उपाधि दाबेदार झापा बाहिरियो



गणेश घिमिरे, इलाम

डिफेन्डिङ च्याम्पियन झापा–११ इलाममा जारी माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

मंगलबार सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबसंग २–१ गोल अन्तरले पराजित हुँदै उपाधिको बलियो दाबेदार झापा बाहिरियो। जितसँगैं विभागीय टोली सेमिफाइनलमा पुगेको छ। यो नतिजापछि एपीएफले माईभ्याली गोल्डकपको दोस्रो संस्करणमा फाइनल र तेस्रो संस्करणमा सेमिफाइनलमा झापासंग ब्यहोरेको हारको बदला पनि लिएको छ।

पहिलो हाफ गोलरहित भएको अवस्थामा दोस्रो हाफ शुरू भएको ९औं मिनेटमा एपीएफको तर्फबाट नवीन लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर टोलीको अग्रतालाई झापाले ५ मिनेटसम्म पनि टिक्न दिएन। ५६औंं मिनेटमा झापाका तर्फबाट भूषण सुब्बाले डी एरियाबाट प्रहार गरेको बलले जालि चुमेपछि खेल बराबरीमा पुगेको थियो।

अति नै प्रतिष्पर्धात्मक खेलमा एपीएफको तर्फबाट ६५औं मिनेटमा युवराज खड्काले वान भर्सेज वानमा गोल गर्दै जिततर्फ डो¥याए। २–१ गोल अन्तरले पछि परेको झापाले खेलमा फर्कन पटक–पटक प्रयास गरेको थियो। दोस्रो हाफकै २२औं मिनेटमा झापाका निरोज बस्नेतले प्रहार गरेको फ्रि किक एपीएफका गोलरक्षक राजु नगरकोटीले मुश्किलले बचाए।

यस्तै रिवाउन्डमा फर्केको बललाई कर्ण लिम्बूले प्रहार गरेको बललाई पनि नगरकोटीले बचाउन भ्याए। आदित्य चौधरी, रञ्जन विष्टलगायतका राष्ट्रिय खेलाडी रहेको एपीएफमा थिए भने झापामा किरण चेम्जोङ, कर्ण लिम्बूलगायतका राष्ट्रिय खेलाडी मैदानमा उत्रिएका थिए। प्रतियोगितामा एपीएफका नवीन लामा म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार रूपियाँ पुरस्कार प्राप्त गरे। बुधबार भारत सिक्किमको युनाइटेड सिक्किम एफसी र विभागीय टिम नेपाल आर्मीबीच प्रतिष्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्