विदेशबाट फर्किएर मौरीपालनः वार्षिक १४ लाख आम्दानी



प्रताप बानियाँ, म्याग्दी ।
वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन सुरु गरेका मंगला गाउँपालिका–१, कुहुँ, म्याग्दीका गोविन्द खत्रीले वार्षिक १४ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । स्वदेशमा केही काम पाइएन भन्दै विदेश पुगेर उहाँले त्यहाँ पनि सोचेजस्तो कमाई नभएपछि गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट मौरी, मह, पोला र मौरीघार बिक्री गरेर वर्षमा १३÷१४ लाख रुपैयाँ आम्दानी गर्नुभएको हो ।

विदेशको भुमी ईराकमा ७ वर्ष, साउदी अरबमा ४ र ईन्डियामा साढे दुई गरी झण्डै १४ वर्षको समय बिताएर फर्किनुभएका खत्री अहिले गाउँमै मौरीपालन व्यवसायमा रमाउनुभएको छ । उहाँले विदेशबाट फर्किएको चारपाँच महिनाको अन्तरालमै सुरुमा ३ ओटा मौरीका घारबाट मौरीपालन व्यवसाय सुरु गर्नुभएको थियो । अहिले ८७ ओटा घारमा मौरीपालन गरेर मह उत्पादन भैरहेको खत्रीले बताउनुभयो ।

मौरीपालन व्यवसायमा जिल्लाकै अगुवा कृषक समेत बन्नुभएका खत्रीले चालु वर्षको फागुन चैतमा मात्रै झण्डै ३ क्वीन्टल मह उत्पादन भएको दावी गर्नुभयो । उहाँले २५० केजी भन्दाबढी मह बिक्री गरेको जानकारी दिनुभयो । उहाँले घरबाटै प्रतिकेजी एकहजार पाँचसय रुपैयाँको दरमा मह बिक्री गर्दै आउनुभएको छ । मौरीसहितको घारलाई ८ हजार मुल्य पर्ने उहाँ बताउनुहुन्छ । मौरीपालक कृषक खत्रीले हरेक वर्षको जेठ, कात्तिक र फागुन महिनामा मह काढ्ने गर्नुभएको छ । उहाँले एक सिजनमा मात्रै चारपाँच लाख रुपैयाँ मह बिक्री गरेर कमाउनुहुन्छ । उहाँले हरेक वर्ष जेठ, कात्तिक र फागुनमा मह काढ्नुहुन्छ । गाउँघरमा कात्तिक महिनाको मह राम्रो मान्ने गरिएको छ ।

मौसम अनुकुल र मौरीले राम्रोसँग मह उत्पादन गरेको खण्डमा वर्षमा १४ लाख रुपैयाँ मह बिक्री गरेरै आम्दानी हुने गरेको उहाँले ठोकुवा गर्नुभयो । विगत ४ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका कृषक खत्रीले वर्षमा न्युनतम आठदश लाख रुपैयाँ मौरीबाटै आम्दानी हुनेहुँदा पाँचलाख रुपैयाँ बचत गर्ने गरेको बताउनुभयो । उहाँले जिल्लाको भकिम्ली, राखु, पाँकु, कोत्राबाङ, पैयुँपाटालगायत ठाउँमा मौरीसहितका घारहरु बेच्नुहुन्छ । उहाँ हरेक वर्षको कात्तिक, मंसिर र फागुनदेखि जेठ महिनासम्म विशेष गरी मौरीको हेरचाह गरेर घरमै बस्नुहुन्छ । यो समयमा उहाँले मौरी छुट्याउने, घार सार्ने, राना उत्पादन र मौरी हेर्ने जस्ता कामहरु गर्दै आउनुभएको छ ।

मह किन्न घरमै पुग्छन् न्यायाधीशदेखि सर्वसाधारण

मौरीपालक कृषक खत्रीको घरमा मह खरिद गर्न भनेर जिल्लाबाट न्यायाधीश, सिडिओ र सेनाका मेजरसहित उच्च सरकारी अधिकारीहरु पुग्ने गरेका छन् । उहाँले घरबाटै प्रतिकेजी एकहजार पाँचसय रुपैयाँको दरमा मह बिक्री गरिरहनुभएको छ भने घरमा पुग्ने जो कोहीलाई पनि मह चखाएर पठाउनुहुन्छ । मह उत्पादन गर्नसके बजारको समस्या नभएको बताउँदै खत्रीले मह काढ्नुभन्दा पहिला नै फोन गरेर ग्राहकहरुले महको अर्डर गर्ने गरेको बताउनुभयो ।

म्याग्दीको कुहुँ गाउँमा उत्पादित मह म्याग्दीसहित विभिन्न जिल्लामा बिक्री हुँदै आएको छ भने विदेशमा समेत पुग्ने गरेको छ । कुहुँका कृषक खत्रीले आफ्नो घरमा उत्पादन गरेको मह विदेशको जापान, अस्टे«लिया, अमेरिकासहित विभिन्न देशमा पुगेको छ । रोजगारको सिलसिलामा विदेश पुग्ने नेपाली, अध्ययन गर्न जाने विद्यार्थीहरु र घुम्न जानेले मह खरिद गरेर लैजाने गरेको उहाँले बताउनुभयो । विदेशमा रहेकाहरुलाई उनीहरुका आफन्तहरुले कोसेलीका रुपमा मह किनेर पठाउने गरेका छन् ।

महलाई स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाजनक मानिन्छ । महको प्रयोगले शरिर तथा मेरुदण्ड दुखेमा, रुघाखोकीलगायत स्वास्थ्य समस्याको समाधान गर्नमा सहयोग पुग्ने जानकारहरु बताउँछन् । धार्मिक हिसाबले पनि महलाई शुद्द मानिएको छ । गाउँघरमा पुजापाठ गर्दा समेत महलाई प्रसादको रुपमा चढाउने गरिन्छ भने धार्मिक कार्यमा पञ्चामृत बनाउँदा मह नभई नहुने अति आवश्यक चिज पनि हो । महलाई हरेक हिसाबले राम्रो मानिने हुँदा महको उत्पादन र व्यवसायिक प्रवद्र्धनतर्फ कृषकहरु आकर्षित हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्