सडक मिचेर बनेका ३ सय बढी घर भत्काउन डोजर प्रयोग



यमलाल भुसाल, बुटवल ।
सडकक्षेत्र मिचेर बनेका बुटवलका तीन सय ११ घर भत्काउन डोजर प्रयोग गरिएको छ ।

बुटवलका तीन सय ११ घरहरु बुधवारवाट भत्काउन शुरु गरिएका बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले जनाएको छ ।
बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले यही वैशाख ४ गते डोजर चलाउन थालेपछि घरधनीले अन्तिम पटकका लागि भन्दै एक हप्ताको समय मागेका थिए । एक हप्ताको समय मंगलवार नै सकिएको हो ।

बुधवार बिहान ११ बजेदेखि डोजर लगाएर भत्काउन थालिएको बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले बताउनु भयो ।

राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर सडक खण्डमा तीन सय २५ घर सडक मिचेर बनेका छन् ।
अहिले ४ लेनमा रहेको यो सडकलाई ६ लेनमा विस्तार गर्ने प्रकृया शुरु गरेसँगै घरधनीहरुले विस्तार रोक्न कहिले अदालत, कहिले सरकार त कहिले दलहरुको शरणमा पुगेर अवरोध सिर्जना गर्दै आएका थिए । तर उनिहरुको सुनवायी भने भएन ।
आव २०६८ ।६९ देखि निर्माण सुरु भएको यो सडकको ११ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ ।

आव २०७० । ७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो ।

व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ३ अर्ब ३ करोड ८३ लाखमा ठेक्का दिइएको थियो । आर्थिक वर्ष २०७३ ।७४ देखि राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक आयोजनामा थपिएको हो ।

योसमेत गरी ५ अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइने छ ।

प्रतिक्रिया दिनुहोस्