खोटाङको दुई गाउँपालिकामा अझै ईन्जिनियर पुगेनन्



रामधन राई, खोटाङ ।
भुकम्पले घर भत्किएको तीन बर्ष हुँदा समेत ईन्जिनयर नपुग्दा खोटाङको भुकम्प पीडित अन्यौलमा परेका छन् । जिल्लाको ऐसेलुखर्क र बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि ईन्जिनियर नपुग्दा पूर्ननिर्माणको लागि स्थानीय अन्यौल बनेका हुन् ।

पुनः निर्माणका लागि नक्सा र प्राविधिक सल्लाह नपाउँदा अन्यौलमा परेको भूकम्पपीडितको भनाई छ । जिल्लाका केही पीडितले भने बिना नक्सा र प्राविधिक सल्लाहमा घर पुनः निर्माण गरिरहेका छन् । गाउँपालिकामा इन्जिनियर नआएपछि पटक–पटक खबर गर्दा समेत प्राधिकरणले चासो नदिएको पालिका प्रमुखको गुनासो छ ।

जिल्लाका आठ हजार ४ सय ४३ घर भूकम्पपीडितमध्ये हालसम्म आठ हजार १ सय ५१ घर पीडित परिवारले मात्र पहिलो किस्ता बापतको रकम पाएका छन् । पुनः निर्माण प्राधिकरणबाट करिब वर्ष दिनअघि पहिलो किस्ता बापतको रकम आए पनि अहिलेसम्म २ सय ९२ घर पीडित परिवारले रकम पाएका छैनन् ।

कागजपत्र नमिलेको तथा सम्झौता गर्न बाँकी परिवारलाई पहिलो किस्ता बापतको रकम दिन बाँकी रहेको प्राधिकरणका सम्पर्क व्यक्ति एवम् निमित्त समन्वय अधिकारी रविकिरण आचार्यले बताउनुभयो । पहिलो किस्ताका लागि प्रति परिवार ५० हजारका दरले ४२ करोड २१ लाख ५० हजार रकम आएको थियो ।

प्रतिक्रिया दिनुहोस्