आक्रमणले जरजर बन्यो सिरिया



मनोज रेग्मी
सिरिया आक्रमण र त्यसले निम्त्याएका अनेक अप्ठ्यारा स्थिति, प्रकोप र अत्यन्तै दुःखदायी तस्वीर यतिबेला सामाजिक संजाल, विश्वभरका संञ्चार माध्ययममा व्यापक देख्न पाइएको छ।

युद्धको चपेटमा परेका त्यहाँका बासिन्दा, बालबालिकाको ह्दयविदारक तस्वीरले कस्को मन छुन्न होला र ? कहिलेकाहीं तस्वीर हेर्दा मानवता नै सबैमा हराइसकेको जस्तो पनि लाग्छ। पछिल्ला दिन सिरियामा भएका हमला र त्यसबाट मारिएका, घाइते र विस्थापितको अवस्थाले विश्वको ध्यान तानेको छ। सिरिया सरकारले एकतर्फी युद्धबिराम भंग गरेको र त्यसमा अमेरिकी सरकारको समेत साथ रहेको भन्दै चर्को आलोचना भैरहेको छ। युद्धबाट प्रभावित बालबालिकाका र त्यहाँका स्थानीय बासीन्दाहरू छटपटाईरहेका छन्।

गएका केही दिनदेखि चरम रूपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने संकेत भने देखिएको थियो। तर, रोकिनु त कहाँ हो कहाँ, यो झन मौलाएको छ। युद्धविरामसम्बन्धी प्रस्तावमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ। युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठकसमेत बस्नुपरेको समाचार हामीले सुन्न पाएका छौँ। पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा निकै आक्रामक रूपमा नै आक्रमण गरेको देखिन्छ। आक्रमणमा परी पछिल्लो दुई हप्तामा करिब ५०० जना सर्वसाधारण मारिएका छन्।

|आक्रमणमा मारिनेहरूमा अधिकांश बालबालिकाहरू रहेको आक्रमणको अनुगमनमा खटिएका सुरक्षाकर्मीहरूले समाचारमाध्यमहरूलाई बताएका छन्।

मानव हत्याको अवस्था र आक्रमणको विराकाल स्थिति उत्पन्न भएपछि संयुक्त राष्ट्रसंघले केही समयका लागि मात्र भएपनि युद्धविरामको पहल गरेको छ। सुरुमा यस प्रस्तावमा रुसको विरोध भएपछि लम्बिएको थियो। तर, मानवअधिकारवादीले मानव सुरक्षाका लागि युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेको भनिएको थियो। सोहीबमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा यस प्रस्तावमा छलफल भएको थियो।

सिरियामा सन् २०११ को मार्चबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो। त्यो आन्दोलनले केही वर्षयता आएर भने हिंसाको रूप लिएको छ।जारी आन्दोलनमा परी हालसम्म ३ लाख ४० हजारभन्दा बढी मानवीय क्षति भइसकेको छ। त्यस्तै लाखौँ मानिसहरू घाइते भएका छन्। तर यसमा युद्र्धिवरामका पहलहरूले त्यति सार्थकता पाएको देखिएको छैन्। हामीले समाचार पढेका छौँ। सिरियाको द्वन्द्ध आक्रमणका दुःखद झलक पनि देखेका छौँ। तर, वास्तविकता के हो भन्ने जानकारीहरू कमै रहेको पाइएको छ।
आखिर के भइरहेको छ सिरियामा ? किन मारिएका छन् लाखौँ मानिसहरू ?

के हो सिरिया हिसांको मुख्य जरो ?

सिरियामा हिसां सुरु हुनुभन्दा पहिला सिरियाका तत्कालीन राष्ट्रपति बशर अल असदको नेतृत्वमा उच्च बेरोजगारी र भ्रष्टाचार भएको र राजनीतिक स्वतन्त्रता नभएको भन्ने आलोचना सुनिने गथ्र्यो। त्यसपछि असदले सन् २००० मा आफ्ना बुबा हाफिजको निधन भएपछि सत्तारोहण गरेका थिए। छिमेकी देशहरूमा भएको अरब क्रान्तिको प्रभावमा सिरियाको दक्षिणी नगर डेरामा मार्च २०११ प्रजातन्त्रको समर्थनमा प्रदर्शनकारीहरू सडकमा उत्रिए। सरकारले विरोधीहरूलाई दमन गर्न ठूलो शक्ति र व्यापक बल प्रयोग गरेपछि राष्ट्रपतिको राजीनामा माग गर्दै देशभरि आन्दोलनहरू चर्कन थाले।

एकातिर आन्दोलनकारीहरू राष्ट्रपतिको राजिनामा माग गरिरहेका थिए भने अर्कोतर्फ राष्ट्रपति असद आफ्नो पद जोगाउन राजनीतिक खेलमा बल प्रयोग गरिरहे। समय बित्दै जाँदा आन्दोलनले विकराल रूप लिन थालेपछि विपक्षी समर्थकहरूले हतियारको सहारा लिन थाले। सुरुमा त हतियार आत्मरक्षाका लागि मात्रै प्रयोग गरिएको थियो तर, पछि यसको प्रयोग सरकारका सुरक्षाकर्मीहरूलाई आफ्नो क्षेत्रबाट भगाउन प्रयोग गर्न थालियो। असदले भने विदेशी शक्तिको भरमा मोटाएको आतंकवाद सखाप पारेरै छाड्ने कसम नै खाए। बिस्तारै आन्दोलन कुरूप बन्दै गयो, आन्दोलन नियन्त्रण गर्न निकै कठिन भयो र मुलुक युद्धको संघारमा फस्न पुग्यो। सरकारी सुरक्षाकर्मीसँग लडाई गर्न विपक्षीहरूले पनि विद्रोही ब्रिगेडको निर्माण गर्न थाले। सिरियामा त्यसपछि रगतको खोला बग्न सुरु भयो, कैयौं मानिसहरूको ज्यान गयो, हजारौँ बालबालिकाहरू मारिए।

अहिले यो राष्ट्रपति र विद्रोही पक्षको मात्र युद्ध रहेन। सिरियामा जब क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरू, इरान, रसिया, साउदी अरबिया र अमेरिका लगायतले आक्रमण गरे त्यसपछि लाखौंको संख्यामा मानिसको ज्यान जान सुरु भयो। यसमा आ–आफ्ना उद्देश्य भएका समूह र देशहरू पनि संलग्न हुन आइपुगेका छन्। त्यसले गर्दा परिस्थिति झनै जटिल बन्दै गएको छ। युद्ध लम्बिदै गएको छ। समूह र देशहरूलाई सिरियाभित्र रहेका धार्मिक समूहबीच घृणा फैलाउन उक्साएको आरोपसमेत लाग्ने गरेको छ।

विश्वकै शक्तिशाली आतंकवादी संगठन आइएस जसले सिरियामा सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएको छ। उत्तरी र पुर्वी सिरियामा आफ्नो कब्जा कायम राख्न आइएस सरकारी सैनिक, बिद्रोही ब्रिगेड र कुर्दिस मिलिसियासँग लड्दै आइरहेको छ। आइएस अमेरिका र रसियाको समेत मुख्य निशानमा रहेको छ। हजारौंको संख्यामा सिया मिलिसियाहरू इरान, लेबनान, इराक, अफगानिस्तान र यमनबाट सिरियामा युद्ध लडिरहेका छन्। उनीहरूले अरू केही नभई धर्म रक्षाकै लागि युद्ध गरिरहेको बताउँदै आइरहेका छन्।

यसरी भयो युद्धको सुरुवात 

क्षेत्रफल करिब १ लाख ८२ हजार वर्ग किलोमिटर भएको सिरिया भौगोलिक रूपमा नेपाल भन्दा थोरै ठूलो छ। करिब ३ करोडभन्दा बढी जनसंख्या भएको देशको सीमाना टर्की, इराक, जोर्डन, इजरायल र लेबनानसँग जोडिएको छ। सिरिया सन् १९४६ मा फ्रान्सको उपनिवेशबाट मुक्त भएको थियो।

सिरियाको युद्ध, लामो समयदेखि असद सरकारका विरुद्ध प्रजातन्त्रको माग गर्दै गरिएको सानो प्रदर्शनबाट सुरु भएको हो। असद परिवारले सन् १९७१ बाट एकतर्फी रूपमा सत्ता सम्हाल्दै आइरहेको छ। सन् १९७० मा तत्कालीन रक्षामन्त्री हफेज अल असदले लगातार ३० वर्षसम्म शासन गरे। हफेजको मृत्यु पछि सन् २००० बाट हालसम्म उनका कान्छा छोरा बसर अल असदले सत्ता चलाउँदै आएका छन्। सन् २०११ मार्चमा अरब मुलुकहरूका तानाशाही शासकहरूका विरुद्ध चलेको आन्दोलनका क्रममा केही किशोरहरूलाई जेलमा थुनियो र केहीको आन्दोलनका क्रममा मृत्यु पनि भयो। सोही घटना नै सिरियाको भयानक गृहयुद्धको जरो हो। सत्ताले बल प्रयोग गरि निहत्था किशोरहरूको हत्या गरेपछि त्यहाँ तत्कालै सरकारका विरुद्ध ठूला आन्दोलनहरू सुरु हुन थाले, र सिरियाका सुरक्षाकर्मीले बल प्रयोग गरी कैयौंको हत्या गरेपछि प्रदर्शनहरू देशव्यापी रूपमा फैलिन थाले र शान्तिपूर्ण प्रदर्शन सशस्त्र बिद्रोहमा परिणत हुने क्रम सुरु भयो।

शक्तिशाली देशहरू सिरियामा आक्रमण किन गरिरहेका छन ?

गत शनिबार बिहानै अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि गरेको आक्रमणको समाचारले विश्व नै चर्कायो । निर्दोष जनतामाथि रासायनिक हतियार प्रयोग गरेको आरोपमा सिरियाली राष्ट्रपति बसर असदलाई सजाय दिने चेतावनी यसअघि नै शक्तिशाली देशहरूले दिइसकेका छन्। त्यसपछि यस्तो हमला गरियो। नाटोमा आबद्ध यी शक्तिशाली राष्ट्रहरूले राजधानी दमास्कस र होम्स प्रान्त नजिकै मिसाईल आक्रमण गरेका हुन्। उनीहरूका अनुसार रासायनिक हतियारसँग सम्बन्धित क्षेत्रमा मिसाइल खसालिएको बताएका छन्।

राष्ट्रपति असादको पद धरापमा परेपछि रसियाले उनको मद्दत गर्न खाजेको थियो। आइएससँग लगातार पराजित भएपछि सन् २०१५ मा सिरियामा सन्तुलन बनाइराख्न मद्दत गरेको थियो। मस्कोले आतंकवादी मात्रै आफ्नो निशानामा रहने बताएको थियो। ६ महिनापछि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मिसन सकिएको भन्दै सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरे। सन् २०१६ मा रसियाले अत्याधुनिक हातहतियारको प्रयोग गर्दै विद्रोही संगठनलाई ध्वस्त पार्ने काम गरेको थियो। यसै सम्बन्धमा इरानले अरबौं रकम यस युद्धमा खर्चेको छ। अलाविदको दबदबा रहेको सरकारलाई बलियो बनाउन पनि सैन्य तथा आर्थिक सहयोग गरेको थियो। हतियार पनि सहज रूपमा सिरियालाई उपलब्ध गराउने तथा तेल ओसारपोसारमा समेत मद्दत गर्ने गरेको थियो।

मिडिया रिपोर्टका अनुसार हजारौंको संख्यामा इरानले सिरियामा आफ्ना सैनिकहरूलाई पनि पठाएको थियो। असादको इरान र अरबसँगको राम्रो सम्बन्धले पनि उनले धेरैभन्दा धेरै सहयोग पाइनै रहे। सिरिया तेल आयात गर्नका लागि प्रमुख ट्रान्जिट भएका कारण पनि सबैको निशानामा रहेको थियो। इरानबाट हातहतियार ल्याउनका लागि लेबनानी सिया इस्लामिसट संगठन हेजबोल्लाहको प्रमुख गन्तब्य पनि सिरिया नै बनेको थियो। जसका लागि पनि उसले सरकारलाई सहयोग गर्न हजारौं सेना सिरिया पठाएको थियो। उता अमेरिकाले भने सिरियामा भएको विनाशको जिम्मेवार राष्ट्रपति असाद भएको बताएको थियो।

सन् २०१४ को सेप्टेम्बरदेखि अमेरिकाले सिरियामा हवाइ आक्रमण गर्न सुरु गर्यो। पहिलो आक्रमण अमेरिकाले एयरबेसमा गरेको थियो। पछि सोही केन्द्रलाई केन्द्रित गरी केमिकल आक्रमण पनि भएको थियो। तर, अहिले मिसायल आक्रमणसम्म गरेको छ। अहिले सिरिया मुद्दालाई लिएर रुस र अमेरिका सम्मिलित नेटो सैनिक विरोधमा छन्। राष्ट्रपति बसर अल असदलाई सत्तामा टिकाउने रुसको स्पष्ट योजना छ। रुसले अप्रत्यक्ष रूपमा चीन र इरानको साथ लिएको छ। उता अमेरिकाको योजना भने कुनै पनि हालतमा सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउने रहेको छ। त्यसका लागि अमेरिकाले आक्रमण गरिरहेको छ। यसै कारणले सिरियाको युद्ध शक्तिशाली मुलुकहरूसँग जोडिएको विभिन्न विदेशी समाचार माध्यमहरूले उल्लेख गरेका छन्।

युद्धको असर र मानवीय क्षति

संयुक्त अधिराज्यमा आधार भएको र स्थलगत पर्यवेक्षण गर्न सञ्जाल भएको समूह सिरियन अब्जर्भेटरी फर ≈युमन राइट्सले गत मार्च महिनासम्म ३ लाख ५३ हजार ९ सय मानिसहरूको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ। त्यसमध्ये हराएका वा मारिएका भन्ठानिएका ५६ हजार ९ सय मानिसहरूको संख्या नजोडिएको बीबीसीले जनाएको छ।
सन् २०१५ मा सार्वजनिक गरिएको युएनको रिपोर्टका अनुसार युद्धका पाँच वर्षमा २ लाख ५० हजार मानवको क्षति भइसकेको उल्लेख गरेको छ।
विभिन्न समाचार माध्यमहरूले उल्लेख गरेको तथ्याङ्कको आधारमा ५० लाखभन्दा बढी मानिसहरूले सिरिया छाडिसकेका समाचार उल्लेख गरेका छन्। लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नुपरेको तथ्य बाहिर आएको थियो।१० प्रतिशत शरणार्थीहरू सुरक्षित रूपमा युरोप पुगेका थिए। ६३ लाख सिरियाली जनता भने घरबार विहीन भई गरिबीको रेखामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्