कोहलपुर एक्सप्रेसका ड्राइभर तीन नायिका



रश्मी थापा

हामी सबै कोहलपुर एक्सप्रेसका ड्राइभर। कोहलपुर एक्सप्रेस फिल्म हामी तीन जनाले ड्राइभिङ गरेका छौं।’ –नायिका केकी अधिकारीद्वारा पहिलोपटक निर्मित फिल्मलाई लिएर उनीसहित प्रियंका कार्की र ऋचा शर्माले बुधबार राजधानीमा आयोजित एक अनौपचारिक कार्यक्रममा एकै स्वरमा भने।

नायिकात्रयले एकै स्वरमा थपे पनि– ‘मान्छेहरू लेडिज ओरेन्टेड फिल्म चल्दैन भन्छन्। तर, त्यस्तो फिल्म नै नबनेपछि कसरी चल्छ? चल्छ कि चल्दैन भनेर हेर्न पहिला बनाउनु त पर्यो नि?’ भोलि शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्मका बारेमा उत्साहित हुँदै नायिका प्रियंका कार्कीले भनिन्– ‘यसमा महिला पात्र हावी भएकाले पनि यसलाई फिमेल ड्राइभ फिल्म भन्नुपर्छ।

केकीले पहिलोपटकको निर्माणमा महिला पात्र बढी भएको स्क्रिप्ट चुज गरेकोमा खुसी लाग्यो। म यो पात्रमा खेल्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु।’ अर्की नायिका तथा फिल्मकी निर्मात्री केकीले यो फिल्ममा महिला पात्र मिल्ने साथी मात्र नभएर व्यावसायिक अभिनेतृ भएकाले प्रियंका र ऋचालाई लिएको बताइन्। ‘फिल्ममा महिला क्यारेक्टरको यस्तो रोल छ कि मलाई साथीभन्दा पनि प्रोफेसनल एक्टरको खाँचो थियो। जब हामीले स्क्रिप्ट ओके गर्यौं। यसमा भएको दुई फिमेल पात्रमा प्रियंका र ऋचा भए राम्रो हुन्थ्यो भन्ने कुरा निर्देशक विशाल भण्डारीबाट आएपछि मैले दुवै जनासँग कुरा गरें’, केकीले भनिन्– ‘साथीको सम्बन्ध एक ठाउँमा छ। उनीहरूले पनि स्क्रिप्ट हेरेर ओके गरे।’

केकीले फिल्म बनाउने निर्णय लिँदा फिल्म निर्देशक बुबा बद्री अधिकारीको प्रतिक्रिया कस्तो होला भन्ने सोचेर निर्माणको घोषणापछि मात्र भनेको बताइन्। ‘बाबाको रियाक्सन कस्तो होला भन्ने डरले पनि मैले फिल्म बनाउने निर्णय गर्दासम्म भन्न सकेको थिइनँ। किनभने व्यस्त भइरहेको बेला यति सानो उमेरमै यति ठूलो जिम्मेवारी नलिओस् भन्ने चाहना बाबाको हुनु स्वभाविक नै हो। बुबा पनि यही फिल्डको भएकाले सबै थाहा थियो। तर, मैले कुनै पनि निर्णय सोच विचार नगरी लिन्न भन्ने कुरा बाबालाई थाहा थियो, त्यसैले यसबाट पनि सजिलो भयो।’

नायिका ऋचा शर्माले नायिका तथा गायिका तिर्सना बुढाथोकीको हाउभ(ाउमा आधारित भूमिकामा आफू रहेको बताइन्। ‘मलाई यो क्यारेक्टरमा खेल्दा निकै रमाइलो भयो यो वास्तविक तिर्सना होइन तिर्सनाको हाउभ(ाउबाट प्रभावित काल्पनिक तिर्सना हो।’ –उनले भनिन्।

फिल्मका निर्देशक विशाल भण्डारीले ७ महिनाको मेहनतपछि कोहलपुर एक्सप्रेसको साथ आएको बताए। ‘मलाई तीन नायिकालाई एउटै फ्रेममा ल्याउने मन थियो। केकी, प्रियंका र ऋचा जस्ता लिडिङ लेडीलाई फिल्म निर्देशन गर्ने रहर पूरा भएको छ।’ त्यसै गरी नायक विनोद न्यौपानेले कोहलपुर एक्सप्रेसमा काम गर्दा धेरै कुरा सिक्ने मौका मिलेको बताए।

 

प्रतिक्रिया दिनुहोस्