंकले जनाएको छ। तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा मौसमको प्रतिकुलताका कारण कृषि क्षेत्रमा भने उल्लेख्य वृद्धि हुन सकेको देखिँदैन। तर, पर्यटन आगमनमा भएको वृद्धि, विद्युत् आपूर्तिमा भएको सहजता, स्वदेशी वस्तु उत्पादनमा भएको वृद्धि र सामाजिक सेवामा सकारात्मक सुधार देखिएकाले आर्थिक वृद्धिदर अपेक्षाभन्दा बढी प्रक्षेपण गरिएको देखिएको हो।

पुनर्निर्माण क्रममा वन पैदावारका सामग्री र उत्खनन् क्षेत्रमा उत्पादन बढेकाले आन्तरिक उत्पादकत्व बढेको देखिएको विभागले जनाएको छ। चालू आर्थिक वर्षको ९ महिना अवधिसम्म देखिएका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको विभागले जनाएको छ। विभागले चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपियाँ पुग्ने जनाएको छ। समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्र गरी तीन समूहमा विभाजन गरी तथ्यांक विश्लेषण गरिएको छ। सार्वजनिक भएको सो लेखा तथ्यांकमा प्राथमिक क्षेत्रअन्तर्गतका कृषि तथा वन, मत्स्य र खानी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा २८ दशमलव २१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ। यसैगरी द्वितीय क्षेत्रअन्तर्गतका निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानीले कुल गार्हस्थ्य उत्पादनमा १४ दशमलव १८ योगदान रहने अनुमान गरिएको छ।

प्रतिव्यक्ति आय

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आयमा पनि सुधार देखिने जनाएको छ। गत आर्थिक वर्ष २०७३÷७४ मा ८ सय ६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय चालू आर्थिक वर्षमा १ सय ४२ अमेरिकी डलरले बढेर १ हजार ४ डलर अमेरिकी डलर (१ लाख ३ हजार ३ सय ३५ रुपियाँ) पुग्ने अनुमान गरिएको छ।

कुल गार्हस्थ्य उत्पादन

चालू आर्थिक वर्ष २०७४÷७५ को पुसदेखि चैत महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा तयार गरिएको तथ्यांक अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को स्थिर मुल्य वृद्धिदर आधारभूत मूल्यमा ५ दशमलव ८९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

जीडीपीमा सबैभन्दा धेरै सेवा क्षेत्रको योगदान देखिएको छ। चालू आर्थिक वर्षमा कुल जीडीपीको ५७ दशमलव ६१ प्रतिशत सेवा क्षेत्रको योगदान रहने भन्सार विभागको तथ्यांकमा उल्लेख छ। सेवा क्षेत्रअन्तर्गत खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य, अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्दछन्।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ७ दशमलव १० प्रतिशत र गैरकृषि क्षेत्रले ७२ दशमलव ९० प्रतिशत योगदान रहेको छ। गत साउन र भदौ महिनामा तराईका जिल्लामा गएको बाढीका कारण धान उत्पादन घटे पनि कृषि क्षेत्रको वृद्धि २ दशमलव ८२ प्रतिशत देखिन्छ।

कुल गार्हस्थ्य उत्पादनमा ७ दशमलव ६ प्रतिशत योगदान रहेको निर्माण क्षेत्रमा १० प्रतिशतको आर्थिक वृद्धि हासिल हुने विभागले जनाएको छ। जीडीपीमा विप्रेषणको प्रतिशत भने घट्दै गएको देखिन्छ। विभागको प्रतिवेदन अनुसार गतवर्ष जीडीपीमा विप्रेषणको योगदान २६ दशमलव ३२ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा घटेर २४ दशमलव ५२ प्रतिशत रहने अनुमान गरिएको छ।

त्यसैगरी जीडीपीमा कृषि तथा वन क्षेत्रको योगदान २७ दशमलव १० प्रतिशत, निर्माण क्षेत्रको ७ दशमलव ६० प्रतिशत, थोक तथा खुद्रा व्यापारको १३ दशमलव २६ प्रतिशत, विद्युत्को १ दशमलव १९ प्रतिशत योगदान रहने अनुमान छ।

निजी क्षेत्रबाट उद्योग तथा व्यापारको क्षेत्रमा बढेको लगानी, पुनर्निर्माणको काममा देखिएको चुस्तता र तीन तहको चुनावका कारणले मुलुकमा अर्थतन्त्रको आयतन बढेको विभागका महानिर्देशक सुमनराज अर्यालले बताउनुभयो। ‘विगतमा कृषि क्षेत्रको जीडीपीमा बढी योगदान देखिन्थ्यो तर अहिले कृषि क्षेत्र केही खुम्चिएको छ। कृषि क्षेत्र कमजोर भए पनि पनि सेवा क्षेत्र बलियो देखिएकाले आर्थिक वृद्धिमा त्यसको सकारात्मक असर देखिएको हो।’ अर्यालले भन्नुभयो।

अन्य निकाय र विभागले गर्ने तथ्यांक विश्लेषणको विधि फरक भएका कारण विश्व बैंक, एसियाली विकास बैंक तथा अर्थ मन्त्रालय, योजना आयोगलगायत अन्य सरकारी निकायको आर्थिक प्रक्षेपणमा फरकपन देखिएको महानिर्देशक अर्यालको भनाइ छ।

-आर्थिक वृद्धिदर ५ दशमलव ८९ प्रतिशत
-प्रतिव्यक्ति वार्षिक आय १ लाख ३ हजार ३ सय ३५ रुपियाँ
-जीडीपीमा कृषि क्षेत्रको ७ दशमलव १० प्रतिशत र गैरकृषि क्षेत्रको ७२ दशमलव ९० प्रतिशत योगदान
-जीडीपीमा ५७ दशमलव ६१ प्रतिशत सेवा क्षेत्रको योगदान

प्रतिक्रिया दिनुहोस्