‘म कोदालो खन्न र डोकोमा इट्टा बोक्न तयार छु’



काठमाडौं  । प्रधानमन्त्री ओलीले भुकम्पबाट क्षतिग्रस्त बनेको धरहराको भग्नावशेषका अगाडि उभिएर मार्मिक भाषण गरेका छन् ।

भू–कम्पले भवन, राष्ट्रिय सम्पदाहरु ढलेको लामो समय भइसक्दा समेत निर्माण हुन नसकेको सन्दर्भमा प्रधानमन्त्री ओलीले भने ‘हाम्रो शानलाई स्वाभिमानसाथ उठाउनु छ । त्यसका लागि म कोदालो खन्न तयार छु, खर्पन र डोकोमा इँटा बोक्न तयार छु । हामी जहाँ छौं, त्यहिँबाट नव–निर्माणमा जुटौं ।’ प्रधानमन्त्री ओलीले उक्त भनाई सामाजिक सञ्जाल ट्वीटरबाट समेत शेयर गरेका छन् ।

प्रधानमन्त्री ओलीले अघिल्लो पटक सरकारमा हुँदा अघि सारेको ‘म बनाउँछु मेरो धरहरा’ कार्यक्रमलाई निरन्तरता दिँदै छिट्टै धरहरा निर्माण कार्य सुरु गर्दैछन् । बुधवार विहान काठमाडौं महानगरपालिकाद्वारा धरहरा परिसरमा आयोजित भूकम्प स्मृति सभामा प्रधानमन्त्रीले म बनाउँछु मेरो धरहरा कार्यक्रम सबै नेपालीको नारा हुनुपर्ने बताउँदै पुननिर्माणको लागि सबै जुट्नुपर्ने बताए ।

‘मैले पहिला फागुन ४ मा आव्हान गरेको थिएँ कि म बनाउँछु मेरो धरहरा हरेक नेपालीको नारा हुनुपर्छ । म पुनः भन्दैछु म बनाउँछु मेरो धरहरा सवै नेपालीको नारा बन्नुपर्छ’ उनले भने, ‘यसका लागि म कोदालो लिएर आउनुपर्छ भने आउँछु । इटा लिएर आउनुपर्छ आउँछु, खर्पन लिएर आउनुपर्छ भने आउँछु । अरु के सहयोग चाहिन्छ, म गर्छु, सवै लागौं ।’

‘सभ्यता नमासी, उस्तै देखिने गरी बनाउनुपर्छ । अझ राम्रो बनाउनुपर्छ । देख्ता उस्तै तर वलियो बनाउनुपर्छ’ प्रधानमन्त्रीले भने ।  उनले रानीपोखरी, वसन्तपुर, काष्ठमण्डप लगायतका संरचना तिव्र गतिमा निर्माण गर्न सकिने बताएका छन् । २०७२ बैशाख १२ गते मध्यान्ह ११ः५६ मा गोरखा केन्द्र बनाएर ७.९ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो ।

नेपालमा करिब ९ हजार मानिसको ज्यान लिएको भुकम्पमा करिब २० खर्ब रुपैयाँका भौतिक सम्पत्ति विनाश भएको अनौपचारिक तथ्याङ्क छ । बिनाशकारी भूकम्पको सम्झनामा आज देशभर विविध कार्यक्रम हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्